रौनियारले पाइन् राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५

काठमाडौं– राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षा पत्रकारिता पुरस्कार २०७५ तथा लैंगिक समानता पत्रकारिता पुरस्कार’ वितरण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक दैनिकमा कार्यरत रौनियारलाई प्रदान गरेका हुन् । पुरस्कारको राशि ५१ हजार रहेको छ ।  

सो अवसरमा मन्त्री पोखरेलले पत्रकारिता शिक्षाको सीप र ज्ञान दुवै भएकाले तल्लो तहसम्म लैजानुपर्ने बताए । उनले शिक्षालाई रुपान्तरण गर्नका लागि अक्षरांकन (ग्रेडिङ) प्रणाली अपनाइएको भन्दै परीक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।

‘शिक्षा घोकन्ते भएको छ । तीन घण्टा घोकेर परीक्षामा लेखेर पास हुने प्रणाली अहिले रहेको छ’, उनले भने, ‘त्यसलाई अन्त्य गरेर सिकाइकेन्द्रित प्रणालीलाई विकास गर्नुपर्छ ।’ मन्त्री पोखरेलले चाँडै नै शिक्षा नीति ल्याई विद्यालय र प्राविधिक शिक्षासम्बन्धी विधेयक तथा उच्च शिक्षासम्बन्धी विधयेकलाई यही महिनाभित्र ल्याउने बताए । उनले शिक्षा मुलुकको जनशक्ति उत्पादन गर्ने क्षेत्र भएकाले गुणस्तरीय शिक्षामा सरकारको जोड रहेको धारणा राखे ।

कार्यक्रममा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शिक्षामा पत्रकारलाई कलम चलाउन हौसला प्रदान गर्न पुरस्कृत गर्न थालिएको बताए । महासंघका अध्यक्ष गोविन्द आचार्यले शिक्षाका क्षेत्रमा पत्रकारले अझ कलम चलाउनुपर्ने बताए । 

कार्यक्रममा मन्त्री पोखरेलले सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट एक÷एक जनालाई प्रदान गरिने रु २० हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिएको थियो । 

प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), प्रदेश नं २ बाट सन्तोष सिंह (जनकपुर), प्रदेश नं ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई प्रदान गरिएको थियो । 



यसैगरी, सात प्रदेश र उपत्यकालाई एक प्रदेश आठ प्रदेशबाट दुई–दुई जनालाई प्रदान गरिने १५ हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता समेत प्रदान गरिएको थियो ।  प्रदेश नं १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं २ बाट बृजलालप्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ), प्रदेश नं ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं)लाई पुरस्कृत गरिएको थियो । 

त्यसैगरी, संस्थागतको एफएमतर्फ २० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं) लाई प्रदान गरिएको थियो । 



संस्थागततर्फ छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई समेत २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको थियो । महासंघले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको छ । 

सोही अवसरमा महासंघ र मदरल्याण्ड नेपालको सहकार्यमा  प्रदान गर्दै आएको ‘लैंगिक समानता पत्रकारिता’ पुरस्कार सुजीतकुमार झा, जनकपुर (एभिन्युज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) लाई प्रदान गरिएको थियो । 

४० हजार राशि रहेको उक्त पुरस्कार लैंगिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार/आलेख प्रकाशन/प्रसारण गरेबापत प्रदान गरिएको थियो । 

  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १७:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया