स्टकको सेयर बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी प्रति सेयर १०० अंकित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य सिलबन्दी आवेदन दिनुपर्नेछ । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडिसी क्यापिटल लिमिटेडको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायीको ०.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकले प्रिमियमसहितको मूल्य तोकेको छ । यस आधारमा कुल सेयरको मूल्य एक अर्ब ७८ करोड ५३ लाख ४८ हजार ६ सय ४८ बराबर हुनेछ । बैंकले बिक्री गर्न लागेको सेयरको न्यूतनम मूल्य प्रतिसेयर एक हजार ३२ तोकिएको छ । तोकिएको वा सोभन्दा बढी मूल्य अंकित गरेरसमेत आवेदन दिन सकिने बैंकले जनाएको छ । सूचनामा भनिएको छ, ‘प्रतिकित्ता केकति दरमा खरिद गर्न कबुल गर्ने हो, त्यसको विवरणसहित गोप्य सिलबन्दी आवेदन पेस गर्नुपर्नेछ।’

सेयर खरिदका लागि आवेदन गर्दा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको कुल सेयर पुँजीको कम्तीमा पाँच प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुने गरी प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

आवेदकको बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले आफ्नो संस्थाको दर्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, सेयर खरिद गर्नेसम्बन्धी सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र आवेदक संस्थाका सञ्चालक तथा प्रमुखको व्यावसायिक विवरणसमेत पेस गर्नुपर्नेछ । 

प्राप्त आवेदन आगामी भदौ ४ गते बिहान केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन विभागमा खोलिनेछ । बोलपत्र पेस गर्नका लागि नेपाल स्टक एक्स्चेन्जबाट घोषणा हुने लाभांश सेयर तथा लाभांश प्रस्तावित खरिदकर्ताले प्राप्त गर्नेछन् । 



बैंकका अनुसार सेयर खरिद–बिक्रीको अन्य प्रक्रिया प्रचलित कानुनअनुसार हुने सूचनामा उल्लेख छ । खरिदकर्ताले आफूले खरिद गर्न चाहेको सेयरको प्रस्तावित कुल मूल्यको पाँचदेखि १० प्रतिशतसम्मको रकम केन्द्रीय बैंकको खातामा जम्मा गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले लामो समयदेखि नै स्टकको सेयर बिक्री गर्ने घोषणा गरेको थियो । उक्त घोषणालगत्तै सम्पत्ति र सेयर संरचनाको मूल्यांकनसमेत गरिएको थियो । सोही आधारमा प्रिमियमसहितको सेयर मूल्य तोकिएको बैंकले जनाएको छ । वित्तीय क्षेत्र विकास रणनीति र नेपाल राष्ट्र बैंक ऐनअनुसार नै सेयर बिक्री गर्न लागिएको हो । 



  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १४:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया