Fri, 15 Nov, 2019


[ब्लग] अब सागर जिसीले राम्रो पढून् !
गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय सभा अध्यक्ष
फरकधार / साउन ११, २०७६
सामाखुसीकाे क्यानभास कलेजमा सागर जिसीलाई भर्ना गराउँदै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना ।

गत शुक्रबार । बेलुकीको खाना खाइवरी म कोठामा यत्तिकै बसिरहेको थिएँ । एकैछिन फेसबुक चलाउँ भन्ने भयो । फेसबुक के खोलेको मात्र थिएँ, एउटा अनलाइनले सेयर गरेको समाचारमा मेरा आँखा अड्किए । 



समाचार प्युठानका सागर जिसीबारे रहेछ । सागरले यसै वर्ष एसईई परीक्षा दिएका रहेछन् । राम्रो ग्रेड ल्याएर पास गरेका पनि रहेछन् । उनी साइन्स पढ्न खोजिरहेको तर आर्थिक अभावका कारण केही पनि पढ्न नपाएको कुरा समाचारमा लेखिएको थियो । उनले लक्ष्य लिएका रहेछन्– भविष्यमा डाक्टर बन्ने । 

तर, घरमा आमा नभएकाले र बाबु अपाङ्गता भएकाले आफूले कुनै कलेजमा पढ्न नपाएको गुनासो सागरको थियो ।

यसले मेरो मनलाई छोयो । 

हो, नेपालमा सागरजस्ता धेरै बालबालिका छन् जसले राम्रो आर्थिक अवस्था नभएकैले चाहिँ राम्रो पढाइलाई पनि बीचमा नै छोड्नु पर्ने बाध्यतामा छन् । तर, त्यो साँझ सागरको यो समाचार मेरो फेसबुक फिडमा आयो । 

मैले सागरलाई चिन्ने व्यक्तिले मलाई नम्बर उपलब्ध गराइदिनुहोस् भनेर फेसबुकमा एउटा स्टाटस लेखेँ । त्यसपछि मलाई अन्नपूर्ण पोस्टमा कार्यरत त्यहाँका पत्रकार मित्रले नम्बर पठाइदिनु भयो । 

मैले सागरलाई फोन गरेँ । उनले मसँग धेरै कुरा गरेनन् । उनले भने, ‘मेरो हेडसरसँग कुरा गर्नुहोस् न ।’

सागरले दिएको नम्बरमा मैले फोन गरेँ । सागरका हेडसरले भन्नुभयो, ‘हो, सागरको पढाइ निकै राम्रो छ । तर, आर्थिक अभावका कारण उसले पढ्न सक्ने अवस्था पनि छैन ।’

मैले त्यति बेला खासमा सागरको कुरा बुझ्न मात्र खोजेको थिएँ । तर, केही साथीहरुले फेसबुकमा मलाई बधाई दिन थाल्नु भयो । त्यसपछि मैले सागरलाई पढाउन समन्वय गर्न सकेँ भने अझ राम्रो हुने थियो भन्ने भयो । 

पढ्नका लागि सागरलाई काठमाडौं ल्याउनका लागि मैले सुन्दर भुसालजीहरुसँग सल्लाह गरेँ । उहाँहरुले सागरलाई आफूहरुले अध्ययनको जिम्मेवारी लिने बताउनु भयो । तर, सागरलाई काठमाडौंमा कलेजमा पढाएर मात्र हुँदैनथ्यो, उनलाई त काठमाडौंमा बस्ने पनि व्यवस्था मिलाउनु पर्ने जिम्मेवारी थियो । मैले यही कुरा उनलाई पढाउन तयार भएको कलेजमा राखेँ । यसलाई सुन्दर पक्ष मान्नुपर्छ– उहाँहरुले सागरका लागि प्लस टुको अध्ययन र यो दुई वर्षमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु हुने भयो । 

यता सबै तारतम्य मिलेपछि हामीले सागरलाई काठमाडौंमा बोलायौँ । उनलाई सामाखुसीमा रहेको क्यानभासमा पढाउने भयो । 

हो, प्युठानको एउटा सामान्य परिवारमा जन्मिएका सागरले अब काठमाडौंको एउटा कलेजमा पढ्न पाएका छन् । यसले मलाई खुसी त बनाएको छ तर अब उनले साँच्चिकै आफ्नो अध्ययनलाई एउटा उचाइमा पुर्याउन सके भने, राम्रो नतिजा ल्याए भने म अझ खुसी हुने थिएँ । 

सागरले अब आफ्ना सपनाहरुलाई पछ्याउनु पर्ने हुन्छ, उनले आफू केही बन्न चाहेका छन्, त्यो पूरा हुनका लागि मैले सहजीकरण मात्र गरिदिएको हुँ । उनको सफलताको कडी त अब उनको आफ्नै मेहनेत मात्र हो ।

सागरका लागि कलेजको अभिभावक म हुँ । मैले यसरी बालबालिकाका लागि अभिभाकत्व पाँच जना बालबालिकाको लिएको छु । यो सरकारले ल्याएको भर्ना अभियानको समयमा मैले पर्वतमा तीन जना र पोखरामा दुई जनाको अभिभावकत्व लिएको छु । उनीहरुको स्कुले शिक्षाका लागि मैले जिम्मेवारी बहन गरेको छु । 

सागरको सपना राम्रो बनेर देशलाई सहयोग गर्ने भएकाले मैले उनका लागि पढ्ने वातावरण मिलाउन सहजीकरण गरेको हुँ । अब उनले पढ्नका लागि एउटा राम्रो कलेज पाएका छन्, उनलाई काठमाडौंमा बस्नका लागि ठाउँ मिलेको छ । आफ्ना सपनाहरु पछ्याउन एउटा प्लेटफर्म उनले पाएका छन् ।

त्यसो त मलाई लाग्छ, सपनाहरु पछ्याउन पाउनु एउटा सूवर्ण अवसर हो । हाम्रो जीवनमा हाम्रा कतिपय सपनाहरु यसै कल्पनाको गर्तमा मात्र हराएर जान्छन् । कति विषयहरु हामीले अनेक बाधाहरुका कारण यत्तिकै बीच बाटोमा छोड्नु पर्ने हुन्छ । त्यसले हामीलाई जीवनको अन्तिमसम्म पनि लखेट्न चाहिँ नछोड्न सक्छ । तर, समय र संयोग नमिल्न सक्छ ।

मैले सागरको कलिलो उमेरमा एउटा सपनाको मृत्यु नहोस् भन्ने चाहेको थिएँ । तर, यही मेरो कामना र चाहनामाथि पनि नकरात्मक प्रश्न उठाउनेहरु मैले भेटेँ । केही मित्रहरुले मैले सागरलाई पढ्ने व्यवस्थापनका लागि सहजीकरण गरेपछि मलाई प्रतिक्रिया दिनुभयो– सक्छस् भने सागरजस्ता अरुलाई पनि पढाएर देखा न !

एउटा नमीठो आभास हुने चुनौति हो यो । म त केवल समाजमा राम्रो केही गरौँ भनेर अगाडि बढिरहेको सामान्य मानिस हुँ । मसँग पूरै खराबीहरु छाडेर तत्काल जादुमयी छडीको प्रयोग गरेर समाजमा उथलपुथल ल्याउने सामथ्र्य छैन । यसको अर्थ के होइन भने म आफूबाट हुनसक्ने कामबाट पनि टाढा भागूँ, कसैको भावनालाई बुझ्दै नबुझ्नु भनेर मेरो मनलाई निर्देशित गरुँ ।

एउटा समृद्ध देशको सपना देखेर हामी अगाडि बढिरहेका छौँ । समृद्ध देशका लागि समुन्नत समाज चाहिन्छ । समुन्नत समाजका लागि हामीसँग आफूले गर्न सक्ने कामबाट पन्छिन नखोज्ने मन चाहिन्छ । त्यसका लागि सपनाहरुलाई बुझ्न सक्नुपर्छ, बुझ्नु पर्छ । 

जब हाम्रा राम्रा सपनाहरुले आकार पाउँछन्, हाम्रो देश हामीले कल्पना गरेजस्तै सुन्दर बन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्