‘स्कुल विभागको नाममा पूर्वएमालेमाथि प्रचण्डले खेल खेलिरहेका छन्’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय दुई नेता नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलमध्ये कसलाई स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । स्कुल विभागको प्रमुखमा यी दुई नेताको चयन गर्ने विषयलाई पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादीको लडाइँका रुपमा पनि हेर्न थालिएको छ । 

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ईश्वर पोखरेललाई नै स्कुल विभाग प्रमुख बनाउन प्रतिबद्ध छन्,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘यस विषयमा उनी अरु कसैको नाम सुन्न चाहँदैनन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा आफू निकट नेताहरुसँग सल्लाह गरेपछि आफू पछि हट्ने मनस्थितिमा छैनन् ।’

यसबीच पूर्वएमाले अधिकांश नेताहरुले यो मुद्दामा प्रचण्डलाई आरोप लगाएका छन्– उनी पार्टीमा आफ्नो समीकरण बलियो बनाउन पूर्वएमाले नेताबीच खेल खेल्न खोजिरहेका छन् । 

‘उनी हामीमाझ खेल खेलेर बलियो बन्ने मनस्थितिमा पुगेको स्पष्ट छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘अझै पनि पार्टी एकता भएको आभास हुन सकेको छैन, झन् पूर्वमाओवादी र पूर्वएमालेबीच शक्ति संघर्ष देखिन थालेको छ ।’

स्कुल विभागको प्रमुखमा सहमति नजुटेकाले नै यसअघि मंगलबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक अब कहिले बस्ने भन्ने अनिश्चित हुन पुगेको छ । उता, आफू नै स्कुल विभागको प्रमुख हुनु पर्ने र यो अडानबाट पछाडि नहट्ने सूचना पठाएर रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल उपत्यका बाहिर भ्रमणमा निस्किएका छन् ।

अर्कोतिर, पूर्वएमालेका नेताहरुले यसबारे सामाजिक सन्जालमा पनि आफ्ना टिप्पणी राख्न थालेका छन् । उनीहरु मध्ये केहीले नारायणकाजी श्रेष्ठले यो अडानबाट बाहिरिनु पर्ने तर्क गरेका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताका अनुसार यस विषयमा ओलीले अर्का नेता वामदेव गौतमसँग गम्भीर छलफल गरेका छन् । 

पार्टीमा आफू विस्तारै कमजोर हुँदै गइरहेको निष्कर्ष निकालेका ओलीले यही विषयलाई प्रमुखताका साथ अगाडि बढाएर पूर्वएमालेका नेताहरु वामदेव गौतम, माधवकुमार नेपाल तथा झलनाथ खनाललगायतसँग आफ्नो सम्बन्ध सुधारको प्रयासमा समेत लागेका छन् ।



‘सायद ओलीलाई एमालेको जनकपुर महाधिवेशनको झल्को आएको हुनसक्छ,’ नेकपाका एक नेताले भने, ‘त्यति बेला पार्टीमा एकतापछि वामदेव गौतमले ओलीको साथ त दिएका थिए तर महाधिवेशनमा ओली पक्षधर एउटै नेताले जित हासिल गर्न सकेका थिएनन् । अहिले उनले पार्टीमा आफू कमजोर हुँदै गएको अनुभूत गरिसकेका छन् । त्यसैले पूर्वएमालेहरुलाई उनी एक ठाउँमा उभ्याउन चाहन्छन् ।’

तर, यसमा केपी शर्मा ओली सफल हुने सम्भावना न्युन रहेको उनी निकट नेताहरु नै बताउँछन् । पछिल्लो समय सरकारका कामहरुबारे पार्टीकै नेताहरुबाट आलोचना सुरु भएको छ, यसले पनि ओलीलाई कमजोर बनाउन थालेको सांसद् समेत रहेका नेकपाका एक नेता बताउँछन् ।

‘स्कुल विभागको सन्दर्भमा ओलीले ईश्वर पोखरेललाई धोका दिन सक्दैनन्,’ ती नेताले बताए, ‘यसअघि रक्षामन्त्रालयको जिम्मेवारी दिने समयमा पनि आफूमाथि धोका भएको ईश्वर पोखरेलले निष्कर्ष निकालेका छन् । त्यसैले उनी ओलीसँग टाढिएका छन् । तर, पूर्वएमालेकै नेताहरुलाई गुमाएर पार्टीमा कमजोर हुने चाहना ओलीमा छैन ।’

उता, पार्टीमा आफ्ना अजेन्डा र चाहनालाई गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले विस्तारै बेवास्ता गर्न थालेको बिफ्रिङ पाएका नेकपाका अध्यक्ष प्रचण्ड पनि आफूलाई पार्टीमा बलियो बनाउने उद्देश्यका साथ नारायणकाजीलाई नै स्कुल विभाग बनाउन चाहन्छन् ।

यसबीच नारायाणकाजीलाई पार्टीको प्रवक्ता रहेकाले स्कुल विभागमा ईश्वर पोखरेललाई समर्थन गर्न अनुरोध गर्ने पनि चर्चा चलेको थियो । ‘उहाँलाई पार्टी प्रवक्ता भएकाले विभागमा अडान नराख्न अनुरोध पनि भएको हो,’ ओलीनिकट एक नेताले भने, ‘तर, उहाँभन्दा पहिले अध्यक्ष प्रचण्डले यो प्रस्तावलाई खारेज गरिदिनुभयो ।’

यसैबीच नेकपामा अर्को संशय के पनि सुरु भएको छ भने यी दुवै नेतालाई स्कुल विभाग नदिएर अन्य नेतालाई स्कुल विभागका लागि चयन गर्ने । तर, यो पार्टीमा कार्यकर्ता तथा वैचारिक बहसलाई प्रत्यक्ष ह्यान्डल गर्ने भएकाले यो विभाग कसलाई दिने भन्ने कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन ।

उता, यसैबीच नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले नेताहरुसँग भेटेर आफूलाई स्कुल विभाग दिन अनुरोध गरेका छन् । ‘भुसाललाई स्कुल विभाग दिने सम्भावना चाहिँ छैन,’ उनीनिकट नेकपाकै नेताले भने, ‘दिने नै भए यसबारे यसअघि नै सल्ला गरिने थियो ।’

अब पोखरेल र श्रेष्ठबीच स्कुल विभागको विषयमा कुनै टुङ्गो लाग्ने नदेखिएमा अध्यक्षद्वयले नै यो विभाग राख्न सक्ने सम्भावना बढ्दै गएको नेकपा नेताहरुले निष्कर्ष निकालेका छन् ।
 

  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार २३:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया