सुटुक्क नेपाल आएका भेनेजुएला राष्ट्रपतिका छोराका कारण बिग्रेला नेपाल–अमेरिका सम्बन्ध ?
तस्वीर: विष्णु बाेगटी । (इन्टरनेटबाट लिइएकाे)

काठमाडौं– भेनेजुएलामा अहिले राजनीतिक वातावरण त्यति सहज छैन । 

१० जनवरी २०१९ देखि भेनेजुएलाका राष्ट्रपति को हुन् भन्ने विषयमा नै व्यापक मतभेद रहेको छ । निर्वाचित राष्ट्रपति निकोलस मदुरोलाई आफूले अपदस्थ गरेको र आफू भेनेजुएलाको राष्ट्रपति भएको जुआन गुइदोले स्वघोषणा गरे । 

उनले गरेको यो घोषणाका कारण विश्वमा भेनेजुएलाको राजनीतिले तरंग उत्पन्न गराइदियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको यो घोषणालाई मान्यता दिए । र, भने– अब निकोलस मदुरो भेनेजुएलाका राष्ट्रपति होइनन् । 

ट्रम्पको यो अभिव्यक्ति सार्वजनिक भएपछि मदुरोले अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस कब्जा गरिदिने सम्मको धम्की दिए । मदुरोको साथमा भेनेजुएलाको सेना भएकाले उनी अहिले पनि सत्तामा नै छन् भन्ने विश्लेषण पनि गरिएको छ । 

तिनै मदुरोका छोरा निकोलस अर्नेस्टो मदुरो गुयरासहितको एउटा टोली नेपालमा गत शनिबारदेखि छ । 

अर्नेस्टो मदुरो नेपालमा सुटुक्क आएका हुन् । तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतादेखि तल्लो तहका कार्यकर्तासम्म उनीसँग भेटघाटमा छन् । 



‘यसलाई पक्कै पनि अमेरिकाले क्लोज्ली हेरिरहेको छ,’ परराष्ट्र मन्त्रालयमा कार्यरत एक उच्च अधिकारी बताउँछन्, ‘अमेरिकाले जसमाथि प्रतिबन्ध जस्तै लगाएको छ, तिनै मानिस नेपालका उच्च नेताहरुलाई भेटिरहेका छन् । यसले अमेरिका–नेपाल सम्बन्धमा चिसोपना पक्कै उत्पन्न गराउने छ ।’

अर्नेस्टो मदुरो सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन युवा संगठनको निमन्त्रणामा १५ सदस्यीय टोलीसहित नेपाल आएका हुन् । उनीसँग टोलीमा भेनेजुएलाका युवा संगठन जेपिएसयुभीका महासचिव आरफोडेक्सा पनि सँगै रहेका छन् । उनीसँगै अरु तीन मन्त्रीहरु पनि नेपाल आएका छन् । 



‘युवा संगठनको नेतृत्वमा आएको भए पनि नेकपाका उच्चस्तरका नेताहरु नै उनीसँग भेटघाटमा व्यस्त छन्,’ परराष्ट्रका ती अधिकारीले भने, ‘यसले यो सरकारलाई थप समस्यामा पार्ने निश्चित छ, यसै पनि पछिल्लो समय अमेरिका–नेपाल सम्बन्ध पहिलेजस्तो राम्रो छैन ।’

अर्नेस्टो मदुरोको यो भ्रमणले मात्र होइन, यसअघि पनि सरकार र अमेरिकाबीच विभिन्न विषयमा मतभेद देखिन थालिसकेको छ । नेपालले पछिल्लो समय आइसल्यान्डले फिलिपिन्सविरुद्ध राष्ट्रसंघीय मानवअधिकार परिषद्मा दर्ता गरेको मानवअघिकार उल्लघंनसम्बन्धी प्रस्तावमा तस्थ भूमिका खेल्ने निर्णय गरेको थियो । यो अमेरिकी चाहनाविपरित हो । 

नेपालले त अमेरिकाकै चाहनामा मात्र आइसल्यान्डले यो मुद्दा उठाएको निष्कर्ष निकालेको छ । 

यही समय अमेरिकासँग अत्यन्त नराम्रो सम्बन्ध बनाइसकेका भनिएका मदुरो पुत्रको भ्रमणलाई अमेरिकाले विशेष चासोका साथ हेर्ने निश्चित छ ।

तर, नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्य मदुरो पुत्रको यो भ्रमणमा सरकारमा सामेल भएका नेताहरुले नभेट्ने भएकाले पनि खासै ठूलो चासो नहुनु पर्ने धारणा राख्छन् । ‘उनी सामान्य तरिकाले यसअघि भइरहेका भेनेजुएला–नेपालका युवाहरुको आउजाउको सिलसिलामा नेपाल आएका हुन्,’ उनले भने, ‘नेपालको नीति तथा परराष्ट्र सम्बन्धबारे यही कुराले त्यस्तो कुनै अप्ठ्यारो पर्दैन ।’

उनले यसो भने पनि परराष्ट्रका ती अधिकारीले भने, ‘अमेरिकाले कुनै पनि देशको सुक्ष्म अध्ययन गर्ने र यस्तै घटनाहरुका कारण पनि उसले अन्य विषयमा धारणा बनाउने भएकाले यो संवेदनशील विषय हो ।’

  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार ९:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया