Sat, 24 Aug, 2019


किन चल्दै छ आफन्तबाटै हत्याको शृंखला ?
फरकधार / साउन २, २०७६

काठमाडौं– केही दिनअघि नायिका शिल्पा पोख्रेलले घरेलु हिंसा गरेको भन्दै श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दिइन् । शिल्पाको भनाइमा चलचित्र क्षेत्रमा ठूलै छवि बनाएका चल्तीका निर्माता छविले पत्नीलाई कुटेर कानको जाली नै फुटाइदिए ।



घरेलु हिंसाको यो एक प्रतिनिधि घटना मात्र हो । प्रहरीका अनुसार दिनहुँ यस्ता दर्जनौँ घटना घट्छन् । तर, सामाजिक, पारिवारिक उल्झनका कारण सबै घटना प्रहरीसम्म आइपुग्दैनन् । 

नीतिगत रुपमा मुलुकले जति फड्को मारे पनि व्यवहारमा घरेलु हिंसा रोकिनु त के, न्यूनीकरणसम्म भएको छैन । बरु, हिंसा झनै डरलाग्दो हुँदै गएको छ । हिंसाले हत्याको रूप लिन थालेको छ । आफन्तबीच हत्याको शृंखला बढेको छ । 

यसैको पछिल्लो उदाहरण हो, बुधबारको पोखराको घटना । जहाँ, रक्षक बन्नुपर्ने व्यक्ति नै भक्षक भइदिए । २७ वर्षीया लक्ष्मी नेपालीको उनकै पतिले हत्या गरे । हत्यामा संलग्न भएको अभियोगमा लक्ष्मीका पति रमेश नेपालीसहित चारजना पक्राउ परे । पक्राउपछि प्रहरीले हत्याको रहस्य पत्ता लगायो । 

सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । एक वर्षदेखि साली अनु परियारसँग बढ्दै गएको मायाले रमेशलाई यस्तो जघन्य अपराधमा डुबायो । 

साली अनुले आफूसँग सम्बन्ध राखिराख्ने भए दिदीलाई पन्छाउनू भनेपछि रमेशले हत्याको योजना बनाएको प्रहरी रिपोर्टमा उल्लेख छ । रिपोर्ट भन्छ– साथीहरूको सहयोगमा रमेशले भारतीय नागरिक लगाएर पत्नीको हत्या गरे । 

दुई साताअघि भक्तपुरमा ६० वर्षीया आमा सावित्री भट्टराईको छोरी ईश्वरीले हत्या गराइन् । ईश्वरीले प्रेमी मोहम्मद नासिदको सहयोगमा आमाको हत्या गराएको प्रहरी अनुसन्धानमा पुष्टि भयो ।

गत मंसिर १ गते यस्तै घटना घटेको थियो, रुकुम पश्चिममा । त्रिवेणी गाउँपालिका–१ का शक्तिबहादुर बुढाले पत्नीको हत्या गरे । ४९ वर्षीय बुढाले भरुवा बन्दुक प्रहार गरी ४२ वर्षीया पत्नी इन्द्रकलाको हत्या गरेका थिए । 

जाजरकोट नगरपालिका–६ का २५ वर्षीय रत्नबहादुर थापाले पनि पत्नीको हत्या गरे । साउन १० गते २८ वर्षीया पत्नी विमला थापाको घाँटीमा पासो लगाई हत्या गरेको अभियोगमा उनी हिरासतमा मुद्दा खेपिरहेका छन् । पछिल्लो समय आफन्तबाटै हत्याका शृंखलाबद्ध घटना घटेका छन् । 

आफन्तअन्तर्गत सासू, ससुरा र पतिले गरेका बुहारी वा पत्नीको हत्या, भाइ, काका, बाबुले गरेका छोरा वा भाइभतिजाको हत्यालगायत अन्य बहुनाताका व्यक्तिले गरेका हत्याका उजुरी प्रहरीसँग छ । प्रेमी–प्रेमिकाबाट हुने हत्या त अझ धेरै छन्, जुन आफन्तअन्तर्गत समावेश हुन्नन् । 

सातवटै प्रदेशमा गरी २०७२ देखि २०७५ चैत ससान्तसम्म १३ सय ६८ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७२–७३ मा १५७, २०७३–७४ मा १७७, २०७४–७५ मा २०६, २०७५–७६ मा १४४ र चैत मसान्तसम्म ६८४ घटना दर्ता भएको प्रहरीको तथ्य‌ांक छ । 

शिक्षित र मान–प्रतिष्ठा कमाएका व्यक्तिबाटै सामाजिक अपराधका घटना बढेकोमा समाजशास्त्रीहरू चिन्ता व्यक्त गर्छन् । आफन्तबाट हुने घटनाका कारणबारे समाजशास्त्री दीपक दाहाल सामान्य घरधन्दाको विषयमा विवाद हुँदा अप्रिय घटना हुने गरेको बताउँछन् । 

दीपक भन्छन्, ‘श्रीमान् र श्रीमतीको एकअर्कामा अविश्वास भएर पनि घटना घट्छन् । रिसको झोकमा पनि घट्छन् । कतिपय अवस्थामा श्रीमान् वा श्रीमतीले मदिरा सेवन गरेका वेला कुनै कुरामा तालमेल नमिलेर पनि यस्ता घटना हुने गरेको देखिन्छ ।’ 

यसरी हुने घटनालाई रोकथाम गर्न सरोकारवाला निकायका एकदुईजना मात्रै नभई गाउँ–समुदाय नै लाग्नुपर्ने समाजशास्त्री दाहालको बुझाइ छ । 

समाजशास्त्रकी अध्यापक डा. मीना उप्रेती आफन्तबाटै हत्याको घटना हुनुको कारण बिचलित समाज भएको बताउँछिन् । उनको दृष्टिमा यस्ता घटनामा यौन मनोरोग मुख्य कारण हो । ‘नेपालमा यौन मनोरोगीहरू एकदमै बढेका छन् । डरलाग्दो अवस्था आउन थाल्यो,’ उनी भन्छिन्, ‘आफू केही नगर्ने, बाहिरबाट सुटर मगाएर हत्या गर्न थालियो । यसले अपराधउन्मुख समाजको चित्र कोरेको छ ।

‘यसको मुख्य दोषी व्यक्ति हो,’ उनी थप्छिन्, ‘अर्को पारिवारिक कारण हो । जुन परिवारमा विग्रह छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना ज्यादा घट्ने गर्छ ।’ 
व्यक्ति दोषी भए पनि घटनाका पछाडि सामाजिक कारण मजबुत रहेको उनको बुझाइ छ । ‘सबैभन्दा मजबुत, बलियो सामाजिक कारण हो । समाजमा आफन्तबाटै हुने घटना हिजो पनि थिए । तर, हिजो समाजको डर भनिन्थ्यो । मूल्यमान्यताहरू बलियोसँग लागेका थिए,’ उनी भन्छिन् । 

मनोविद् वासु आचार्य आफन्तबाटै हत्या हुनुका मुख्य कारण समाज, मदिरा, मस्तिष्क र जिद्दीपनलाई मान्छन् । समाज विस्तारै क्रूर हुँदै गएको विश्लेषण राख्ने मनोविद् आचार्य सामाजिक परिवेश र आर्थिक अभावले पनि हत्या निम्त्याउने बताउँछन् । 

‘समाज विस्तारै क्रुर हुँदै छ । जिद्दी स्वभाव, कुनै पनि कुरालाई रूपान्तरित गर्न नसक्ने, आफ्नो विषयमा सचेत नहुने,’ उनी भन्छन्, ‘मस्तिष्कका केही तन्तुहरू, ड्रग्स, अल्कोहका कारण, सामाजिक परिवेश र आर्थिक अभावका कारण घटना घट्छ ।’

‘मानिसमा विस्तारै विस्तारै जिद्दी स्वभाव बढ्दै छ,’ उनी थप्छन्, ‘रिस उठाउने पनि प्रायः आफन्त नै हुन्छन् । टाढाकाले रिस उठाए भने माफ दिऊँ भनेजस्तो हुन्छ । आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यो परिस्थितिमा आफ्नैले आफ्नैलाई हत्या, बलत्कार गर्ने र आफूले आफैँलाई घटना घटाउने क्रम बढ्दै जान्छ ।’ 

रोकथाम र न्यूनीकरणका उपायबारेको जिज्ञासामा मनोविद् आचार्य रोकथामका लागि जागरण पहिलो सर्त भएको बताउँछन् । ‘यसका लागि जागरण सबभन्दा महत्वपूर्ण छ । रिस कन्ट्रोल गर्ने जागरण, समाज व्यवस्थापन गर्ने जागरण गर्नुपर्छ,’ उनी भन्छन्, ‘बदला रिस कन्ट्रोल गर्ने माध्यम होइन । माफी दिनुचाहिँ मुख्य आधार हो भन्ने समाजलाई बुझाउनुपर्छ ।’

कुनै पनि घटनाप्रति बदला नभई माफी दिने अभ्यासमा समाज लाग्नुपर्ने उनी बताउँछन् । विकसित मुुलुकमा हुँदै आएको प्रयोगको उदाहरण दिँदै मनोविद् आचार्य नेपालमा माफी दिनुपर्छ भन्ने चेतना नै नआएको बताउँछन् । 

‘विकसित मुलुकहरूमा माफी दिने प्रयोग बढी गर्न थालिएको छ । यहाँ बदला लिने प्रयोग बढ्दै गएको छ,’ उनी भन्छन्, ‘माफ गर्नुपर्छ भन्ने सोचको कमी छ । सामाजिक पक्षबाट बदला नै ठूलो हो भन्ने भ्रम छ ।’

‘बदला लिने स्वभाव भनेको सामाजिक दायित्वका आधारले पनि हो । पीडकलाई मात्रै दोष नदिऊँ,’ आचार्य थप्छन्, ‘पीडक हुनुको आधार– सामाजिक, मनोवैज्ञानिक, मस्तिष्कको रसायन, राष्ट्रको पक्ष मिलेर मानिस क्रूर बन्न बाध्य हुन्छ र उसले घटना घटाउँछ ।’ 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्