काठमाडौं– कर्मचारी सञ्चय कोषजस्ता सामाजिक सुरक्षा योजनामा आबद्ध भइसकेका कर्मचारीका लागि सामाजिक सुरक्षा कोष ऐच्छिक हुने भएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा पहिलो संशोधन गर्दै श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । १ साउनदेखि आउने निजीक्षेत्रका नयाँ कर्मचारीका हकमा भने सामाजिक सुरक्षा कोष अनिवार्य हुनेछ ।
सरकारले निजी क्षेत्रका सम्पूर्ण कर्मचारीका लागि भनेर गत मंसिरमा सामाजिक सुरक्षा योजना ल्याएको थियो । जसअन्तर्गत, १ साउनबाट सबै कम्पनीका कर्मचारी सामाजिक सुरक्षा कोषमा अनिवार्य जोडिनुपर्ने व्यवस्था थियो । यसअघि नै सञ्चय कोष वा अन्य सामाजिक सुरक्षा योजनामा आबद्ध भएकाहरुको हकमा के गर्ने भन्नेमा भने अन्येल थियो ।
निजी क्षेत्रका करिब डेढ लाख सञ्चयकर्ताको भन्डै ३५ अर्ब रुपैयाँ सञ्चय कोषमा छ । सञ्चय कोषले आफूसँग भएको अधिकांश रकम विभिन्न क्षेत्रमा लगानी गरेकाले तत्काल सामाजिक सुरक्षा कोषमा सार्न नसक्ने अडान लिएको थियो ।
सामाजिक सुरक्षा कोषमा सोमबारसम्म ३७ सय प्रतिष्ठानका झन्डै २० हजार श्रमिक आबद्ध भएका छन् । कोषमा आबद्ध हुनेको पेन्सन, औषधिउपचार, बिमा लगायतका शीर्षकमा न्यूनतम तलबको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।