के सरकारले विप्लवसँग वार्ता हुने सम्भावना नदेखेको हो ?

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्यूरो इन्चार्ज माइला लामा शनिबार मध्यराति काँडाघारीबाट पक्राउ परेका छन् । उनीसँगै प्रहरीले विप्लव समूहका कार्यकर्ता रेशम तामाङलाई पनि पक्राउ गरेको छ । 

योसँगै विप्लव नेतृत्वसँग सरकारले अनौपचारिक वार्ता सुरु गरेको छ भन्नेमा आशङ्का उत्पन्न भएको छ । 

त्यसो त सरकारका प्रवक्ता तथा सूचना तथा सन्चारमन्त्री गोकुल बाँस्कोटाले केही दिनअघि विप्लव नेतृत्वसँग तत्काल वार्ताको सम्भावना नरहेको तर विप्लव समूह हतियार त्यागेर आएमा वार्ता पनि गर्न सक्ने अभिव्यक्ति दिएका थिए । 

उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेसँगै सरकारले विप्लव समूहसँग अझै पनि वार्ता हुने सम्भावना कम देखेको अनुमान गर्न सकिन्छ । 

त्यसो त यसअघि पनि विप्लव समूहसँग अनौपचारिक वार्ता भइरहेको प्रसंगलाई सत्तारुढ दलकै जिम्मेवार नेताहरुले आफूहरुलाई यस विषयमा थाहा नभएको बताएका थिए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले फरक धारसँगको कुराकानीमा भनेका थिए, ‘मैले बाहिर समाचार आइरहेको सुनेको छु, तर म आफैंलाई विप्लव समूहसँग वार्ता भइरहेको भन्नेबारे थाहा नै छैन ।’

उनले थपेका थिए, ‘म आफू त्यसमा संलग्न पनि छैन । तर, वार्ताको प्रयास गरिरहेको भन्दै मेरो नाम पनि आएको छ ।’



त्यस्तै, विप्लव समूहका एक केन्द्रीय नेताले फरक धारसँग कुरा गर्दै भनेका थिए, ‘सरकारले हामीमाथि लगाएको प्रतिबन्ध फुकुवा नभएसम्म वार्ता हुने सम्भावना म देख्दिनँ ।’

उनले आफ्ना नेता तथा कार्यकर्तालाई नछोडेसम्म वार्ताको सम्भावना नै नभएको पनि बताएका थिए । 



यता, शनिबार मध्यरातमा विप्लवका कार्यकर्ता पक्राउ पर्नुले पनि सरकार विप्लवसँगको वार्तामा आशावादी नभएको अनुमान गर्न सकिन्छ । 

  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार ९:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया