अभिनेत्री सुरक्षा पन्तसँग झरी संवाद
सुरक्षा भन्छिन्– झरीले मलाई सिर्जनशील बनाउँछ

काठमाडौं– राजधानीमा केही दिन यता पानी परिरहेको छ । झरी परेको समय कसैका लागि विशेष लाग्छ, त कसैका लागि झिँजो । फाट्टफुट्ट बेमौसमी झरी भने धेरैलाई रमाइलै लाग्छ । यस्तै झरी मन पराउने नायिका सुरक्षा पन्तसँग फरकधारकर्मी कमल विष्टले ‘झरी संवाद’ गरेका छन् ।  सुरक्षासँगको संवादको सम्पादित अंशः 

झरी किन विशेष लाग्छ ?

यही नै कारणले विशेष लाग्छ त भन्न सक्दिनँ । तर, झरीसँग मेरो विशेष साइनो छ जस्तो लाग्छ । यसबेला आफू सिर्जनशील भएको आभाष गर्छु । झरीले मलाई केही रचनात्मक काम गर्न प्रेरणा दिन्छ । दिमाग पनि यस समय अन्य बेलाभन्दा सिर्जनशील र सक्रिय भएजस्तो लाग्छ  ।

प्रकृतिको हाउभाउसँग आफ्नो पनि हाउभाउ मिलिरहेको जस्तो लाग्छ । झरी पर्दा पानीका थोपा झरेजस्तै मान्छेको दिमागमा पनि सिर्जनशील काम गर्न सहयोग गर्ने थोपाहरु उत्पन्न भइरहेजस्तो लाग्छ । कमसे कम मलाई चाहिँ यस्तो अनुभव हुन्छ । यतिबेला म भावनात्मक रुपमा पनि उत्कर्षमा पुगेको हुन्छु । 

अहिले त पानीसँग मेरो भावनात्मक मात्रै होइन, अध्ययनको सम्बन्ध पनि जोडिएको छ । म इन्जिनियरिङको विद्यार्थी । पानीसँग विशेष लगाव भएकै कारण अहिले रिसर्च पनि पानीसम्बन्धी नै गर्दै छु । 

झरीले सिर्जनशील भएजस्तो लाग्छ भन्नुभयो, खास के कुरामा सिर्जनशील हुनुहुन्छ तपाईं ?



यतिबेला म अरुबेलाभन्दा भिन्नै तरिकाले सोच्छु, काम गर्छु । मेरो मस्तिष्क नै फरक तवरले सञ्चालित भइरहेको हुन्छ । त्यसैले दिमागमा केही नयाँ काम गर्ने योजना आउँछन्, आइडिया उत्पन्न हुन्छन् । आफूले गरेका कामबारे अलि सिरियस र क्रियटिभ तरिकाले मूल्यांकन गर्छु, समीक्षा गर्छु । कहाँ के पुगेको रहेनछ, के राम्रो भएको रहेछ, आगामी दिनमा केमा सुधार गर्नुपर्छ, सबै नोट गर्छु । यस्तो बेला नोट गरेका कुरा अन्य समयामा नोट गरेभन्दा वास्तविक र जायज छन् जस्तो लाग्छ आफैँलाई । 

दिमागले नौलो तरिकाले सोच्न प्रेरित गरिरहेको हुन्छ । अझ भनौँ, दिमागले नै फरक कुराको स्वाद मागिरहेको हुन्छ । त्यसैले पनि भावनात्मक, रचनात्मक र विचारात्मक रुपले फरक भएका गीत सुन्छु, सिनेमा हेर्छु । अलि गहन गीत र भिन्नै अनुभव दिने सिनेमा हेर्छु । जस्तै, नारायण गोपालको ‘केही मीठा बात गर’, गुलाम अलीको ‘गाजलु ती ठूला–ठूला आँखा’ । पिंक फ्लोएड, द डोर्स, बब मार्लीका गीत सुन्छु । मलाई सबैभन्दा मन पर्ने गायक नारोल जोनका गीत सुन्छु ।



युट्युबमा एउटा गीत बजाएर छोड्छु, त्यसपछि जुन–जुन गीत बज्छन्, ती सबै सुन्दै जान्छु । युट्युबले पनि मान्छेको मुड बुझ्छ जस्तो लाग्छ । सुरुमा जुन गीत बजाउँछु, त्यसपछि बज्ने सबै गीत त्यस्तै प्रवृत्तिका हुन्छन् । 

तपाईं त कथा, कविता पनि लेख्ने मान्छे, झरीमा यस्तो लेख्नुहुन्न ?

