२७ वर्षपछि इंग्ल्यान्ड फाइनलमा

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डको टिम चौथो पटक सेमिफाइनलमा पुगेको छ । 

शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङका लागि मैदानमा आएको अष्ट्रेलियाको टिमले ४९ ओभरमा २२३ रन बनाएर सबै विकेट गुमाएको थियो । 

जवाफमा ब्याटिङमा उत्रिएको इंग्ल्यान्डका दुई ब्याट्सम्यान जोनी बेयस्ट्रो र जेसन रायले शतकीय साझोदारी बनाए । पहिलो विकेटका लागि यी दुईले १२४ रन जोडे । त्यसपछि क्रिजमा आएका कप्तान इयोन मोर्गन र जो रुटले ७९ रनको साझेदारी गरे । र, २७ वर्षपछि इंग्ल्यान्डलाई फाइनलमा पुर्याए ।

इंग्ल्यान्डको पहिलो विकेट १८ औं ओभरको दोस्रो बल गिरेको थियो । जोनी बेयस्ट्रोले ३४ रन जोडेपछि आउट भएका थिए । उनी एलबिडब्लू आउट भएपछि इंग्ल्यान्डले रिभ्यू लिएको थियो । तर, निर्णय इंग्ल्यान्डको पक्षमा भएन । 

यसका साथै मिसेल स्टार्कले १२ वर्ष पुरानो ग्लेन म्याग्राको एउटै विश्वकपमा सर्वाधिक विकेट लिने रेकर्ड तोडे । स्टार्कले यो विश्वकपमा २७ विकेट लिए । यसअघि म्याग्राले सन् २००७ मा २६ विकेट आफ्नो नाममा दर्ज गरेका थिए ।

इंग्ल्यान्डको पहिलो विकेट गुमेको केही समयमा दोस्रो विकेट पनि गुम्यो । जेसन राय ८५ रन बनाएर पेभेलियन फर्किए । तर, टिभीको रिप्लेमा अल्ट्रऐजमा उनी आउट भएको देखिएन । रिभ्यु नबचेकाले इंग्ल्यान्डले यो विकेट गुमाउन पर्यो ।



तर, यसपछि इंग्ल्यान्डको कुनै विकेट गुमेन । कप्तान इयान मोर्गन र जो रुटले क्रमशः ४५ र ४९ रन बनाए । 

पहिले मैदानमा गएको अष्ट्रेलियाले भने राम्रो सुरुवात गर्न सकेन । उसका तीन ब्याट्सम्यान पहिलो सात ओभरमा नै पेभेलियन फर्किएका थिए । 



खेलको दोस्रो ओभरको पहिलो बलमा नै कप्तान फिन्च खाता नखोली आउट भए । यो विश्वकपमा अष्ट्रेलियाका लागि सबैभन्दा धेरै रन जोडेका वार्नरले पनि यो खेलमा ९ रन मात्र बनाउन सके । स्टिभ स्मिथले अष्ट्रेलियाको पारी निकै हदसम्म सम्हालेका थिए । तर, उनको ८५ रनको योगदान पनि काम लागेन ।

इंग्ल्यान्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो । तर, उसले अहिलेसम्म विश्वकप ट्रफी उचाल्न सकेको छैन ।

अब यसपटकको ट्रफीका लागि इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्नेछन् । न्युजिल्यान्डले बिहिबार भारतलाई हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार २२:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया