दर्ता नभएका निजी संस्थाले फोहर संकलन गर्न नपाउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरभित्र फोहर संकलन गर्ने निजी संस्थालाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुसी फोहर संकलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । 

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको ३५० रुपैयाँ बुझाउने गरेका छन् । 

उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले भने, ‘हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न सुरु गर्नेछौँ ।’

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर संकलन गर्दै आएका छन् । कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत सुरु गरेको उनले बताए । उनले भने, ‘फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ ।’

काठमाडौं महानगरपालिकाले दैनिक ३ सय ५० मेट्रिकटन फोहर आफैँ संकलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । 

काठमाडौं उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १५:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया