अमेरिकी हतियारमाेह : जनताभन्दा धेरै ‘जनताले बोक्ने’ बन्दुक !

वासिंगटन– अमेरिकामा गएको २४ घन्टाभित्र भएका दुई छुट्टाछुट्टै बन्दुक आक्रमणमा २९ जनाभन्दा बढीले ज्यान गुमाए । दर्जनौँ घाइते छन् ।

अमेरिकामा सार्वजनिक स्ठानमा हुने अन्धाधुन्ध गाेली प्रहारका यी नौला घटना होइनन् । हरेक साल कुनै न कुनै सहरमा यस्ता घटना भइरहेकै छन् । त्यसमाथि, सबैजसो घटनामा संलग्न आक्रमणकारी कुनै आतंककारी नभई वैधानिक बन्दुकधारी हुन् । कुनै बन्दुकधारीलाई सनक चढ्दा दर्जनौँ निर्दोष, निहत्थाले अनाहकमा ज्यान गुमाउनु यहाँको नियतिजस्तै बनेको छ ।

आज दुनियाँ हतियारको होडमा छ । शक्तिराष्ट्रहरु नयाँ–नयाँ महाविनाशक अस्त्रशस्त्र बनाउन सक्नुमै आफ्नो सर्वोच्च सफलता देखिरहेका छन् । राज्यले सञ्चय गर्ने शक्तिसँग जोडिएका हतियार त भइहाले, पश्चिमा मुलुकमा हतियारको अर्को धङधङी छ, त्यो हो– व्यक्ति–व्यक्तिले राख्ने लाइसेन्सवाला हतियार । जसले गर्दा अमेरिकाजस्तो ‘विश्व–शान्तिको ठेकेदार’ मुलुकमा एउटा व्यक्तिलाई एकैछिन चढेको सनकले दर्जनौँ परिवारको पुस्तौँसम्मको खुसी छिनिरहेको छ । 

वर्षमा ४० हजारको बन्दुकबाट मृत्यु

गतवर्ष (सन् २०१८ मा) अमेरिकामा बन्दुकले मात्र १२०० भन्दा बढी बालबालिकाको ज्यान लियो, जसमा ८० जना त ३ वर्षमुनिका शिशु थिए ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सिडिसी’को रिपोर्टले सन् २०१७ मा मात्र बन्दुकले ३९ हजार ७ सय ७३ जनाको ज्यान लिएको देखाउँछ । यो पछिल्ला ५० वर्षको तथ्यांकमा सबैभन्दा उच्च आकडा हो भने अघिल्लो वर्षको तुलनामा १,००० भन्दा बढीको वृद्धि हो । यो तथ्यांक हेर्दा अमेरिकामा पछिल्ला वर्ष बन्दुकबाट हुने मृत्युको शृंखला ह्वात्तै बढेको देखिन्छ । 



२०१७ मा बन्दुकबाट भएका मृत्युमध्ये २४ हजारजति आत्महत्या हुन् भने साढे १४ हजारजति हत्या । बाँकी १ हजारजति दुर्घटना हुन् ।

जनताभन्दा धेरै ‘जनताले बोक्ने’ बन्दुक



बन्दुक हमलाका शृंखला बढ्दै जानुको मुख्य कारण जथाभावी बन्दुक राख्ने अनुमति दिइनु नै हो । अमेरिकामा जनताभन्दा धेरै ‘जनताले बोक्ने’ बन्दुक छन् ।

एक आर्म्स सर्भेले अमेरिकी ‘गैरसैनिक’ नागरिकसँग मात्र ३९ करोड ३० लाख सानाठूला पड्किने हतियार रहेको देखाएको छ । जुन, विश्वभरका सिभिलियनसँग रहेको कुल हतियारको ४६ प्रतिशत हो । यो सर्भेले प्रत्येक १०० जना अमेरिकी सर्वसाधारणसँग १२० थान हतियार रहेको देखएको छ । 

यसको मतलब प्रत्येक अमेरिकीले हतियार बोक्छन् भन्नेचाहिँ होइन । सन् २०१३ को ‘जेनेरल सोसल सर्भे एन्ड ग्यालप’ले एक चौथाइ अमेरिकीले मात्र हतियार राख्ने गरेको देखाएको छ । तीमध्ये पनि आधाभन्दा बढीले एक वा दुईवटा मात्र हतियार राख्छन् । जबकि, हतियार राख्नेमध्ये १४ प्रतिशत अर्थात् ७७ लाख जना (कुल जनसंख्याको ३ प्रतिशत) ले ८ देखि १४० वटासम्म पड्किने हतियार राख्छन् । 

अर्को एक सर्भेले पनि ३ प्रतिशत अमेरिकीसँग गैरसैनिक नागरिकसँग भएका कुल हतियारको ५० प्रतिशत हतियार रहेको देखाएको छ । यसले पनि देखाउँछ कि अमेरिकामा एकैजनाले दर्जनौँ हतियार राख्छन्, र सरकारले उनीहरुलाई जति पनि हतियार राख्ने अनुमति दिइरहेको छ । 

सन् २०१७ मा ५९ जनाको ज्यान लिने गरी लस भेगसमा भएको अन्धाधुन्ध गोली प्रहारमा संलग्न स्टेफेन प्याडकमाथि अनुसन्धान गर्दा प्रहरीले विभिन्न तीन ठाउँबाट उनको स्वामित्वमा रहेका ४७ वटा बन्दुक बरामद गरेको थियो । 

अमेरिकाका कतिपय राज्यमा आम सर्वसाधारणले अनुमतिविनै बन्दुक किन्न पाउँछन् । सामान्यखाले बन्दुक किन्न र राख्न लाइसेन्स नै चाहिँदैन । त्यसैले, अमेरिकीहरुसँग यति नै बन्दुक छन् भन्ने यकिन तथ्यांक भने छैन । 

  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १७:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया