Sun, 20 Oct, 2019


लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्ने चारजना पक्राउ
फरकधार / साउन ४, २०७६

काठमाडौं– खोटाङमा लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र च्यात्न खोज्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि लोकसेवाले खुलाएके विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने प्रयास गरेका थिए । 



आदिवासी जनजाति कार्यकर्ताको विरोधका बाबजुद परीक्षा सञ्चालन भएको छ । प्रश्नपत्र च्यात्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि परीक्षा निर्बाध रुपमा सम्पन्न भएको छ । 

शनिबार बिहान खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ता प्रवेश गरेर प्रश्नपत्र च्यात्न खोजेका थिए । तर, उनीहरूलाई नियन्त्रणमा लिएर परीक्ष सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर, दलित विकास मञ्चका मिलन चाहार र सविना अछामी छन् । प्रश्नपत्र च्यात्ने प्रयास गरेकाे आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

खोटाङका प्रहरीले केही व्यक्ति प्रवेश पत्रविना जबर्जस्ती हलमा प्रवेश गर्न खोजेका कारण उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । । उनीहरुलाई प्रहरीले पहिला नै नियन्त्रणमा लिएकाले प्रश्न पत्र नच्यातिएको प्रहरीको भनाइ छ । 

यसअघि लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै आरक्षण बचाऊ अभियानले पटक–पटक प्रदर्शन गर्दै परीक्षाको प्रश्नपत्र च्यात्ने चेतावनी दिएको थियो । प्रहरीको सक्रियताका कारण उनीहरूको अभियान सफल हुन सकेन ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्