काठमाडौं– धितोपत्र बजारमा यस साता कुल १ सय ७० कम्पनीको करिब दुई अर्बबराबरको सेयर कारोबार भयो । आर्थिक वर्ष २०७५÷७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कुल ८५ लाख ९९ हजार १७ कित्ता सेयर कारोबार भए । नेपाल स्टक एक्सचेन्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोबारमापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो ।
अघिल्लो साता अर्थात् असार २६ गते बिहीबार एक हजार २ सय ४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोबार यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अंकले सुधार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुग्यो ।
सो दिन नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने औसत मात्रै रह्यो । कुल १ सय ६१ कम्पनीको १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ मूल्यमा खरिद–बिक्री भए ।
सोमबार भने करिब ४३ करोडको कारोबार भयो । कुल २९ लाख ७३ हजार ८ सय ४३ कित्ता सेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन १७० कम्पनीको सेयर कारोबार भयो । मंगलबार पनि कुल ३४ करोडको कारोबार हुँदा १ सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६ सय ३० कित्ता सेयर खरिद–बिक्री भए ।
यस्तै, बुधबार कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अंकले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १५.८५ अंकले बढेर एक हजार २४७.८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने औसतमै सीमित रह्यो । कुल १ सय ६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता सेयर ४२ करोड ६७ लाख ४३ हजार ४ सय ५८ मूल्यमा कारोबार भए ।
यस्तै, बुधबार दोहोरो अंकले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ बिन्दुमा पुग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने औसतमा रह्यो । कुल १ सय ५८ कम्पनीको १२ लाख ५० हजार ७ सय ८ कित्ता सेयर ४१ करोड १३ लाख ६९ हजार २ सय ९९ मूल्यमा खरिद–बिक्री भए ।
बजार पुँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआइ बैंक र कृषि विकास बैंक उत्कृष्ट दसौँ स्थानमा परे ।
यस्तै यस साता विभिन्न चार कम्पनीका सेयर स्टकमा सूचीकृत भए । त्यसमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद सेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार ३ सय १२ कित्ता हकप्रद सेयर, नबिल ब्यालेन्स फन्डको ११ करोड २० लाख एकाइ साधारण सेयर र कुमारी बैंकको कुल एक करोड ५२ लाख २१ हजार ७ सय ८१ कित्ता सेयर लाभांश सूचीकृत भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।