जब ट्रम्पले अश्वेत बाहुल्यको बाल्टिमोर जिल्लालाई 'मुसाहरुको फोहोरी झुन्ड' भने‍

वासि‌ंगटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचना खप्न सक्दैनन् । उग्र र अतिवादी स्वभावका उनी आक्रोश पोख्न मञ्चसँगै सामाजिक सञ्जालको उत्तिकै प्रयोग गर्छन् । आफ्ना अभिव्यक्तिका कारण उनी बेलाबखत विवादमा आइरहन्छन् ।

केही दिनअघि विदेशी मूलका चार अश्वेत महिला विधायकमाथि गरेको ‘जहाँबाट आयौ, उतै फर्क’ भन्ने खालको ट्विटर टिप्पणीका कारण उनको विश्वभर आलोचना भएको थियो । शनिबार उनले यस्तै विवादास्पद ट्विट गरे । ट्विटमार्फत राष्ट्रपति ट्रम्पले अफ्रिकी मूलका डेमोक्रेटिक सांसद एलिजाह कुमिंग्स र उनको जिल्ला बाल्टिमोरमाथि नमिठाे आक्राेश पाेखे ।

अश्वेत बाहुल्यको बाल्टिमोर जिल्लामाथि अपमानजनक टिप्पणी गर्ने राष्ट्रपति ट्रम्पकाे अभिव्यक्तिकाे विराेधमा डेमाेक्रेटिक सांसदहरुले अभियान नै चलाएका छन् ।

यसैबीच, क‌ंग्रेस सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले अफ्रिकी मूलका विधायकमाथि ‘रंगभेदी आक्रमण’ गरेको टिप्पणी गरेकी छिन् ।

शनिबारको ट्विटमा राष्ट्रपति ट्रम्पले कुमिंग्सले प्रतिनिधित्व गर्ने अश्वेतहरुको बाहुल्य रहेको जिल्ला बाल्टिमोरलाई ‘मुसाहरुले भरिएको फोहोरी थुप्रो’ भनेका थिए । ट्विटमा ट्रम्पले कुमिंग्सलाई ‘बुली’ भनेका थिए ।



खासमा, राष्ट्रपति ट्रम्प कुमिंग्ससँग यसरी रिसाएका चाहिँ कुमिंग्सले मेक्सिकोसँगको सीमाक्षेत्रमा आप्रवासीहरुमाथि भएको व्यवहारको आलोचना गरेकाले हो । गत साता संसद् (कंग्रेस) मा बोल्दै कुमिंग्सले पक्राउ परेका आप्रवासी राख्ने हिरासत कक्षहरुको अवस्थाबारे कडा शब्दमा आलोचना गर्दै सीमा–सुविधामा सुधारको माग गरेका थिए ।



होमल्यान्ड सेक्युरिटी सेक्रेटरी एमसी अलिनानसँग त उनको चर्काचर्की नै परेको थियो । आप्रवासीहरुसँगको व्यवहारमा ट्रम्प प्रशासन संवेदनाहीन बनेको उनले आरोप लगाएका थिए । 

राष्ट्रपति ट्रम्पको ट्विटमाथि टिप्पणी गर्दै कंग्रेस सभामुख पेलोसीले ट्विटमै लेखेकी छिन्, ‘ती ट्विटहरु मिस्टर कुमिंग्स, जसको जिल्लाको आधाभन्दा बढी जनसंख्या अश्वेत छ, माथि ‘रंगभेदी आक्रमण’ थिए ।’

कुमिंग्स नागरिक अधिकार र आर्थिक न्यायका लागि कंग्रेस र देशकै च्याम्पियन रहेका भन्दै सभामुख पेलोसीले राष्ट्रपति ट्रम्पका ट्विटको आलोचना गरेकी छिन् ।

कुमिंग्सको बचाउ र ट्रम्पको आलोचनाका लागि डेमोक्रेटिक सांसदहरुले चलाएको अभियानको उनले नेतृत्व गरेकी छिन् । पेलोसी अमेरिकी कंग्रेसकी पहिलो महिला सभामुख हुन्, र अमेरिकामा अहिलेसम्म सबैभन्दा ठूलो पदमा चुनिएकी महिला पनि हुन् । 

  • प्रकाशित मिति : साउन १२, २०७६ आइतबार १७:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया