उपेन्द्र सुब्बासँग खीर सम्वादः खीर मेरो बेस्ट फुड हो !

काठमाडौं– केही वर्षअघि फिल्म ‘कबड्डी’ रिलिज भएपछि त्यसमा एउटा रोलमा देखिए, कवि उपेन्द्र सुब्बा । त्यो रोलमा उनी खेल्ने भन्ने कुरा पहिले निर्धारण गरिएको थिएन, ‘एक्सिडेन्टल’ थियो । 

तर, त्यही कुराले उनको चर्चा ह्वात्तै बढाइदियो । कतिसम्म भने उनलाई फिल्ममा देखिसकेपछि उनकै साथीहरुले पनि उनलाई कवि भन्न छाडेर ‘झाँक्री बा’ भन्न थाले ।

आज १५ साउनको दिन नेपाली समाजमा खीर खाने दिनका रुपमा चिनिन्छ । 

त्यो फिल्ममा उपेन्द्रले जे अभिनय गरेका थिए, त्यसमा पनि खीरको प्रसङ्ग छ । 

यही प्रसङ्ग निकालेर हामीले उनलाई सोध्यौँ, ‘आज त खीर खाने दिन, कत्तिको जिस्काइरहेका छन् त ?’

‘जिस्काएका छन्,’ उनले भने, ‘फोन गरेर, मेसेज गरेर, सामाजिक सन्जालमा ट्याग गरेर के के भनिरहेका छन् ।’



उनलाई आज सबैभन्दा पहिले उनकै ‘दोस्त’ तथा लेखक राजन मुकारुङले जिस्काए । मुकारुङले उपेन्द्रलाई मेसेज पठाएका रहेछन्, ‘आज त ह्याप्पी बर्थ डे रहेछ नि !’

केही पहिलेसम्म उपेन्द्रलाई खीरको प्रसङ्गमा जोडेर जिस्काउँदा निकै रिस उठ्थ्यो । तर, अब उनले यसलाई पचाउन थालिसकेका छन् ।



‘अब त मैले सबैलाई हाँसेर नै रिप्लाई गर्न थालेको छु,’ उनले भने, ‘पहिले रिस उठ्थ्यो, अहिले रिस उठ्न छाडेको छ ।’

तर, यो प्रसङ्गमा रिस नउठे पनि उनलाई आज चाहिँ खीर खान कसैले नबोलाएको चाहिँ ‘झोँक’ चल्यो ।

किन ?

किनकि उपेन्द्र सुब्बालाई खीर असाध्यै मन पर्छ । ‘मेरो त बेस्ट फुड नै हो खीर,’ उनले भने, ‘शाकाहारी भएकाले पनि होला, खीर औधी मन पर्छ ।’ अनि उनले थपे, ‘खाजा खाऔँ न त भन्दा खीरकै कल्पना गरिहाल्छु ।’

तर, खीर खाएर सानैदेखि हुर्किएका होइनन् उपेन्द्र सुब्बा । उनले त दस कक्षामा पुग्दासम्म धित मर्ने गरि खीर खान पाएका थिएनन् । अनि त्यसमा लोभिए । 

‘लिम्बु समुदायमा खासै खीर खाइँदैन,’ उनले भने, ‘खीर मात्र होइन, गुलियो कुरा पनि खासै लिम्बु समुदायमा खाइँदैन, त्यसैले सानोमा त मैले चाखेकै थिइनँ ।’

एसएलसीको परीक्षाअगाडि ट्युसन पढ्न उपेन्द्र सुब्बा इलाम झरे । इलाममा उनीसँगै गएका थिए, एकजना साथी । कटुवाल थरका ती साथीले उपेन्द्रलाई एक दिन आफ्नो मामाको घरमा लगे, मामा घरमा पूजा चल्दै थियो । 

‘मंसिरको महिना जस्तो लाग्छ,’ उपेन्द्रले सम्झिन प्रयास गरे, ‘टन्नै खीर खान्छु भनेर हौसिएको थिएँ, तर त्यहाँ गएपछि खानै सकिनँ ।’

खासमा त्यहाँ खीर निकै गुलियो थियो । उपेन्द्रले चार पाँच चम्चा भन्दा धेरै खानै सकेनन् ।

‘त्यो त निकै गुलियो थियो हौ,’ आफ्नै लवजमा यति भनिसकेपछि उपेन्द्र हाँसे, ‘मलाई बानी परेको थिएन, मैले राम्रोसँग खानै सकिनँ ।’

तर, अहिलेको अवस्था त्यति बेलाको जस्तो छैन । ‘अहिले त म एक थाल खीर खान सक्छु,’ उपेन्द्र सुब्बाले भने, ‘अहिले मलाई खीर निकै मीठो लाग्छ ।’

अनि के आज उपेन्द्र सुब्बाले खीर खाए त ? 

‘आज विहानै खाइयो नि हो,’ उनी हाँसे, ‘मेरी घरवालीले आज विहानै खीर पकाएकी थिइ, मीठो मानेर खाइयो ।’

खीरको प्रसङ्गलाई थोरै छेउमा राखेर हामीले सोध्यौँ– तर, के उपेन्द्र फेरि पनि त्यही फिल्ममा जस्तो रोल पाएमा गर्न तयार छन् त ? 

उपेन्द्र एकपटक हाँसे । अनि भने, ‘मेरो त्यो अभिनय देखेपछि साथीहरुले अरु फिल्ममा पनि काम गर्ने प्रस्ताव ल्याएका थिए । तर, अभिनय मेरो रहर होइन, म अभिनय गर्न सक्छु भन्ने पनि लाग्दैन । आफूले नसक्ने क्षेत्रमा हात नहालेकै राम्रो ।’

  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार १७:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया