[कविता] गीतलाई हतकडी
हतकडी लगाइएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता माइला लामा । उनी गीतकार तथा संगीतकार पनि हुन् ।

 

 

 

केशव सिलवाल

केशव सिलवाल

पानी–पानी भएँ म
जब तिनले हतकडी लगाए गीतलाई



गीत नगाई बस्न सक्दैनाैँ हामी
गाउँछौँ मेलापात, जात्रा पर्वमा 
नाच्छाैँ दुखका बीच
तर, तिनले हतकडी लगाइदिए गीतलाई

गीत गाउँदै उत्रिएका थियौँ सडकमा
गीत थियो अघि–अघि
र त पछि–पछि झन्डा हल्लाउँदै हिँड्थ्यौँ हामी जुलुसमा



गीतबाट जन्मिएका हुन् तिनीहरू
सास फेर्न सक्ने थिएनन् गीत नभई
शीतल थियो, न्यानो थियो
मुटुको भुल्का थियो गीत

कुनै बेला गीतलाई आगो लगाउँदा
तिनीहरू स्वयम् आगो भएका थिए
हतियार पड्काएका थिए गीतको सुरक्षामा
चिसो खरानी छन् अहिले
र निभाउने प्रयासमा छन् गीतलाई

ढोका थुनिरहेछन् गीतलाई 
बुटले कुल्चिरहेछन् गीतको छातीमा
गीत सुनिएला भनेर
ठेडी कोचिरहेछन् कानमा
चर्को स्वरमा बजाइरहेछन् –
‘घुमाउँला तिमीलाई ठमेल बजार...’
बुढो कम्मर भाँचिरहेछन्
कामुक नायिकासँग

यतिबेला कोही मुतिरहेछन् हाम्रो गीतमाथि अर्को गीत
अनगिन्ती हत्यारा छन् गीतको
हत्या गरिरहेछन् गीतले गीतलाई नै
सुरक्षा दिइरहेछन् तिनीहरू गीतको हत्यारालाई 
र, हतकडी लगाइरहेछन् हाम्रो गीतलाई

थुप्रै गायक हिँडिरहेछन् अझै पनि
गीत गाउँदै
जुन सह्य छैन तिनलाई 
किनकि नुन खाएका छन् तिनले
ज्यानको बक्सिस पाएका छन्

गायकमाथि गायक
गीतमाथि गीत 
गीतबाट खतरा छ तिनलाई
र लगाइरहेछन् हतकडी

पानी–पानी भएँ म
जब तिनले हतकडी लगाए गीतलाई ।

  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार ११:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया