ए झरी नझरी देउ यसरी...

काठमाडौं–

ए झरी नझरी देउ यसरी
एकान्त यो रातमा मलाई पागल गरी
झरी देउ तिमी सुस्तरी सुस्तरी ....

जब सहरका गल्लीहरुमा झरीका कारण चिया पसलहरु भरिन्छन्, कफी सपमा प्रेमीप्रेमिका पुग्छन् र बाहिर झरी पर्न सुरु हुन्छ, नेपाली युवा पुस्ताको जिब्रोमा यो गीत झुन्डिहाल्छ ।

गायक नवीन के भट्टराईले १८ वर्षअघि गाएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

बिहिबार रातिदेखि परेको अविरल वर्षापछि यो गीत कफी सपहरुमा फेरि बजेको छ । 

रोचक संयोग त के भने यो गीत रेकर्ड गर्दा पनि बाहिर पानी परिरहेको नवीन के भट्टराई सम्झन्छन् । उनी भन्छन्, ‘मैले यो गीतमा भोकल राति हालेको थिएँ, त्यति बेला पनि पानी परिरहेको थियो ।’



नवीनले गीत रेकर्ड गराउँदा रातभर पानी परिरहेको थियो । त्यसैले अहिले पनि उनी झरी पर्दा त्यो रात सम्झिहाल्छन् । 

नवीनले गाएका यी शब्द चाहिँ डा. अरुण सायमीले लेखेका हुन् । यसमा संगीत शम्भुजित बाँस्कोटाले भरेका हुन् । 



डा. सायमीको यो गीत नवीनसम्म कसरी आइपुग्यो त ? 

‘मेरो हजुरबा र हजुरआमाको मुटुको समस्या थियो,’ नवीनले सम्झिए, ‘पछि मेरो मामुमा पनि मुटुको समस्या देखियो । अनि मामुलाई जचाउँद जाँदा डा. सायमीसँग भेट भयो ।’

आमालाई लिएर अस्पताल पुग्दा एक दिन डा. सायमीले नै नवीनलाई प्रस्ताव गरेछन्– मैले एउटा गीत लेखेको छु, नवीन, तिमी गाउँछौँ ?

सायमीको यो प्रस्तावलाई नवीनले सहजै स्वीकार गरे । ‘मैले हुन्छ भनेँ,’ नविन त्यति बेलाको कुरा सम्झन्छन्, ‘पछि यो गीत निकै चर्चित भयो, प्रकृति र प्रेमलाई जोडिएका गीतले यसै पनि स्रोताको मन जित्छन् ।’

यो गीत गाउँदासम्म नवीनले प्रसिद्धीको शिखर चुमिसकेका थिए । ‘यो त मेरो सातौँ एल्बमको गीत पो हो,’ नवीनले भने, ‘तर, अहिले पनि मलाई यो उत्तिकै प्रिय लाग्छ ।’

‘झरी परिरहेको समयमा सुन्दा त झन् अर्कै किसिमको रमाइलो हुन्छ,’ नवीनले भने, ‘यो गीत सुन्दा एउटा फरक भाइव उत्पन्न हुन्छ ।’

त्यसो त साथीभाइसँग उनी कतै बसिरहेका छन् र झरी परिरहेको छ भने पनि यो गीतको फर्माइस आइहाल्छ । ‘झरी परेपछि यो गीत सम्झिइहालिन्छ,’ नवीनले भने, ‘यो गीतले रोमान्टिक बनाउँछ, जसरी झरीमा दुई प्रेमीप्रेमिका रोमान्टिक हुन्छन् ।’

  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १५:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया