फूल टिपेको भन्दै वडाध्यक्षले कुटे ९ वर्षीय बालक

घोराही– दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले ९ वर्षीय छिमेकी बालक भरत घर्तीलाई कुटपिट गरेका छन् ।

हिजो साँझ वडाध्यक्ष सार्कीको घरअगाडि केही बालबालिकासँग खेलिरहेका घर्तीले फूल टिपेको आरोपमा सार्कीले कुटपिट गरेका हुन् । कुटपिटबाट बालकको बायाँ कान र पेटमा चोट लागेको छ । उनको बायाँ गालामा निलडामसमेत देखिएको छ। बालक घर्तीलाई घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरिएको छ । 

बालकको कानमा केही फोहोर जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारे एक सातापछि फोहोर निकालेर मात्रै भन्न सकिने केयर सेन्टर डाक्टर विक्रम बुढाथोकीले बताएका छन् ।

जालीमा समस्या छ, छैन यकिन नभए पनि बालकको कानको अवस्था गम्भीर भने देखिएको छैन । बालककी आमा रैमता घर्ती भने रातभर कान दुखेर छोरो छटपटिएपछि बिहान अस्पताल लिएर आएको बताउँछिन् । 

वडाध्यक्ष सार्कीले उपचार खर्च दिनुको साटो उल्टै फूल टिपेको हर्जना पाँच हजार मागेको घर्तीले बताइन् । बालक भने आफूले फूल नै नटिपेको बताउँछन् । 

वडाध्यक्ष सार्कीले ‘बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको’ स्विकारेका छन् । उपचारका लागि खर्च दिने उनले बताएका छन् । – रासस





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार १५:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया