केन्याबाट उद्धार गरिएका नेपाली युवती काठमाडौं ल्याइयो

काठमाडौं– केही समयअघि केन्याको डान्सबारमा पक्राउमा परेका नेपाली युवतीहरुलाई काठमाडौं ल्याइएको छ । 

प्रहरीले जनाएअनुसार बिहिबार साँझ उनीहरुलाई नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय आप्रवासी संगठनले सहयोग गरेको हो । अहिले उनीहरुलाई प्रहरीले सोधपुछ गरिरहेको छ । 

नेपाली युवती केन्याको डान्सबारमा कहाँबाट बेचिएर पुर्याइए भन्ने प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

यसअघि केन्या प्रहरीले छापा मार्दा १२ महिला पक्राउ परेका थिए ।  उनीहरु त्यहाँ कसरी पुगे भन्ने खुलेको छैन । तर, प्रहरीले उनीहरुलाई तस्करी गरेर त्यहाँ पुर्याइएको हुनसक्ने अनुमान गरेको छ । 

त्यहाँको प्रहरीअनुसार प्रहरीले न्यु रंगिला बार एन्ड रेष्टुरेन्टमा छापा मारेको थियो । न्याली भन्ने ठाउँमा रहेको यो बारमा विदेशी महिलाहरु काम गरिरहेको प्रहरीलाई सुचना मिलेपछि प्रहरीले छापा मारेको केन्याको न्युज वेबसाइट डेली नेसनले लेखेको छ । 

बारका मालिक असिफ अमिराली अलिभाइ जेजेठा पनि पक्राउ परेका छन् । प्रहरीले उनीसँग क्यानडाको राहदानी भएको जनाएको छ । तर, त्यो राहदानी नक्कली भएकाले बारका मालिक असिफ नै महिला तस्करमा संलग्न भएको हुनसक्ने अनुमान गरेको छ ।



त्यहाँका प्रहरी प्रमुख जोसेफ सेबीले पक्राउ परेका महिला अवैधानिक रुपमा केन्यामा काम गरिरहेको र उनीहरुले यौन धन्धा चलाइरहेको बताएका छन् । ती महिलाहरु अन्तर्राष्ट्रिय गिरोहले तस्कर गरेर त्यहाँ पुर्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

‘ती महिलाहरुसँगको सोधपुछमा उनीहरु लुङ्गाको सीमाबाट छिरेर केन्या आएको बुझिएको छ तर उनीहरु नेपालबाट केन्यासम्म कसरी आइपुगे भन्नेबारे अझै खुल्न सकेको छैन,’ प्रहरीले स्थानीय मिडियालाई बताएका छन् । प्रहरीले बारका मालिक असिफको क्यानेडेली राहदानीमाथि पनि अनुसन्धान गरिरहेको छ ।



  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार १२:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया