कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।
विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध मुद्दा दर्ता भएको बताए ।
‘मुद्दा दर्तापछि म्याद थप गरेर हामी आवश्यक प्रमाण संकलनमा जुटेका छौँ,’ प्रहरी निरीक्षक भट्टले भने, ‘प्रहरी सूक्ष्म रुपमा घटनाको अनुसन्धान गर्दै छ ।’
प्रहरीले पाँचैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उनले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।