लेख्छु । मैले लेखेका अधिकांश रचना झरी पर्दाको समयमै लेखिएका हुन् । केही महिनाअघि एउटा कविता लेखेकी थिएँ, ‘तिमी र म’ । त्यो झरी परेकै बेला लेखेकी हुँ । 

मान्छेहरु झरीका बेला पेय पदार्थका चुस्कीसँग गफिँदै बस्न मन पराउँछन्, तपाईं पनि पिउनुहुन्छ ?

झरी पर्नेबित्तिकै मेरो दिमागमा क्लिक हुने कुरा हो, कफी । म कफीको पारखी हुँ । झरीमा म कफी एकदमै पिउँछु । मलाई कफी घरमै बनाएर खान मन पर्छ । 

किन घरमै नि, कफी सपमा बस्न मन पर्दैन ?

घरमा बनाउँदा सस्तो पनि हुन्छ, र आफूलाई मन लागेजस्तै बनाएर खान सकिन्छ । मलाई क्यापेचिनो, अमेरिकानोजस्ता कफीको स्वादभन्दा घरमै बनाएको स्वाद ज्यादा मन पर्छ । बाहेक, म शान्त वातावरण मन पराउने मान्छे । कफी सपको वातावरण मलाई एकदमै कोलाहलपूर्ण लाग्छ । अब त्यत्रो पैसा तिरेर शान्त वातावरण नै भएन, अथवा कुराकानी गर्नै सहज भएन भने के अर्थ ?

झरी पर्दा ‘डेट’ जानुहुन्न ?

जादिनँ (हाँस्दै) । डेट जान त काेही हुनुपर्छ, होइन र ? आई एम सिंगल ।

कहिल्यै जानुभएको छैन ?

पहिले प्रेममा हुँदा जान्थेँ कहिलेकाहीँ । तर, आजभोलि घरमै बस्छु । 

फेरि प्रेममा पर्न पाए झरीको मज्जै छुट्टै हुन्थ्यो भन्ने लाग्दैन ? 

प्रेम गर्न चाहेर गर्न सकिने कुरा होइन रहेछ । प्रेम त आफैँ हुने कुरा हो । म पनि चाहन्छु कि कसैसँग प्रेममा परुँ । तर, मैले चाहेर प्रेममा परिने होइन । हतार छैन । समय आएपछि कोही आउँछ होला अनि ‘डेट’ पनि जाउँला । 

झरीसँग जोडिएको कुनै विशेष घटना छ, जसले तपाईंलाई अथाह खुसी वा दुःख दिएको होस् ?

आजका दिनसम्म त्यस्तो त केही भएको छैन । कहिलेकाहीँ बाहिर जाने काम परेका बेला झरी पर्दा काममा जान सकस भने हुन्छ । 

झरीको कुनै मन नपर्ने पक्ष वा झरीकै कारण डर जाग्ने त्यस्तो कुनै कुरा छ ?

छ । अत्याउँछ पनि । आजभोलिको झरी त बेमौसमी भयो । यो झरीले स्वास्थ्यमा सामान्य गडबडी गर्नेबाहेक धेरै गर्दैन । तर, वर्षायाममा भीषण झरी पर्दा भने मन त्यसै अतालिन्छ । मनमा अनेकौँ डर उत्पन्न हुन्छन् ।

वर्षायामको झरीले मलाई तराईतिर पुर्याउँछ । यो झरीले कतिको ज्यान लियो होला, कति घरवारविहीन भए होलान्, कतिको बिचल्ली भयो होला । प्रभावित क्षेत्रमा राहत पुग्यो कि पुगेन, पीडितहरुको उद्धार भयो कि भएन । मनमा यस्ता अनेकन प्रश्नहरु जाग्न थाल्छन् । 

  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १३:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया