जालमा परेर नारायणी र राप्ती नदीका नाै गाेही मरे

चितवन– गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । संकटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौवटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो । सात वटा राप्तीमा र दुईवटा नारायणी नदीमा जालमा परेर मरेका हुन् । जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन् । अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अघिल्लो आर्थिक वर्षको जेठ महिनामा नारायणी नदीमा जालमा परेर एउटा भाले गोही मरेको थियो । सो आर्थिक वर्षमा त्यही एउटा गोही मरेको भए पनि गत वर्ष धेरै गोही जालमा परेर मरेको हो । 

लुकिछिपी माछा मार्न जाल हान्नेले भलिबलको नेट जत्रो तिहारीजाल नदीमा माछा मार्न प्रयोग गर्ने गर्छन् । माछा र साना गोहीलाई तिनै मानिसले तानेर मार्ने वा छोड्ने गर्छन् भने ठूला गोहीले जाल तानेर लैजाने गर्छ । त्यही जालमा गोही बेरिने, मुखमा अड्किने गरेर खान नपाई गोही मर्ने गरेको खड्काको भनाइ छ । 

मानव सृष्टिभन्दा पहिले पृथ्वीमा आएको गोहीको पहिलो आहारा माछा हुने भए पनि पहिलो आहारा दूध भएको मानिसको अतिक्रमणका कारण गोही प्रभावित भएको खड्काको भनाइ छ । निकुञ्जले १०० हाराहारी निकुञ्जमा आश्रित जनतालाई हाते जाल प्रयोग गर्न लाइसेन्स दिएको भए पनि लुकिछिपी माछा मार्न तिहारी जाल हान्नेका कारण गोही मर्ने गरेका छन् । हाल दुई नदीमा गरी तीनवटा मात्र भाले गोही रहेको छ । 

अघिल्लो वर्ष एउटा भाले गोही मरेपछि बर्दियाबाट ल्याइएको थियो । प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४ सय ६५ वटा गोही छाडिसकिएको छ । जसमध्ये राप्तीमा मात्र ७ सय ८५ गोही छाडिएको छ । 



निकुञ्जका अनुसार नारायणी नदीमा ३ सय ९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा १ सय १० वटा गोही छाडिसकिएको छ । नदीमा गोही छाड्दै गए पनि संख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा १ सय १८ र नारायणीमा १ सय १ गोही रहेका छन् । 

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा साना बच्चाबाहेक ४ सय ६७ वटा गोही रहेका छन् । 



  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १५:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया