म्यान्मारका सेनाप्रमुखसहित ४ शीर्ष अधिकारीमाथि अमेरिकी प्रतिबन्ध, रोहिंग्यामाथि गैरमानवीय व्यवहार गरेको अभियोग

वासिंगटन– अमेरिकाले रोहिंग्याहरुको गैरन्यायिक हत्या गरेको कारण देखाउँदै म्यान्मारका सेना प्रमुख जनरल मिन ओङ हेङसहित चार शीर्ष सैन्य अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

संयुक्त राष्ट्र संघ, विशेष आयोगको पछिल्लो प्रतिवेदनले म्यान्माली सैनिक र आतंकवादी संगठनहरुबाट रोहिंग्या समुदायका मानिसहरुमाथि भएका कारबाहीलाई ‘मानवताविरोधी’ भनेको थियो । समाचार एजेन्सी एफेका अनुसार, यसै रिपोर्टको प्रतिक्रियामा अमेरिकाले पहिलोपटक यति कठोर प्रतिबन्ध लगाएको हो । 

मंगलबार एक बयानमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘यसै घोषणाका साथ, अमेरिका म्यान्माली सेनाका सबैभन्दा वरिष्ठ अधिकारीहरुका सन्दर्भमा सार्वजनिक रुपमा कारबाही चलाउने पहिलो देश बनेको छ ।’

विदेशमन्त्री पोम्पियोले यी अधिकारीहरुलाई मानवअधिकारको व्यापक उल्लंघनका साथै उत्तरी रखाइन प्रान्तमा रोहिंग्याहरुको हत्यामा संलग्न भएको विश्वस्त सूचनाका आधारमा नामित गरिएको बताए । 

प्रतिबन्ध लागेका व्यक्ति र तिनका परिवारका कुनै पनि सदस्यले अमेरिकामा प्रवेश पाउने छैनन् । यद्यपि, प्रतिबन्धले उनीहरुमाथि खासै प्रभाव पार्ने भने देखिन्न । 

पछिल्ला वर्ष सेनाले गरेको अत्याचारका कारण रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदायका लाखौँ मानिस म्यान्मारबाट भागेर बंगलादेश, भारत, नेपाललगायत देशमा शरण लिन पुगेका थिए । रोहिंग्यामाथिको सरकारी व्यवहारलाई लिएर पछिल्लो समय नोबेल शान्ति पुरस्कार विजेता नेत्री आङ सान सुचीसमेत विवादमा छिन् । 





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार २०:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया