प्रचण्ड युएई, ओली सिंगापुर जाने भएपछि नेकपा एकताका बाँकी काम अनिश्चित

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना विदेश यात्रामा जाने भएपछि नेकपामा देखिएका विवाद र बाँकी काम कहिले हुने भन्ने अनिश्चित भएको छ । 

सोमबार बसेको सचिवालय बैठकमा पनि लामो समयदेखि नेकपामा विवादमा देखिएको स्कुल विभागको कुनै निर्णय लागेको थिएन । 

त्यही बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दुबईको भ्रमणबारे जानकारी गराएका थिए । ‘यो नितान्त उहाँको पारिवारिक भ्रमण हो,’ प्रचण्डनिकट एक नेताले फरक धारसँग भने । 

प्रचण्ड आज (१४ साउन) पत्नी सीता, छोरी रेनु तथा नातिनातिनीसँग दुबईको भ्रमणमा निस्किने भएका हुन् । उनी १८ साउनमा नेपाल फर्किने कार्यक्रम तय भएको छ । 

अर्कोतिर, प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य फलो अपका लागि १८ साउनमा सिंगापुर जाने कार्यक्रम तय भएको छ । त्यसैले नेकपा सचिवालय बैठक अब कहिले बस्ने भन्ने निर्णय भएको छैन । 

‘सोमबार पनि यी विवादित विषयमा केही सल्लाह भएन,’ एक सचिवालय सदस्यले भने, ‘यसबारे अध्यक्षद्वयको विदेश भ्रमणबाट फर्किएपछि नै टुङ्गो लाग्छ ।’



‘यसले नेकपाका एकताका बाँकी काममा ठूलो क्षति पुगेको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्ष तथा अन्य नेताहरुको व्यक्तिगत स्वार्थ तथा अन्य कामहरुका कारण ढिलाइ भइरहेको एकताको कामले पार्टी पंक्तिमा ठूलो नोक्सान पुगेको छ तर पार्टी नेताहरु यसबारे गम्भीर भएका छैनन् ।’

नेकपाका ३३ विभागमध्ये पूर्वएमालेलाई १८ र पूर्वमाओवादीलाई १४ विभाग दिने सहमति भए पनि स्कुल विभागको कसले नेतृत्व गर्ने भन्ने सहमति हुन सकेको छैन । यो विभागका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ नाम बाहिर आएको थियो । तर, विवाद चकिँदै गएपछि घनश्याम भुसाल, डा. वेदुराम भुसाललगायतले पनि यो विभागमा दाबी प्रस्तुत गरेका थिए । विवाद उत्कर्षमा पुगेपछि नेकपामा यो विभाग अध्यक्षद्वयले नै राख्ने चर्चा पनि चल्यो । 



‘दुई अध्यक्ष तथा एकीकरण भइसकेका दुई पार्टीका आआफ्नै अडानका कारण अन्य विभागले पनि औपचारिक रुप पाउन सकेका छैनन्,’ ती केन्द्रीय सदस्यले भने, ‘यसले पार्टीमा झन् अन्योल उत्पन्न गराएको छ ।’ 

यसअघि दुई अध्यक्षले दुई पार्टीको एकीकरणका सम्पूर्ण काम असारअगाडि नै सकाउने दाबी गरेका थिए । तर, अहिलेको अवस्था हेर्दा नेकपा एकता प्रक्रिया थप लम्बिने संकेत देखिएको छ ।

  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १०:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया