विभिन्न हत्या तथा आत्महत्याबारे गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सांसदहरुले विभिन्न हत्या तथा आत्महत्याबारे गृहमन्त्री रामबहादुर थापासँग जवाफ माग गरेका छन् । 

उनीहरूले निर्मला पन्त हत्या प्रकरणदेखि ललिता निवास जग्गा प्रकरणका आरोपीको आत्महत्याको घटनाबारे गृहमन्त्री थापासँग जवाफ मागेका हुन् । समिति सदस्यहरुले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुको साथ विभिन्न घटनाबारे गृहमन्त्रीको जवाफ मागे ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफलका क्रममा बोल्दै नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायव सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । 

नौ तलामाथिबाट खसेको भनिएका श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र त्यसलाई आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताए । 

कँडेलको आशंकालाई ख०डन गर्दै नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले सो घटना आत्महत्या नै भएको आशयसहित दैनिक १० जना भ्रष्टाचारीले आत्महत्या गरेको सुन्न पाइयोस् भनेर आफ्नो धारणा राखे । 

समिति सदस्य डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री राम बहादुर थापाले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन् ।



त्यसैगरी समितिका सदस्य प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरी संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिनुपर्ने तर्क गरे ।
 
नेकपाका सांसद जनार्दन शर्माले नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका वेला विषयान्तर भएको भन्दै  आपत्ति जनाउँदै अर्को समीक्षात्मक बैठक बोलाउन सभापतिको ध्यानाकर्षण गराएका थिए ।
 
नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारबारेको छलफलमा गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुख पनि उपस्थित थिए । 



  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १७:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया