‘अवैध’ र्यालीको केही घन्टाअघि रुसकी प्रतिपक्षी नेत्री गिरफ्तार

मस्को– एक ‘अवैध’ र्यालीको तयारी गरिरहेकी रुसकी प्रतिपक्षी नेत्री ल्युबोभ सोबोल पक्राउ परेकी छिन् । अधिकारीहरुले थुप्रै ‘चर्चित’ प्रतिपक्षी नेताहरुलाई आगामी महिना हुने स्थानीय चुनावमा उम्मेदवार बन्न ‘अयोग्य’ ठहर्याएपछि प्रतिपक्षी दलले सुरु गरेको प्रदर्शनको नेतृत्व सोबोलले गरिरहेकी छिन् । उनी स्वयं अयोग्य ठहरिनेमध्येकी एक हुन् । 

यसैबीच, नेत्री सोबोल राजधानी मस्कोमा गर्न लागिएको विशाल विरोध र्यालीको तयारीमा थिइन् । र्यालीको केही घन्टाअघि सोबोललाई प्रहरीले मस्कोको सडकबाट गिरफ्तार गरेको हो । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार, सोबोललाई प्रहरी अधिकारीले ट्याक्सीबाट थुतेर कालो भ्यानमा राखी स्टेसनतर्फ हुइँक्याएका थिए । 

प्रशासनको अनुमतिबेगर हुन लागेको र्यालीमा सहभागी हुन देशका विभिन्न भागबाट प्रदर्शनकारीहरु राजधानी मस्कोमा भेला भइरहेका छन् । 

अधिवक्ता तथा भिडियो ब्लगर नेत्री सोबोल केही हप्तादेखि अनशनमा छिन् । शनिबार साँझको र्यालीमा सहभागी हुन उनले सबैलाई आह्वान गरेकी छिन् । 

गत साता भएको प्रदर्शनबाट प्रहरीले १४०० भन्दा बढीलाई पक्राउ गरी हिरासतमा राखेकोे थियो । गत महिना पक्राउ परेका १,००० भन्दा बढी प्रदर्शनकारी पनि अझै हिरासतमै छन् । जारी प्रदर्शनमाथि प्रहरीले फौजदारी अनुसन्धान सुरु गरेको छ । 

प्रदर्शनकारीहरु आफ्ना नेतालाई राजनीतिक कारणले चुनाव लड्नबाट वञ्चित गराइएको बताउँछन् । 



भारी संख्यामा भएका पक्राउ र र्यालीमाथिको प्रतिबन्धका बाबजुद हजारौँ प्रदर्शनकारी र्यालीमा सहभागी हुने अनुमान छ । प्रशासनको चर्को दबाबका बीच पनि फेसबुकमा ६ हजारभन्दा बढीले ‘निर्वाचनको अधिकार फर्काउन’ र्यालीमा सहभागी हुने बताएका छन् ।



  • प्रकाशित मिति : साउन १८, २०७६ शनिबार १८:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया