गभर्नरको राजीनामासँगै खुसी साट्न निस्किए हजारौँ 'पुर्टो रिको'वासी

वासिंगटन– अमेरिकी अधिनको अर्ध–स्वशासित क्षेत्र पुर्टो रिकोका गभर्नर रिकार्डो रोसेलोले राजीनामा दिने घोषणा गरेसँगै राज्यभर खुसी मनाइएको छ । गभर्नर रोसेलोले आफ्ना सल्लाहकारहरुसँग गरेका ‘क्रूर र अपमानजनक’ च्याट मेसेजहरु बाहिर आएसँगै दुई सातादेखि उनीविरुद्ध प्रदर्शन चर्किएको थियो । 

राजधानी सान जुआनस्थित गभर्नरको कार्यालयबाहिर भेला भएका हजारौँको भिडले गीत गाउँदै खुसी मनाएका छन् । 

बुधबार फेसबुकमा भिडियो पोस्ट गर्दै गभर्नर रोसेलोले अर्को शुक्रबार (२ अगस्ट) देखि लागू हुनेगरी राजीनामा दिने घोषणा गरेका छन् । प्रदर्शनकारीहरुको मागलाई आत्मसात गर्दै राजीनामा दिन लागेको उनले बताएका छन् । 

१३ जुलाईमा त्यहाँको ‘अनुसन्धानात्मक पत्रकारिता केन्द्र’ले ८८९ पृष्ठ लामो टेलिग्राम च्याट सार्वजनिक गरेको थियो, जसमा गभर्नर रोसेलो र ११ अन्य पुरुष प्रशासनिक अधिकारीले तेस्रो लिंगी (गे), महिला र तुफानपीडितको मजाक उडाएका थिए । 

पहिलेदेखि नै भ्रष्टाचार, खराब व्यवस्थापन, आर्थिक संकट, र दुई वर्षअघि आएको विनाशक ‘मारिया’ तुफानपछिको सुस्त पुनर्उत्थानबाट आजित यहाँका जनतालाई यो च्याटले आक्रोशको उत्कर्षमा पुर्यायो । 



४० वर्षे डेमोक्रेटिक नेता रोसेलो सन् २०१६ मा गभर्नर चुनिएका थिए । उनी आधुनिक पुर्टो रिकोका पदावधि नपुग्दै राजीनामा गर्ने पहिलो गभर्नर बनेका छन् । 

पुर्टो रिको ३० लाखभन्दा बढी ‘अमेरिकी नागरिक’ बस्ने टापु क्षेत्र हो । तर, यहाँका जनताले अहिलेसम्म अमेरिकी कंग्रेसमा आफ्नो प्रतिनिधित्व पाएका छैनन् । न त उनीहरुलाई राष्ट्रपतीय निर्वाचनमा भोट हाल्ने अधिकार नै छ । 
 



  • प्रकाशित मिति : साउन ९, २०७६ बिहीबार १७:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया