खाडीमा इरानी ड्रोन डुबायौँ– अमेरिका, अमेरिकाले झुक्केर आफ्नै ड्रोन डुबायो होला– इरान

वासिंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जलसेनाले बिहीबार एक इरानी ड्रोन ध्वस्त पारेको बताएका छन् ।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले खाडीको रणनीतिक समुन्द्री मार्ग स्ट्रेट अफ होर्मुजबाट एक हजार यार्ड भित्र छिरेको इरानी ड्रोनलाई फर्कन निर्देशन दिइएको र नमानेपछि युएसएस बक्सरले डुबाएको दाबी गरे । ड्रोनलाई ‘इलोक्ट्रोनिक जामिङ डिभाइस’को मद्दतले डुबाइएको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् । 

इरानले भने आफ्नो कुनै पनि ड्रोन गुमाएको खबर नपाएको बताएको छ । अमेरिकी दाबीपछि बिहीबारै इरानी विदेशमन्त्री मोहम्मद जावेद जारिफले भनेका थिए, ‘हामीलाई आज हाम्रो कुनै ड्रोन गुमाएको जानकारी छैन ।’ आज एक ट्विट गर्दै इरानी उप–विदेशमन्त्री सेयद अब्बास अगार्चीले अमेरिकाले झुक्केर आफ्नै ड्रोन डुबाएको हुन सक्ने व्यंग्यात्मक टिप्पणी गरेका छन् । 

‘हामीले स्ट्रेट अफ होर्मुजमा कुनै ड्रोन गुमाएका छौनाैँ, न त अन्त कतै,’ ट्विटमा उनले लेखेका छन्, ‘युएसएस बक्सरले भुलवश आफ्नै ड्रोन डुबाए भन्नेमा चिन्तित छु ।’ 

यसअघि, इरानले खाडीक्षेत्रमा अवैध रुपमा इन्धन ओसारपसार गरिरहेको एउटा विदेशी ट्यांकर र यसका चालक दलका १२ सदस्यलाई आइतबार नियन्त्रणमा लिएको बताएको थियो । गत जुनमा इरानले सोही क्षेत्रमा एक अमेरिकी ड्रोनलाई डुबाइदिएको थियो । 



अमेरिकाले इरानलाई गत मे देखि खाडीक्षेत्रमा ट्यांकरहरुमाथि भएका सबै आक्रमणको दोष लगाउँदै आएको छ । इरानले भने ती आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो घटनाले यो क्षेत्रमा सैन्य तनावको खतरा बढाएको छ । 



  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार १८:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया