नेपालमा महिला रक्तदाताको संख्या जम्मा १६ प्रतिशत

काठमाडौं– नेपालमा अझै महिला रक्तदाताको संख्या न्यून रहेको छ।  ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन नसकेको हो ।

रक्तसञ्चार सेवा केन्द्रले आव २०७५–७६ मा ५५ हजार ९ सय ५३ युनिट रगत संकलन गरेकोमा ४६ हजार ४ सय ५ युनिट पुरुषको र नौ हजार ५ सय ४८ युनिट महिलाको थियो । संकलित कुल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो। 

केन्द्रका प्रमुख डा. मनिता राजकर्णिकार रक्तदानबारे महिलाको बुझाइमा सुधार हुँदै गएको बताउँछिन् । ‘सचेतनाका कार्यक्रम थप विस्तार गर्नुपर्छ,’ उनको सुझाब छ । देशभर संकलन गरेको रगत र रक्ततत्वमध्ये महिला रक्तदाताको संख्या १६ प्रतिशत पुगेको छ। नेपालभर दुई लाख ७१ हजार ९ सय २२ युनिट रगत संकलन गरी तीन लाख ४५ हजार १ सय ५१ रक्ततत्व वितरण भएको थियो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्र हाल ७३ जिल्लाका १ सय ८ स्थानमा छन् । संकलित रगतमा एचआइभी, हेपाटाइटिस बी, सी र सिफलिस जीवाणु भेटिने क्रम घट्दो रहेको केन्द्रले जनाएको छ । 

गत वर्ष संकलित रगतमध्ये १ सय १३मा एचआइभी, ७ सयमा हेपाटाइटिस बी, ४ सय २४मा सी र १ हजार २ सय २०मा सिफलिसका जीवाणु भेटिएको थियो । ‘रक्तसञ्चार सेवा केन्द्रबाट संकलन गरिएका सबै रगतमा ती जीवाणु भेटिने क्रम कम हुँदै गएको छ,’ प्रमुख डा. राजकर्णिकारले बताइन् । 

विसं २०२३ साउन १२ गतेदेखि केन्द्र सञ्चालनमा आएको हो । पहिलो वर्ष १ सय ५७ युनिट रगत संकलन भएको थियो । सुरुमा पेसेवर व्यक्तिबाट रगत संकलन गरी वितरण हुने गरेको थियो । विसं २०३९ देखि रगत किनबेच अन्त्य गरी स्वयंसेवी रक्तदाताबाट रगत संकलन कार्य हुँदै आएको छ ।



गोर्खा भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रको भवन पूर्ण क्षति भएपछि सोही स्थानमा अत्याधुनिक भवन निर्माण कार्य जारी छ । हाल बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार भवन र नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहाचलबाट सेवा प्रदान भइराखेको छ । 

रगतको बढ्दो मागलाई ध्यानमा दिई ठूला अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएका छन् । क्यान्सर, आकस्मिक दुर्घटना, प्रसूति तथा हेमोफिलियाका रोगीका लागि बढी रगत र रगतको तत्व आवश्यक पर्छ । 



  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १६:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया