भारतले आज हटाएकाे 'अनुच्छेद ३७०' के हाे ? यसले जम्मु–कस्मिरलाई के–के विशेषाधिकार दिन्थ्याे ?
जम्मु–कस्मिरले छुट्टै संविधान, झन्डा र नागरिकता चलाएको थियो, यहाँका बासिन्दालाई भारतको राष्ट्रिय प्रतीकको अपमान गर्ने छुट थियो, बाहिरी राज्यका नागरिकले यहाँ जग्गा किन्न पाउँदैनथे

काठमाडाैं– भारतको केन्द्र सरकारले जम्मु–कस्मिरलाई स्वायत्तताको दर्जा दिने भारतीय संविधानको ‘अनुच्छेद ३७०’ हटाइदिएको छ । अनुच्छेद ३७० हटेसँगै जम्मु–कस्मिरले विशेष राज्यको दर्जा गुमाएको छ, र ७० वर्षदेखिको यो स्वायत्त राज्यमा अब केन्द्रको शासन चल्नेछ । 

के हो अनुच्छेद ३७० ? 

अनुच्छेद ३७० भारतको संविधानको धारा ३७० मा ‘अस्थायी, परिवर्तनीय र विशेष प्रावधान’ शीर्षकअन्तर्गत राखिएको एक अनुच्छेद हो । यो अनुच्छेदले जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा दिएको थियो । यसैका कारण जम्मु–कस्मिरमा छुट्टै संविधान थियो । 

जम्मु र कस्मिरलाई जुनसुकै मूल्यमा भारतमा विलय गराउने नीतिअनुरुप ७० वर्षपहिले अनुच्छेद ३७० को व्यवस्था गरी त्यहाँका जनतालाई थुप्रै विशेष अधिकार दिइएको थियो ।

अनुच्छेद ३७० का आधारमा जम्मु–कस्मिरले यस्ता विशेष अधिकारहरु प्रयोग गर्दै आएको थियो– 

  • जम्मु–कस्मिरका सम्बन्धमा रक्षा, विदेश मामला र सञ्चारसँग सम्बन्धितबाहेक अन्य कानुन केन्द्रीय संसद्ले बनाउन पाउँदैनथ्यो । जम्मु–कस्मिरबारे कुनै नीतिगत निर्णय लिँदा केन्द्रले प्रदेश सरकारको राय लिनुपर्थ्यो । 
  • जम्मु–कस्मिरका मानिससँग दाहोरो नागरिकता थियो– एउटा भारतको नागरिकता, अर्को जम्मु–कस्मिरको नागरिकता । 
  • जम्मु–कस्मिरको छुट्टै राष्ट्रिय झन्डा थियो । जम्मु–कस्मिरभित्र भारतको राष्ट्रिय झन्डालगायत कुनै पनि राष्ट्रिय प्रतीकको अपमान अपराध मानिँदैनथ्यो । 
  • जम्मु–कस्मिरमा भारतीय संविधानको धारा ३५६ लागू हुँदैनथ्यो । अन्य राज्यमा निश्चित परिस्थितिमा राज्य सरकार भंग वा निलम्बन गरेर राष्ट्रपतीय शासन चलाउँदा धारा ३५६ लागू गरिन्छ । 
  • राष्ट्रपतिसँग जम्मु–कस्मिरको संविधानलाई बर्खास्त गर्ने अधिकार थिएन । जब कि, अन्य राज्यका कानुन राष्ट्रपतिले निलम्बन या खारेज गर्न सक्छन् । 
  • केन्द्रले १८७६ मा ल्याएको भूमि कानुन जम्मु–कस्मिरमा लागू भएको थिएन । 
  • अन्य राज्यका नागरिकले जम्मु–कस्मिरमा जग्गा किन्न पाउँदैनथे । जब कि, विशेष अधिकार प्राप्त राज्यबाहेक देशको जुनसुकै ठाउँमा जुनसुकै नागरिकलाई जमिन किन्ने अधिकार छ । 
  • देशमा वित्तीय आपत्काल लगाउनेसम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३६० जम्मु–कस्मिरमा लागू हुँदैनथ्यो । 
  • जम्मु–कस्मिरकी कुनै महिलाले भारतको अन्य राज्यमा विवाह गरेर गए उनको नागरिकता स्वतः खारेज हुन्थ्यो । तर, पाकिस्तानमा विवाह गरेर जाँदा भने उनले जम्मु–कस्मिरको नागरिकता कायम राख्न सक्थिन् । 
  • कस्मिरी महिलाका हकमा इस्लामिक कानुन लागू हुन्थ्यो । 
  • कस्मिरमा पञ्चायतलाई कुनै अधिकार थिएन । 
  • देशभर अल्पसंख्यकका लागि छुट्याइएको १६ प्रतिशत आरक्षण कस्मिरका अल्पसंख्यक (हिन्दु, सिख) ले पाउँदैनथे । 
  • कस्मिरमा स्थायी रुपले बस्ने पाकिस्तानीले पनि भारतीय नागरिकता पाउँथे ।  


अनुच्छेद ३७० हटेसँगै जम्मु–कस्मिरका यी सबै विशेष अधिकार समाप्त भएका छन् । 




  • प्रकाशित मिति : साउन २०, २०७६ साेमबार १७:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया