वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंककाे निर्देशन

काठमाडाैं– नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्याउन गरेको अनुरोधलाई नेपालका प्रायः सबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ ।   

साना किसान राष्ट्रिय महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गए पनि वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गर्ने, झन्झटिलो प्रक्रिया बनाइदिने र ढिलासुस्ती गरिदिनाले कृषि कर्जा सर्वसुलभ नभएको बताए ।    

राष्ट्र बैंकले मौद्रिक नीति साउन ८ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेस भएको एक महिनापछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । यसअघि जारी भएको मौद्रिक नीतिलाई निरन्तरता दिँदै राष्ट्र बैंकले कूल पुँजीको पुनः अनिवार्य १० प्रतिशत लगानी कृषि क्षेत्रमा पुर्याउन वाणिज्य बैंकहरूलाई मौद्रिक नीतिमार्फत निर्देशन दिएको छ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष २०५९/०६० देखि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिले सहुलियतपूर्ण कृषि कर्जा लिने ऋणीको सङ्ख्यामा भने उल्लेखनीय वृद्धि भएको जनाएको छ । असार मसान्तसम्म सो प्रकारको ऋण लिने किसानको संख्या १५ हजार ९ सय १६  छ भने उनीहरुसँग २९ अर्ब ३६ करोड कर्जा बक्यौता छ । 
  
नेपाल सरकारले कृषि कर्जामा पाँच प्रतिशत ब्याजमा अनुदान दिने व्यवस्था गरेको छ । यस वर्ष सहुलियतपूर्ण कर्जाका लागि सरकारले कुल एक अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको छ । 
    
कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ । १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशत मात्र थप गरी ऋणको ब्याज तोक्न पाउने, कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समयअगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था मौद्रिक नीतिले गरेको छ । 
  
साथै बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यस प्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने  व्यवस्था छ । 





  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १५:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया