काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनिर्मित ओपिडी भवनको उद्घाटन गरेका छन् । बाँसबारीस्थित अस्पताल परिसरमा निर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री निर्धारित समयभन्दा एक घन्टा ढिलो पुगेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्यमा समस्या आएकाले आफू कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताए । यसो भन्दै गर्दा प्रधानमन्त्रीले भाषण भने झन्डै एक घन्टा नै गरे ।
भाषणको अन्त्यमा उनले ‘असक्त भएर नआउन खोजेको मान्छेले कार्यक्रममा आएर लामो बोलेपछि नक्कली बिरामी रहेछ भन्ने शंका होला’ भन्दै आफ्नो स्वास्थ्य समस्याबारे प्रस्ट्याए । खासमा उनको गएराति बुद्धि बंगारो खुस्किएको रहेछ ।
‘हिजो बेलुका मेरो दाहिनेपट्टिको माथिल्लो बुद्धि बंगारो आफैँ खुस्कियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन ।’ हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको सम्झँदै उनले आफू ६७ वर्षको उमेरमै बुद्धि बंगारा फुस्किएर असक्त भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।