मोगादिसु– दक्षिणी सोमालियाको एक होटलमा आतंकवादी संगठन अल सबाबले गरेको हमलामा १० विदेशीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । आत्मघाती विस्फोट तथा बन्दुक हमलामा परी ५६ भन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा केन्याका ३, क्यानडाका १, बेलायतका १, अमेरिकाका २ र तान्जानियाका ३ नागरिक छन् । २ चिनियाँ नागरिक घाइते छन् ।
सोमालियाका सुरक्षा अधिकारी मोहम्मद अब्दिबेलीले हमलामा ४ बन्दुकधारी सामेल भएको अनुमान गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।
ज्यान गुमाउनेमा साेमाली मूलकी क्यानडेली पत्रकार तथा प्रतिष्ठित सामाजिक कार्यकर्ता हाेलन नलया, उनका पति र एक स्थानीय पत्रकार पनि रहेका प्रत्यक्षदर्शीले बताएका छन् । सोमाली पत्रकार संघ एसजेएसले पनि पत्रकारको मृत्यु भएको पुष्टि गरेको छ ।
रिपोर्टअनुसार, आगामी क्षेत्रीय निर्वाचनका सन्दर्भमा होटलमा थुप्रै नेता तथा कारोबारीको जमघट थियो ।
अधिकारीहरुले बताएअनुसार आत्मघाती हमलाकारीले किसमायो सहरको लोकप्रिय होटल मेदिनामा शुक्रबार विस्फोटक पदार्थले भरिएको गाडी घुसाएका थिए । त्यसलगत्तै, केही बन्दुकधारी अन्धाधुन्ध गोली चलाउँदै होटलमा छिरेका थिए ।
अलकायदानिकट आतंकवादी समूह अल सबाबले हमलाको जिम्मेवारी लिएको छ । यो समूहले यसअघि पनि थुप्रै आतंकवादी हमला गराइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।