५७औँ इन्जिनियर दिवसको अवसरमा २० हजार इन्जिनियरको दुर्घटना बिमा गरिँदै

काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनले भोलिदेखि दुई दिन मनाउने ५७औँ इन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ । 

५७औँ इन्जिनियर दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ११ बजे गर्ने जानकारी दियो ।

काठमाडौंमा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र काठमाडौंबाहिर प्रदेश राजधानीस्थित एसोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरी उक्त दिवस मनाउन लागिएको एसोसिएसनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले जानकारी दिए । 

दिवसका अवसरमा इन्जिनियरिङबाट समाज र राष्ट्रलाई उत्कृष्ट योगदान पुर्याएका इन्जिनियर, आर्किटेक्ट तथा संस्थालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज विष्ट स्मृति अवार्ड, आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड, आउटस्ट्यान्डिङ वुमेन इन्जिनियर अवार्ड, र इन्जिनियर्स एप्रिसिएसन अवार्ड गरी ६ वटा अवार्डले सम्मान गरिने अध्यक्ष बज्राचार्यले बताए । अवार्डका लागि स्वतन्त्र समितिले नाम छनोट गरिरहेको उनले बताए । 

विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने एसोसिएसनले माग गरेको छ । एसोसिएसनले यस वर्षको इन्जिनियर दिवसको मूल नारा ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ तय गरेको छ । 

अध्यक्ष बज्राचार्यले मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन नगरिएसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास सम्भव नभएको जिकिर गरे । 



कार्यक्रममा एसोसिएसनका महासचिव ई. छविराज पोख्रेलले इन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकाले उनीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । इन्जिनियरहरुको मनोबल बढाउन भोलिको कार्यक्रममै २० हजार इन्जिनियरको सामूहिक दुर्घटना बिमा गरिने उनले जानकारी दिए । 

इन्जिनियर्स दिवसको उपलक्ष्यमा एसोसिएसनले गत शनिबार एसोसिएसनको आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरिसकेको छ भने काठमाडौंस्थित युएन पार्क परिसरमा वृक्षारोपण सम्पन्न गरेको छ । 
 



  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार १६:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया