सांगीतिक प्रस्तुतिका लागि यही साता कतार जाँदै नेपथ्य

काठमाडौं– लोकरक ब्यान्ड नेपथ्य यही साता कतार जाने भएको छ । कतारको राजधानी दोहामा आफूलाई दोस्रोपटक प्रस्तुत गर्न नेपथ्य कतार जाने भएको हो । इस्लाम धर्मावलम्बीको चाड ‘इद अल अदा’को सार्वजनिक बिदाको समयमा त्यहाँ बसोवास गर्दै आएका नेपाली समुदायलाई सांगीतिक कोसेली लिएर ब्यान्ड त्यसतर्फ जान लागेको हो । 

इदको दोस्रो दिन अर्थात् नेपालमा बकर इद भनेर मनाइने चाडलाई नै कतारमा ‘इद अल अदा’ भनिन्छ । नेपथ्यले अगस्ट १२ सोमबार (साउन २७)को बेलुकी ७ बजेदेखि दोहास्थित ‘एसियन टाउन एम्पिथिएटर’मा आफूलाई प्रस्तुत गर्नेछ ।

यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्यान्डले आफूलाई पहिलोपटक यस भूमिमा उभ्याएको थियो । नेपथ्य कतारमा आउने भनेर विभिन्न थरीका ‘आयोजक’ले हल्ला चलाउँदै र कतिपयले टिकटसमेत बेचेर सोझासाझा दर्शकलाई दुःख दिइरहेको पृष्ठभूमिमा पाँच वर्षपहिले अचानक ब्यान्ड पुगिदिँदा धेरैले ‘फेरि पनि झुक्याइएको’ ठानेका थिए ।

उक्त कन्सर्ट सकेर फर्कँदै गरेका नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई विमानस्थलमा भेट्नेमध्ये कतिपयले कन्सर्टको बारेमा जानकारी नै नभएको त कतिपयले पहिलेजस्तै झुक्याइएको हुन सक्ने ठानेर नगएको बताएका थिए । 

‘त्यतिवेलै मैले नेपथ्य फेरि बलियो बन्दोबस्तका साथ त्यस भूमिमा आउनुपर्ने अठोट गरेको थिएँ,’ गायक अमृत सम्झन्छन्, ‘यसपाला फेरि हामीलाई त्यहाँस्थित ब्यान्डका प्रशंसक नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’

दुई दशकअघिसम्म पनि कमै नेपालीले नाम सुनेको यो मुलुक यतिवेला हाम्रो समाजका लगभग प्रत्येकजस्तो घरसँग जोडिएको छ । परिवारकै सदस्य नभए पनि कुनै न कुनै आफन्त रोजगारीका लागि यस खाडी राष्ट्रमा नपुगेको कमै नेपाली भेटिन्छन् । असाध्यै तातो हावा चल्ने यस स्थानमा मिहिनेत गरेर कमाइको पैसा स्वदेश पठाउने परिश्रमी युवाको रेमिट्यान्सले नै यतिवेला हाम्रो मुलुकको अर्थतन्त्र थेगेको छ । आकार र जनसंख्यामा नेपालभन्दा असाध्यै सानो यस मुलुकमै यत्रतत्र भेटिनेगरी उल्लेख्य संख्यामा नेपालीको बसोवास छ ।



यसरी मजदुरी गर्नका निम्ति बिदेसिएका नेपाली दाजुभाइको भोगाइमै आधारित रहेर नेपथ्यले केही वर्षअघि ‘मै मरी जाउँला, जीवन छोट्टो छ’ बोलको गीतमा म्युजिक भिडियो बनाएको थियो । त्यो भिडियो परदेशमा रहेका तन्नेरीले आफ्नी श्रीमतीसँग गरेको संवादका रूपमा ‘कमिक एनिमेसन’को प्रयोगबाट तयार पारिएको थियो । सन् २००८ मा सार्वजनिक भएको यस गीतलाई दुई वर्षअघि म्युजिक भिडियो बनाएर यु ट्युबमा राखिएपछि अत्यधिक मन पराइएको छ ।

‘यसरी परदेशमा गएर श्रम गरिरहेका नेपाली दाजुभाइलाई देशको माया बोकेर जान पाउँदा असाध्यै हर्ष लाग्ने गर्छ,’ गायक अमृत भन्छन्, ‘सधैँजस्तै नेपाली माटोबाटै उब्जिएको लोकभाकामा आधारित आफ्ना सिर्जनामार्फत प्रवासमा रहेका नेपालीलाई मनोरञ्जन गराउनेछौँ ।’



अघिल्लोपटक नेपथ्य पहिलो प्रस्तुतिका निम्ति दोहा पुग्दा त्यहाँको स्थानीय अवस्था र चालचलनबारे अनभिज्ञताकै कारण पनि कतिपय मुस्किलको सामना गर्नुपरेको ब्यान्डको अनुभव छ । ‘जस्तो कि कतारमा एक दिनको निम्ति मात्र कार्यक्रम स्थल बुक गरिएको थियो र अर्कातर्फ बिहान ११ बजेदेखि बेलुकीसम्मै गर्मीले गर्दा त्यहाँ काम गर्न सरकारले अनिवार्य रोक लगाएको अवस्था थियो,’ गायक अमृत अघिल्लो अनुभव सुनाउँदै भन्छन्, ‘यस्तोमा कार्यक्रमस्थलको प्राविधिक परिक्षण र विशेषतः ध्वनि व्यवस्थापनको पर्याप्त तयारीविनै कन्सर्ट देखाउनुपरेको थियो ।’

यसपटक भने त्यस्ता अनुभवलाई ध्यानमा राखेर तयारी गरिने ब्यान्डले जनाएको छ । कतारमा कन्सर्टको आयोजना ‘लेभल एफ एन एडभटाइजिङ एन्ड इभेन्ट’का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईंले गरेका हुन् । आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् ।

‘श्रोता–दर्शकको अपार माया पाएको कतारमा प्रस्तुतिका निम्ति सधैँजस्तै यसपाला हामीले गीतहरु समेत विशेष तवरबाट छनोट गरेका छौँ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतिलाई अविस्मरणीय बनाउन तत्पर छौँ ।’

सधैँजस्तै कतारमा पनि गायक अमृतलाई ब्यान्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउनेछन् ।   

  • प्रकाशित मिति : साउन २०, २०७६ साेमबार १६:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया