अब उपत्यकामा विनाटिकट सार्वजनिक सवारीसाधनमा यात्रा गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र तपाईं सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको हो ।  

ऐनको दफा ४ मा सार्वजनिक यातायात साधनमा चढ्नुभन्दा पहिले वा चढेलगत्तै यात्रीसँग तोकिएको भाडा लिइ अनिवार्य रूपमा टिकट दिनुपर्ने सम्बन्धित परिचालकको दायित्व रहेको उल्लेख छ । दफा ५ मा टिकट अनिवार्य लिनुपर्ने व्यवस्थामा महानगर क्षेत्रभित्र रुट कायम भई सञ्चालन हुने सार्वजनिक यातायात साधन प्रयोग गर्ने यात्रुले आफू चढ्ने बस बिसौनीमा वा सवारी साधन चढे लगत्तै निर्धारित भाडा तिरेर टिकट लिनुपर्ने व्यवस्था गरेको छ । तर ऐन जारी भएको तीन महिना बित्दा पनि न सार्वजनिक यातायातका परिचालकले यात्रुलाई टिकट दिन्छन् न यात्रुले नै टिकट माग्छन् । 

दिनहुँ लाखौँ रुपैयाँ यात्रुबाट उठाए पनि यातायातका परिचालकले टिकट दिने गरेका छैनन् । महानगरभित्र साझा यातायातबाहेक अहिले अन्य यातायातले यात्रुलाई टिकट दिने गरेका छैनन् । ऐनमा यात्रुलाई ई–टिकट र टिकट दिनुपर्ने व्यवस्था रहेको छ । 

सार्वजनिक यातायातमा यात्रा गरेपछि अनिवार्य टिकट दिनुपर्ने व्यवस्था गरे पनि  त्यसको कार्यान्वयनको चरणमा महानगरपालिका रहेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरभित्र चल्ने यातायातलाई व्यवस्थित गर्न टिकट अनिवार्य गर्न थालिएको बताए । 

‘सार्वजनिक यात्रा गर्दा यात्रु पनि नठगिउन् भन्नका लागि टिकटको व्यवस्था अनिवार्य गर्न थालेका हौँ,’ उनले भने, ‘यात्रुलाई पनि कहाँसम्म कति भाडा पर्छ भन्ने कुरा टिकटमा नै उल्लेख गर्ने हुनाले ठगिँदैनन् ।’ अहिले २० रुपैयाँ लिने भाडामा २५ रुपैयाँ पनि लिने गरेको पाइएको उनले बताए । 

अहिले काठमाडौंमा दैनिक लाखौँ यात्रुले विभिन्न सडकमा यात्रा गरे पनि त्यसको यकिन तथ्यांक रहेको छैन । वास्तविक रूपमा कति यात्रुले यात्रा गर्दा रहेछन् भन्ने कुराको पनि उक्त व्यवस्थाबाट थाहा हुने बताइएको छ । प्रवक्ता डंगोलले साउन महिनादेखि यात्रा गर्दा टिकट दिने÷लिने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने बताए ।



‘हामीले भर्खरै ऐन ल्याएकाले यातायात व्यवसायीसँग छलफल गर्न पाएका छैनौँ,’ उनले भने, ‘हामी अहिले आर्थिक वर्ष २०७६–०७७ को बजेट पारित गरेपछि टिकटका बारेमा व्यवसायीसँग छलफल गर्नेछौँ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट प्रणालीका पक्षमा आफूहरु रहेको भन्दै तर छलफल नै नगरिकन ऐन ल्याइएको बताए । उनले आफूहरुसँग छलफल गरेर ल्याएको भए कार्यान्वयनमा समस्या नआउनेसमेत बताए । 



टिकट लागू नगर्दा यात्रुभन्दा बढी मार गाडी मालिक पर्ने गर्छन् । ‘टिकट प्रणाली लागू गर्न स्वयं हामी नै चाहन्छौँ । टिकट प्रणाली लागू नगर्दा कति यात्रु चढे भन्ने कुराको थाहा हुँदैन ।’ महासचिव सिटौलाले भने, ‘हामीले दिँदा टिकट काटेका आधारमा भाडाबापतको पैसा पाउने थियौँ । गाडी चालक र सहचालकले विनाटिकटका आधारमा भाडा बुझिरहेका छन् ।’

  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १५:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया