Tue, 20 Aug, 2019


#farakक्षमता
#farakक्षमता: जसले शरीर नचले पनि 'बिजनेस' चलाएका छन्
फरकधार / साउन १७, २०७६

पाल्पाका कृष्ण खड्का काम गर्न मलेसिया पुगेका थिएनन् भने सायद उनको जीवनको ‘कथा’ यसरी लेखिने थिएन । 



तर, घरको आर्थिक अवस्था सुधार गर्न मलेसिया पुगेका कृष्णको जीवन कल्पना नगरिएको एउटा घटनाले मोडिदियो । 

पाल्पाको मध्यमस्तरीय परिवारमा जन्मिए, कृष्ण । उनी पाल्पामा नै हुर्किए, बढे, पढे । ११ कक्षामा कृष्ण पुग्दा उनका बाबुले यो संसार छोडे । 

बाबुले संसार छाडेपछि घरको जिम्मेवारीको केही भाग कृष्णको थाप्लोमा थपियो । उनी १७ वर्षका मात्र थिए । ११ कक्षाको पढाइलाई बीचमै छोडेर उनी मलेसिया हानिए । 

‘पढ्न चाहेर पनि पढ्न पाउने वातावरण भएन,’ अहिले खगेन्द्र नवजीवन केन्द्रमा दिनहरु बिताइरहेका कृष्ण भन्छन्, ‘मलेसिया गएर घरलाई आर्थिक रुपमा सबल बनाउने सपना देखेको थिएँ, त्यहीअनुसार अगाडि बढेँ ।’

त्यसो त कृष्णका दाइहरु पनि थिए, उनीहरु पनि विदेश जाने तरखरमा थिए । कृष्ण त्यही समूहमा मिसिए, उनका सबै दाजुभाइ विदेश जाने भए । 

सोचेजस्तै मलेसियामा कृष्णले ‘सहज’ काम पाए । ‘पैसा पनि राम्रो थियो, कम्पनी राम्रो परेको थियो,’ कृष्णले मलेसियाका ती दिन सम्झिए । 

केही वर्ष त्यहाँको एउटा कम्पनीमा काम गर्दा कृष्णले आफ्नो क्षमता पनि बढाइरहे । उनको अंग्रेजी राम्रो हुन थाल्यो । एकदिन कम्पनीको म्यानेजरले कृष्णलाई बोलाएर भने– हामी तिमीलाई प्रमोसन गर्दै छौँ । 

अब कृष्ण काम गर्न पुगेको त्यही कम्पनीको सुपरभाइजर भएर काम गर्न सक्ने भए । यसका लागि उनको शारीरिक मिहनेत नपर्ने भयो । 

‘काम झन् सजिलो भयो,’ कृष्णले भने, ‘तर, शरीर पनि बढ्न थाल्यो, पेट पुट्ट बाहिर निस्कियो ।’

२० वर्षमै पेट पुट्ट बाहिर निस्किएको मन परेन कृष्णलाई । अनि ‘जिम’ गर्न थाले उनले, शरीर बनाउन । 

एक दिन जिम गरिरहेका थिए, कृष्ण । उनी खुट्टाका मसल्स बलियो बनाउन चाहन्थे, एउटा रडमा खुट्टा अड्काएर तल माथि गरिरहेका थिए, टाउको झुन्डिएको अवस्थामा थियो ।

अचानक खुट्टा अड्काएको रडबाट उनको खुट्टा चिप्लियो । उनी लडे । 

लड्दा उनको घाँटीको पछाडिको भाग जमिनमा ठोक्कियो । त्यसपछि त न उनी हलचल गर्न सके, न के भएको हो भन्ने ठ्याक्कै महसुस गर्न सके । 

साथीहरुलाई गुहारे, कृष्णले । साथीहरुले उनलाई अस्पताल पुर्याए । 

अस्पतालमा पुग्दा सम्म चेत गुमाइसकेका थिएनन्, कृष्णले । अस्पतालमा पुगेपछि चिकित्सकले उनको हातमा भएको ब्रेसलेट खोल्न भने । 

‘त्यसपछि के भयो, मलाई नै याद छैन,’ कृष्णले भने, ‘पछि म ब्यूँझदा ३ महिना भइसकेको रहेछ ।’

तीन महिना मलेसियाको एउटा अस्पतालको शैय्यामा कोमामा बिताए, कृष्णले । उनी ब्यूँझिएपछि पनि आठ महिना मलेसियाको अस्पतालमा नै बस्नु पर्ने भयो । ‘मैले पहिलो पटक थाहा पाउँदा मेरो शरीरभर घाउ नै घाउ थियो,’ खगेन्द्र नवजीवन केन्द्रमा बसिरहेका कृष्णले मलेसियाको त्यो अस्पताल सम्झिए, ‘कम्पनीले हेरचाहका लागि एक जना कर्मचारी दिउको थियो । तर, त्यहाँ मेरा आफन्त कोही थिएनन् ।’

परदेशी भूमिमा अस्पतालमा बस्दाको पीडा कृष्णले महसुस गरे । 

११ महिनापछि घाइते भएको आफ्नो भाइलाई लिन पुगे कृष्णका माहिला दाजु । उनी कामको सिलसिलामा दक्षिण कोरिया पुगेका थिए । ‘मेरो दुर्घटना भएको थाहा पाएपछि उहाँ नेपाल आएर सबै तारतम्य मिलाउनु भएछ अनि लिन आउनु भयो,’ कृष्णले भने, ‘सन् २०११ को अन्त्यतिर म घाँटीभन्दा तल चल्दै नचल्ने शरीर लिएर त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेँ ।’

विमानस्थलबाट कृष्णलाई सोझै अस्पतालमा लगियो । तर, काठमाडौंको अस्पतालमा उनको हेरचाह गरिदिने कोही भएन । अनि पैसा पनि खर्चिलो हुँदै गयो । त्यसपछि कृष्ण गए, पाल्पाकै अस्पताल । पाल्पामा उनलाई भेट्न उनका प्रायः सबै आफन्त र नातेदार आए । 

सुरुसुरुमा त यो सबले कृष्णको आत्मबल थपिरहेको थियो । तर, जब उनलाई हेरचाह गरिरहेका दाइलाई पनि समस्या हुन थाल्यो, कृष्णले नै प्रस्ताव राखे– दाइ, मलाई त्यस्तो ठाउँमा लगिदिनू जहाँ मजस्तै अरु पनि छन् । 

त्यसपछि नै खगेन्द्र नवजीवन केन्द्रमा आइपुगेका हुन्, कृष्ण । 

तर, केन्द्रको सुरुवाती बसाइ कृष्णका लागि खासै उपयोगी भएन । उनको शरीरमा घाउहरु फेरि बल्झिन थाले । 

‘त्यसको उपचार गर्न फेरि भारत जानु पर्ने भयो,’ उनले भने, ‘उपचार गरेर फर्किएपछि फेरि म यहाँ (नवजीवन केन्द्र)मा नै आएँ ।’  

त्यति बेला नवजीवन केन्द्रमा बस्दा उनले मासिक ६ हजार तिर्नु पर्ने हुन्थ्यो । उनका लागि लाग्ने यो पैसा घरले उपलब्ध गराइरहेको थियो । 

‘तर, कति घरको मात्र आस गर्नु ?’ उनले भने, ‘घरलाई बोझ दिन मन लागेन मलाई । यहाँ नै केही गरौँ भन्ने लागिरह्यो ।’

उनी केही गर्ने सोचमा थिए । एक दिन नवजीवन केन्द्रमा दुई बेलायती नागरिक आइपुगे । कृष्णको ती दुईजना सँग लामो कुराकानी भयो । उनीहरुले कृष्णको औषधि र बसोबासका लागि चाहिने खर्च ब्यहोरिदिने भए ।

‘माइकल र पावलाले मलाई सहयोग गर्ने हुनुभयो,’ उनले भने, ‘त्यसले मेरो जीवनलाई निकै सहज बनाइदियो ।’

हो, कृष्णको घाँटीभन्दा तल शरीर चल्दैन, तर उनको सोचको क्षितिज निकै फराकिलो छ । शरीर नचल्दैमा कसैले केही गर्न सक्दैन भन्नेहरुका लागि कृष्ण त्यसैले पनि गतिलो जवाफ हुन् । त्यसो त कसैकसैले उनलाई वैज्ञानिक स्टिफन हकिङ्ससँग पनि तुलना गर्छन् । 

‘अरुको सहयोगमा होइन, आफ्नो जीवन आफैं अगाडि बढाउन मन भयो,’ कृष्णले भने, ‘त्यसपछि हामीले यहाँ मैनवत्ती बनाउन सुरु गर्यौँ ।’

कृष्णको शरीर चल्दैनथ्यो, त्यसैले उनी योजना बनाउनमा केन्द्रित भए । नवजीवनमा नै भएका उनका अरु साथीहरुले काम गर्न थाले । त्यसो त कृष्ण संगठन बनाउने, क्लब बनाउने र आफ्ना दौँतरीहरुलाई एकिकृत गर्नमा अगाडि नै थिए । ‘सानैदेखि गाउँमा यस्ता कामहरु चाहिँ हामी गरिरहेका हुन्थ्यौँ,’ कृष्णले भने । 

तर, कृष्णको मैनवत्ती बनाउने योजना चाहिँ सफल हुन सकेन । काठमाडौंमा र नेपालमा भइरहेको लोडसेडिङ अन्त्य हुने घोषणा भयो । काठमाडौं २४ सै घन्टा उज्यालो हुने भयो, कृष्णको मैनवत्ती उत्पादन गर्ने योजनामा कालो बादल लाग्यो ।

कृष्णकाे समूहले बनाएका यस्ता उत्पादनमा बजारमा बेचिन्छन् ।

मैनवत्तीको उज्यालो छर्न नपाउँदा पनि कृष्णलाई देश उज्यालो हुँदै छ भन्ने कुराले खुसी दिएको थियो । उनी खुसी भए । ‘त्यसपछि हामीले अरु केही गरौँ न भन्ने सोच्न थाल्यौँ,’ कृष्णले भने । 

कृष्णले नवजीवन केन्द्रमा भएका अरु साथीहरुसँग सल्लाह गर्न थाले । अनि उनीहरुले निष्कर्ष निकाले, ‘किरिङ, ब्रासलेट, फूललगायतका सामग्री बनाउने, बाहिर बेच्ने ।’

यसरी नवजीवन केन्द्रका साथीहरु काममा लाग्दा आफूहरुलाई निकै फाइदा पुगेको मान्छन्, कृष्ण । 

यसका तीन कारण उनले बुझेका छन् । 

पहिलो, काममा लागेका साथीहरुले काममा नै ध्यान दिन पाउँछन्, उनीहरु नकारात्मक सोच्नबाट बाहिर निस्कन्छन् । 

दोस्रो, यो कामबाट आर्जन हुने पैसाले उनीहरुले जीवन धान्न पाउँछन् । 

र, तेस्रो, अपाङ्गता हुँदाहुँदै पनि उनीहरुले आफ्नो जीवन अरुको फाइदाका लागि पनि उपयोग गर्न पाउँछन् ।

यीनै तिन कारणको उपज हो, अहिले नवजीवन केन्द्रमा उत्पादन भइरहेका ब्रासलेट, किरिङ र अन्य सामाग्रीहरु । 

हो, उनीहरुको उत्पादनले बजारको ठूलो हिस्सा ओगटेको छैन । तर, अपाङ्गता भएका केही व्यक्तिले आफ्नो जीवन धान्नका लागि बनाएका यी उत्पादनहरुले आत्मबल थपेको छ, उनीहरुमा र हाम्रो समाजमा । 

त्यसैले त जो कोही पनि जब नवजीवन केन्द्रमा पुग्छन्– उनीहरु दंग परेर फर्किन्छन् ।

यो सबबाट भएको आम्दानी चाहिँ कृष्ण र उनका साथीहरुले समाजसेवमा खर्चिने सोच बनाएका छन् । अझ अपाङ्गता भएका नै व्यक्तिहरुलाई सहयोग गर्नु उनीहरुको प्राथमिकतामा पर्छ । त्यसैले यी सामानहरुबाट आएको पैसाले उनीहरुले यसअघि बिग्रिएका ह्विलचेयर बनाएका छन्, नवजीवन केन्द्रमा नै बिग्रिएका बल्बहरु फेरेका छन् । केन्द्रभित्र कपाल काट्ने मेसिन ल्याएका छन्, अन्य उपकरणहरु पनि जोडिरहेका छन् । 

यही सामानको उत्पादनबाट आएको पैसाले कृष्णहरुले केही समयअघि राम्रो साउन्ड सिस्टम पनि किने ।

‘गीत र संगीतले जीवनलाई अझ ऊर्जाशील बनाउँछ,’ कृष्णले भने, ‘म्युजिक त थेरापी पनि त हो ।’

कृष्णको शरीर चल्दैन तर उनको आशावादी मन चल्न छाड्दैन । उनलाई त अहिले आफ्नो शरीर नचले पनि अरुका लागि यो जीवनको उपयोग गर्नुपर्छ भन्ने लाग्छ ।

‘म अरुका कारण बाँचे,’ कृष्णले लामो सास फेरे, ‘अब म अरुका लागि बाँच्नुपर्छ ।’

त्यसको लागि उनले आफ्नो बाटो बनाउने पनि तय गरिसकेका छन् । उनी ‘मोटिभेसनल स्पिकर’ बन्न चाहन्छन् । 

‘म अहिले अध्ययन गरिरहेको छु,’ उनले भने, ‘भोलि म ती व्यक्तिहरुका लागि बोल्न चाहन्छु जो आफू बोल्न सक्दैनन्, आफूभित्रको प्रतिभा चिन्न सक्दैनन् ।’

यही तयारीका लागि कृष्णले अहिल आइप्याडको साहरामा पढिरहेका छन्– फ्रेन्च र स्पेनिस भाषा । यसमा उनलाई सहयोग गर्न उनले टाउकोमा एउटा हेलमेट हुन्छ जसबाट आइप्याडको स्क्रिनमा सानो एन्टेनाले छुन्छ र त्यसलाई उनी अरुहरुले औंला प्र्रयोग गरेजसरी आइप्याडको स्क्रिनमा प्रयोग गर्छन् ।

कुनै दिन एउटा ठूलो स्टेजमा टाउकोको सहयोगमा चल्ने ह्विलचेयर लिएर कृष्ण भन्न चाहन्छन्– हरेस नखाऔँ, जीवन सुन्दर छ ।

पाल्पाबाट पैसा कमाउन मलेसिया पुगेको एउटा युवा जसको शरीर नै चल्दैन, उसमा देखिएको जीवनप्रतिको यो आशा र विश्वासले त्यति बेला पूरै हल स्तब्ध हुनेछ, निःशब्द हुने छ । र, जीवनलाई सूवर्ण मानिरहेका कृष्णका लागि बज्नेछ, हल गुन्जने गरि ताली !


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्