नेकपा : एकता नटुंगिँदै फुटको संकेत

काठमाडौं– नेपल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता अन्तिम चरणमा पुगेको छ । वर्ष दिनअघि माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेको थियो । सरकारको नेतृत्व गरिरहेको नेकपामा एकताको विषयलाई लिएर नेताहरू असन्तुष्ट बन्दै आएका छन् । वरिष्ठ नेताहरूले नै गुटलाई प्रश्रय दिएर त्यसको नेतृत्व गरेका छन् ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई पद नदिएको भन्दै समानान्तर कमिटी बनाउनेसम्मको चेतावनी पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीलाई दिएका थिए । 

अहिले पनि धेरै नेताले असन्तुष्टि पोखिरहेका छन् । पार्टीको आकार बढे पनि कार्यशैलीमा भने कुनै परिवर्तन नआएको भन्दै घनश्याम भुसाल, भीम रावल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताले मिडियामामार्फत् असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरू पार्टीभित्रका प्रतिपक्षी रूपमा देखिँदै आएका छन् । 

एकताले पूर्णता नपाउँदै फाटो आउने हो कि भन्ने संशय पनि नेकपाभित्र छ । सहमतिअनुसार केपी शर्मा ओलीले सरकारको नेतृत्व प्रचण्डलाई हस्तान्तरण गरेनन् भने एकतामा फाटो आउन सक्ने आकलन गर्न थालिएको छ । 

नेकपा पार्टी सिंगोजस्तो देखिए पनि गुटगत स्वार्थका कारण विभाजित छ । पूर्वमाओवादी केन्द्रबाट आएका नेता तथा कार्यकर्ता प्रचण्डको पक्षमा र पूर्वएमालेकै पनि संस्थापन र माधव नेपालको पक्षमा नेता–कार्यकर्ताले लागेका छन् ।
  
पार्टीको निर्णय गर्ने अधिकार ओली र प्रचण्डमा छ । यसले तलसम्मका कार्यकर्तामा असर पारेको छ । नेता तथा कार्यकर्ताको लगाव संगठनको हितमा भन्दा शीर्ष नेता रिझाउनेतर्फ बढी हुँदा पार्टीको हालत खराब बनेको स्वयं नेताहरू नै बताउन थालेका छन् । 
 
नेकपाकै एक नेता भन्छन्, ‘हाम्रो लगाव दुईजना नेतामा केन्द्रित भयो । उहाँहरू बोल्नुभएन भने पूरै पार्टीको तलसम्मै बोलचाल बन्द । दुईजना बोल्नुभयो भने फेरि पूरै पार्टीभित्र बोलचाल सुरु । पार्टीको हालत यस्तो छ । बाँकी आठ लाख सदस्यको त्यहाँ कुनै मूल्यांकन छैन । तिनको कामै छैन ।’ 

पार्टी एकताको घोषणा मात्रै भएको र विचार, सिद्धान्त, विधि र प्रक्रियाले भने पार्टी नचलेको असन्तुष्टहरूको आरोप छ । उनीहरू सरकारको कार्यशैलीका् विरोध गर्दै राष्ट्रियताका पक्षमा बोल्दै आएका छन् । 



असन्तुष्टमध्येकै एक नेता भन्छन्, ‘पार्टी त चलेकै छैन । यसका के कमजोरी भन्नु ? पूर्ण रूपमा पार्टी गठन भएकै छैन, घोषणा मात्रै भएको छ । कुनै संस्था गठन गर्ने निर्णय हामीले लियौँ । तर, त्यसको स्वरूप बनाउन बाँकी छ भने त्यो त घोषणा मात्रै हो ।’

उनले पार्टी पुनर्गठन नै नभएको बताए । वर्ष दिनदेखि पार्टी एकतामा लाग्दा पनि सन्तुष्ट हुन नसकिएको भन्दै उनले भने, ‘नेकपा गठन गर्ने घोषणा भएको हो, तर पार्टी पुनर्गठन भएकै छैन । यसमा हामी चौध महिनादेखि लागेका छौँ । त्यो पूरा भइसकेको छैन ।’
 
नेकपाभित्र असन्तुष्टि बढ्दै गएपछि गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘वादल’ले आफूनिकट नेताहरूसँग ७ जेठमा छुट्टै भेलाको आयोजना गरेका थिए । सोबारे स्पष्टीकरण दिँदै गृह स्रोतले राजनीतिक एजेन्डामा कहिलेकाहीँ नेताबीच अन्तर हुनु, फुट्नु, जुट्नु सामान्य प्रक्रिया भएको बताएको थियो ।
  
मोहन वैद्य नेतृत्वको नेकपाबाट माओवादी केन्द्र हुँदै गृहमन्त्रीसम्म बनेका वादलसँग नेताहरू देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सावित्रीकुमारी काफ्ले, सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, सुरेश आलेमगर, अमृता थापामगर, इन्द्र आङबो, नरेश भण्डारी, महेश्वर दाहाल, लेखनाथ न्यौपाने, मायाप्रसाद शर्मा, यशोदा सुवेदीलगायत छन् । 



अवसरका लागि एक–अर्को पार्टीसँग एकता गर्ने र आफूले चाहेको पद नपाएपछि रुष्ट बन्दै पार्टी परित्याग गर्ने प्रवृत्ति राजनीतिको रोग नै हो । वैकल्पिक शक्तिको नारा दिएर अघि बढ्दै गरेको नयाँ शक्ति पार्टीले संघीय समाजवादीसँग पार्टी एकता गरेपछि नयाँ शक्तिका असन्तुष्ट नेताहरूले छुट्टै भेला गरेर नेकपा सामूहिक प्रवेश गरेको उदाहरण ताजै छ । 

नेकपामा पनि नयाँ शक्तिकै जस्तो शैली उत्पन्न हुन थालेको नेताहरू नै बताउँछन् । पदका लागि बार्गेनिङ गर्ने, नपाए पार्टीको आलोचना गर्ने प्रवृत्ति बढेका कारण नेकपाको एकता खासै बलियो हुन नसकेको देखिन्छ । 

  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १७:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया