हङकङ प्रदर्शन नवाैँ सातामा– किन भयाे प्रदर्शन ? कहिले होला अन्त्य ?

हङकङ– प्रहरीसँगको बढ्दो तनावका बीच हङकङमा आज पनि हजारौँ प्रदर्शनकारीले र्याली गरे । प्रदर्शनको नवौँ सप्ताहन्तमा मङ कक जिल्लामा भेला भएका प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै मार्चपास गरे । 

विपक्षी समूहहरुले आइतबारका लागि अझै बृहत् प्रदर्शनको तयारी गरेका छन् भने सोमबार सहरभर हड्ताल गर्न आह्वान गरेका छन् ।

दुई महिनाअघि विवादास्पद सुपुर्दगी विधेयकलाई लिएर सुरु भएको प्रदर्शन विभिन्न मुद्दामा केन्द्रित हुँदै आजसम्म चलिरहेको छ । पछिल्लो समय प्रदर्शनकारी र प्रहरीबीच तनाव बढिरहेको छ । प्रदर्शनकारीहरु प्रहरीकै विरुद्ध नाराबाजी गरिरहेका छन् । केही प्रदर्शनकारी अहिले हङकङकी नेत्री (प्रशासकीय प्रमुख) केरी लेमको राजीनामा माग्न थालेका छन् । उनीहरु अझै ‘विस्तृत प्रजातन्त्र’को माग गरिरहेका छन् । 

कसरी सुरु भयो प्रदर्शन ? 

नौ साताअघि हङकङ प्रशासनले सुपुर्दगीसम्बन्धी एउटा विधेयक संसद्मा दर्ता गरायो । प्रस्तावित सुपुर्दगी विधेयकमा हङकङमा रहेका सन्दिग्ध अपराधीलाई सुनुवाइका लागि चीन, मकाउ र ताइवानमा सुपुर्दगी गर्न सकिने व्यवस्था थियो ।

विधेयक पारित भएर कानुन बनेको भए चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारको आरोप लागेका आफ्ना नागरिक या आफ्नो क्षेत्रमा अपराध गरी हङकङ भागेका आरोपीलाई सुपुदर्गी गर्न आग्रह गर्न सक्ने थिए । उनीहरूलाई सुपुर्दगी गर्ने या नगर्नेबारे मुद्दाको प्रकृतिअनुसार हङकङकै अदालतले निर्णय गर्ने विधेयकमा उल्लेख थियो । 



केही समयअघि हङकङका १९ वर्षीय युवक गर्भवती प्रेमिकाको ताइवानमा हत्या गरेर फर्केपछि उक्त विधेयक ल्याइएको थियो । ताइवानका अधिकारीले ती युवकलाई आफ्नो देशमा फिर्ता गर्न हङकङसँग आग्रह गरे पनि सुपुदर्गी कानुनको अभावमा हङकङले फिर्ता गर्न सकेको थिएन । 

विधेयकको ‘हङकङबाट अनुसन्धानका लागि मूलभूमि चीन सुपुर्दगी गर्न मिल्ने’ व्यवस्थाले हङकङवासीलाई नराम्ररी झस्कायो । विधेयकको विरोधमा दशौँ हजार हङकङवासी सडकमा उत्रिए । चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा प्रतिस्पर्धीलाई तह लगाउन यस्तो प्रावधान ल्याउन लगाएको भन्दै हङकङका प्राध्यापक, पत्रकार, विद्यार्थी, व्यापारी तथा पेसाकर्मीसमेत सडकमा ओर्लिए । 



मकाउ र ताइवानमा हुने सुपुर्दगीमा भने उनीहरुको खासै चासो थिएन । 

अधिकारीहरुले भने विधेयक हङकङको स्थिरता र न्यायव्यवस्थाका लागि आवश्यक भएको बताइरहे । राजनीतिक तथा धार्मिक मुद्दाका आरोपीलाई चीनमा सुपुर्दगी गर्नबाट विधेयकले रोक्ने उनीहरुको दाबी थियो ।

सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने भएकाले विधेयकदेखि नतर्सन उनीहरुले पटक–पटक आग्रह गरे । राजनीतिक तथा धार्मिक अपराधमा संलग्नलाई सुपुर्दगी नगरिने भन्दै आश्वस्त पार्न खोजे । तर, जनताको बढ्दो शंका र आक्रोशबीच प्रशासनको केही जोर चलेन । हप्तौँको प्रदर्शनपछि गहिरिँदै गएको संकटलाई मध्यनजर गर्दै नेत्री केरी लेमले संसद्मा छलफलमा रहेको सुपुर्दगी विधेयक निलम्बन गरिन् । 

विधेयक निलम्बनपछि प्रदर्शन रोकिने अपेक्षा गरिएको थियो । तर, विपक्षीहरुले विधेयक पूर्णरुपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शन जारी राखे । 

एन्टी–चाइना सेन्टिमेन्ट

हङकङ चीनको अधिनमा रहेको स्वशासित क्षेत्र हो । १५५ वर्ष बेलायती उपनिवेशमा रहेको यो क्षेत्र सन् १९९७ मा बेलायतले चीनलाई सुम्पिएको थियो । ११०४ वर्गकिलोमिटर क्षेत्रफलको यो सानो, सुन्दर सहरमा ७४ लाख जनता बस्छन् । हङकङ विश्वकै धैरे जनघनत्व हुने सहरमध्येमा पर्छ । 

हङकङमा प्रजातान्त्रिक प्रशासन छ । यहाँका जनताले मूलभूमि चीनका जनताले भन्दा निकै बढी स्वतन्त्रताको अभ्यास गर्छन् । तर, उनीहरुले चाहेजस्तो पूर्ण स्वतन्त्रताको अनुभूति भने गर्न पाएका छैनन् । यहाँका जनता बेलाबखत भइरहने चिनियाँ हस्तक्षेपबाट मुक्त हुन चाहन्छन् । खासमा, हङकङमा एकखाले 'एन्टी–चाइना सेन्टिमेन्ट'ले गहिराे जरा गाडेकाे छ । 

हङकङका पूर्ण–प्रजातन्त्रवादीहरु उनीहरुप्रति चीनको नियत ठीक देख्दैनन् । त्यसैले पनि चीन सुपुर्दगीको व्यवस्थादेखि उनीहरु सशंकित बनेका हुन् । चीनले आफूविरुद्ध आवाज उठाउनेलाई तह लगाउन यो विधेयकको उनुचित प्रयोग गर्न सक्ने उनीहरुको धारणा छ । 

बदलिँदाे मुद्दा, एकसमान प्रदर्शन

विधेयक निलम्बनको सातादिनपछि बीचमा केही समय प्रदर्शन मत्थर भयो । तर, बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठका अवसरमा कार्यक्रम गर्न उत्रिएका प्रदर्शनकारीले हङकङको संसद् भवनभित्र पसेर तोडफोड गरेपछि स्थिति फेरि तनावपूर्ण बन्यो । उनीहरु समारोहका लागि भेला भएका भए पनि भिडबाट विवादित सुपुर्दगी विधेयकको विरोध सुरु भएपछि प्रदर्शन नियन्त्रणबाहिर गएको थियो । 

त्यसयता, हङकङमा विभिन्न मुद्दामा प्रदर्शन चलिरहेकै छ । दुई साताअघि प्रदर्शनकारीमाथि एक हतियारधारी समूहले आक्रमण गर्यो । त्यही आक्रमणको विरोधमा गत शनिबारदेखि प्रदर्शन चर्कियो, जुन आजसम्म चलिरहेकै छ । 

प्रतिबन्धका बीच प्रदर्शन

पछिल्लो प्रदर्शन प्रहरीले लगाएको प्रतिबन्धका बीच चलिरहेको छ । यसअघि, हङकङ प्रशासनले निःशस्त्र प्रदर्शनको अनुमति दिने गर्थ्यो । गत साताको आक्रमणपछि भने सुरक्षासम्बन्धी कारण देखाउँदै प्रशासनले सडक प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।

हङकङमा प्रदर्शनमा रोक लगाइएको यो दुर्लभ घटना हो । यद्यपि, प्रशासनले एउटा गार्डेनभित्र भेला भएर प्रदर्शन गर्न भने अनुमति दिँदै आएको छ । तर, प्रदर्शनकारीले हरेक दिन गार्डेनबाहिर निस्केर मुख्य सडक तथा व्यापारिक केन्द्र बन्द गर्दै आएका छन् । प्रहरीले पेपर स्प्रे तथा अश्रुग्यास प्रहार गर्ने गरेको छ । यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक हिंसात्मक झडप भएका छन् । 

प्रदर्शनकारीहरु सुरक्षा तयारीका साथ प्रदर्शनमा निस्कने गरेका छन् । प्रहरीले हान्ने पानीको फोहरा, अश्रुग्यास र पेपर स्प्रे (खुर्सानीको धुलो) बाट बच्च उनीहरु मुखमा मास्क, आँखामा ‘प्लास्टिक मास्क’ लगाउँछन् । लाठीचार्जबाट जोगिन कतिपय प्रदर्शनकारी हेलमेटसहितको प्रोटेक्टिभ ड्रेस लगाएर आउँछन् । घामपानीबाट जोगिन सुरुदेखि नै अधिकांश प्रदर्शनकारी छाता ओढेर प्रदर्शनमा उत्रिने गरेका छन् ।

कहिले हाेला अन्त्य ?

२२ वर्षअघि बेलायतले चीनलाई सुम्पिएयता हङकङ सबैभन्दा ठूलो राजनीतिक संकटको स्थितिबाट गुज्रिरहेको छ । विधेयकको विरोधबाट सुरु भएको प्रदर्शन पछिल्लो समय प्रहरी प्रशासनको विरुद्धमा केन्द्रित छ । प्रतिबन्ध तोड्दै भएको प्रदर्शन दबाउन प्रहरी लागिपरेको छ भने प्रहरीसँग रुष्ट प्रदर्शनकारी भिडन्तमा उत्रिन थालेका छन् । 

गत साता भएको आक्रमणमा स‌ंलग्न हतियारधारीसँग प्रहरीको भित्र–भित्रै मिलेमतो रहेको प्रदर्शनकारीको आरोप छ । प्रहरी र प्रशासनमा भ्रष्टाचार मौलाएको र हङकङमा न्याय मरेको भन्दै उनीहरु नाराबाजी गरिरहेका छन् । प्रहरीले भने आरोप अस्वीकार गर्दै आएको छ । यसले प्रशासन र प्रदर्शनकारीबीचको दुरी झन् बढाउँदै लगेको छ । 

गएको आइतबार हङकङ प्रदर्शनबारे चीनले मुख खोल्यो । हङकङमा आठ सातादेखि चलिरहेको प्रदर्शनको बेइजिङले निन्दा गर्यो । यो प्रदर्शनलाई ‘कानुनी शासनमाथिको गम्भीर विनाश’ भन्दै उसले चेतावनी जारी गर्यो । हङकङमा बढ्दो तनावलाई लिएर बेइजिङपछि चिनियाँ सेनाले पनि ‘गम्भीर चेतावनी’ जारी गरेको छ । त्यसयताको प्रदर्शन हेर्दा चीनको प्रतिक्रियाले प्रदर्शनकारीलाई थप आक्रोशमा ल्याएको अनुमान गर्न सकिन्छ ।  

एक सातादेखि प्रशासनले लगाएको प्रतिबन्धका बाबजुद प्रदर्शनकारीहरु झन् उग्र रुपमा प्रस्तुत भइरहेका छन् । प्रहरीले धरपकड बढाएको छ । 

बेइजिङले प्रदर्शनको निन्दा गर्दै चेतावनी जारी गरेसँगै हङकङ प्रशासनलाई प्रदर्शन दबाउन दबाब बढेको छ । उता, चिनियाँ हस्तक्षेपको संकेतले भड्किएका प्रदर्शनकारीहरु हड्तालजस्ता झनै उग्र विरोधका कार्यक्रम बनाइरहेका छन् । दुवै पक्षको झन्–झन् दरिँदै गएको अडानलाई हेर्दा प्रदर्शन अन्त्य हुने कुनै संकेत देखिन्न । 


  • प्रकाशित मिति : साउन १८, २०७६ शनिबार २१:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया