[बेलायत] अबकाे प्रधानमन्त्री बोरिस जोनसन

लन्डन– बोरिस जोनसन कन्जरभेटिभ पार्टीको नेता चुनिएका छन् । पार्टीभित्रको प्रतिस्पर्धामा जेरेमी हन्टलाई सजिलै परास्त गरेर दलको नेता चुनिएका जोनसोन अब बेलायतको प्रधानमन्त्री बन्नेछन् । 

१ लाख ४० हजार पार्टी सदस्यले आज मतदान गरी जोनसोनलाई कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनेका हुन् । निर्वाचनमा जोनसोनले ९२,१५३ मत पाउँदा हन्ट पक्षमा ४६,६५६ मत पर्यो । 

लन्डनका पूर्वमेयर जोनसनले बुधबार प्रधानमन्त्री टेरिजा मेलाई प्रतिस्थापन गर्नेछन् । 

दलको नेता चुनिएपछि पार्टी सदस्यहरुलाई सम्बोधन गर्दै जोनसनले ब्रेक्जिट (बेलायत युरोपियन युनियनबाट बाहिरिने प्रक्रिया) लाई सार्थक निष्कर्षमा पुर्याउने, देशलाई एकताबद्ध गर्ने र विपक्षी लेबर पार्टीका नेता जेरेमी कर्बिनलाई परास्त गर्ने वाचा गरे । 

प्रधानमन्त्री मेको ब्रेक्जिट सम्झौता प्रस्ताव पटक–पटक संसद्ले फेल गरिदिएपछि लामो समयदेखि ब्रेक्जिट प्रक्रिया अल्झिएको छ । पछिल्लोपटक म्याद थप गर्दै युरोपियन युनियनले बहिर्गमनका लागि बेलायतलाई ३१ अक्टोबरसम्मको समयसीमा दिएको छ ।

सत्ताको बागडोर सम्हाल्न गइरहेका जोनसोनसामु त्यसअघि नै बेलायतको अर्थतन्त्रअनुकूल र बेलायती जनताका भावनाअनुरुपको ब्रेक्जिट सम्झौता पारित गराउनुपर्ने चुनौती रहनेछ । अन्यथा बेलायत विनासम्झौता इयुबाट बाहिरिनुपर्ने अवस्थामा पुग्नेछ, जुन बेलायती अर्थतन्त्रका लागि घातक हुन सक्छ । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १८:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया