Sat, 24 Aug, 2019


मेराे संगीत
सन्ताेष लामाकाे यात्रा: नाैबिसेदेखि नेपाली तारासम्म
सन्ताेष लामा
फरकधार / साउन २०, २०७६
तस्वीरहरु: सन्ताेष लामाकाे फेसबुकबाट ।

म धादिङको नौबिसेमा जन्मिएँ, हुर्किएँ । म जन्मे–हुर्केको परिवेशमा लोकगीत ज्यादा सुनिन्थ्यो । मैले पनि सानैदेखि लोकगीत सुन्न थालेँ । 



लोकगीत सँगसँगै म सुगम संगीत पनि सुन्थेँ । नारायणगोपाल, बच्चु कैलाश, तारादेवी, भक्तराज आचार्यलगायत पुराना गायक त छँदै थिए, रामकृष्ण ढकाल, उदितनारायण झाका गीत पनि निकै सुन्थेँ । रामकृष्ण ढकाल र उदितनारायण झा त ‘ट्रेन्डिङ’मै थिए । 

मैले रेडियो र टिभीमा गीत–संगीत सुन्ने मौका पाएँ । म रेडियो सुन्दा आफूलाई गायकका रुपमा कल्पना गर्थे भने टिभी हेर्दा हिरो । टिभीमा चाहिँ फिल्मका गीत बढी बज्थे । उदितनारायण झाको ‘शनिबारको दिन बिहानी पख’ गीत त मेरो जिब्रोमै झुन्डिएको थियो ।

५–६ वर्षको हुँदादेखि नै मैले गीत गुनगुनाउन थालेको थिएँ । बिस्तारै स्कुलमा पनि गीत गुनगुनाउन थालेँ । साथीहरूले त्यही मेरो गुनगुनाइ पनि मन पराइदिए । एक दिन त साथीहरूले सरलाई भनेर मलाई कक्षामा गाउन लगाए । त्यो दिन अहिले पनि मेरो स्मरणमा ताजै छ । मैले कक्षामा सबैका अगाडि ‘स्किपिङ’को डन्डीलाई माइक बनाएर गाएको थिएँ । मेरो गायन सबैले मन पराए । शिक्षकले पनि मलाई तिमी राम्रो गाउँछौ भनेर हौसला दिनुभयो । 

शिक्षक र साथीहरू मात्र होइन, मेरो गायन मेरो ठुलो दाइलाई पनि मन परिरहेको रहेछ । एक दिन मैले गीत गुनगुनाइरहेको सुनेर दाइले भन्नुभयो– कान्छा तेरो स्वर त राम्रो रहेछ । उहाँलाई पनि संगीतमा रुचि रहेछ । तर, पारिवारिक जिम्मेवारी र घरको आर्थिक अवस्थाले गर्दा उहाँले आफ्नो रहरलाई दबाइरहनुभएको रहेछ । मैले यो कुरा अलि ठुलो भएपछि मात्रै थाहा पाएँ । 

सायद उहाँ आफ्नो गायक बन्ने सपना मबाट पूरा गराउन चाहानुहुन्थ्यो । उहाँले आफ्नो सपनाको प्रतिविम्ब ममा देखेरै होला, सानैदेखि धेरै सपोर्ट गर्नुभयो । दाइ सञ्चारमाध्यमबाट बज्ने गीत–संगीत सँगसँगै समाचार र सूचनामूलक सामग्री अत्यन्त चाख लिएर सुन्नुहुन्थ्यो । 

कतै गायन प्रतिस्पर्धा हुने भयो कि मलाई लिएर उहाँ गइहाल्नुहुन्थ्यो । म स्कुल र गाउँमा हुने कार्यक्रममा त गाउँथेँ नै, दाइको सपोर्टले प्रतियोगिताहरूमा पनि गाउन थालेँ । यसरी मेरो गायन बिस्तारै फराकिलो हुँदै गयो । 

म पहिलोपल्ट राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन जाँदा म त्यस्तै ६–७ मा पढ्थेँ । त्यो वेला नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘तिम्रो सुर मेरो गीत’ बालगायन प्रतियोगिता चर्चित थियो । जुन कार्यक्रममा आफ्नो स्वरमा एउटा गीत क्यासेटमा रेकर्ड गराएर कार्यक्रममा पठाउनुपर्थ्यो । यदि कार्यक्रमका ‘जुरी’लाई त्यो आवाज मनपर्यो भने मात्रै अर्काे चरणका लागि बोलाउँथे । मैले पनि गीत रकेर्ड गरेर पठाएँ र म छानिएँ पनि । दोस्रो चरणमा दाइले नै मलाई काठमाडौं लिएर आउनुभयो । त्यसवेला म प्रतियोगिताको ५–६ राउन्डसम्म मात्रै पुगेँ । 

‘केएटिएच’ एफएमले प्रत्येक वर्ष गर्ने ‘स्वर संगम’ त मैले लगातार दुई संस्करण जितेको थिएँ । मलाई ठ्याक्कै मिति र साल त याद छैन, मेरो अनुमान गलत छैन भने यो त्यस्तै ०५७–०५८ सालतिरको कुरा हुनुपर्छ । मलाई एउटा कुरा भने राम्रोसँग सम्झना छ । मैले जितेको दुई संस्करणमध्ये एउटा एसएलसीभन्दा अघि र अर्काे ठ्याक्कै एसएलसी पछि थियो । त्यसपछि पनि मैले धेरै राष्ट्रिय स्तरका गायन प्रतियोगितामा भाग लिएँ ।

एसएसीपछि मेरो सांगीतिक यात्रा विशेष र अझ पराकिलो भयो । यो यस अर्थमा कि मैले एसएलसीपछि औपचारिक रूपमै संगीत सिक्न थालेँ । काठमाडौंको ‘आरआर’ कलेजमा पढ्न थालेँ । बिहान कलेज सकिएपछि म संगीत पनि सक्न थालेँ । पढ्न र संगीत सिक्न जान घरबाटै ओहोर–दोहोर गर्थें । बिहान पाँचै बजे घरबाट हिँड्थे, कलेज पढ्थेँ अनि कलेज सकेर संगीत सिक्न जान्थेँ । स्नातक पढ्दासम्म घर (नौबिसे)बाटै ओहोर–दोहोर गरेँ । मलाई आउन–जान त्यस्तै एक–एक घन्टाजति लाग्थ्यो । अहिले त धेरै जाम हुन्छ, एक घन्टामा पुग्ने त कल्पना पनि गर्नै सकिँदैन । त्यो पनि सार्वजनिक यातायातमा । 

दाइले सुरुमा जमलको ‘डोरेमी म्युजिक स्कुल’मा तबला क्लासमा भर्ना गराइदिनुभएको थियो । भोकल त मैले तबला थालेको धेरैपछि मात्र सिक्न थालेको हुँ । आफ्नै इच्छाले तबला सिक्न थालेको थिएँ । म गीत टेबल, कुर्सी ठटाउँदै गीत गाउँथे । साथीहरू मेरो गीतसँगसँगै टेबल ठटाइको पनि तारिफ गर्थे । उनीहरू उक्साउँदै भन्थे– तैँले तबला, ड्रम त खत्रा बजाउँछस् होला । 

उनीहरूको कुराले म हौसिन्थेँ । आफूलाई पनि लाग्दै जान थाल्यो, मैले तबला सिक्न पाए त राम्रै बजाउँथे होला । तर, पछि सिक्दै जाँदा पो थाहा भयो– म त भ्रममा रहेछु । मलाई त तबलाको ‘त’ पनि आउँदैन रहेछ । जे होस् मैले एक वर्षमै तबलाको आधारभूत कुरा सिकेँ ।

घरमा भएका वेला अभ्यास गर्न सजिलो होस् भनेर दाइले तबला पनि किनिदिनुभएको थियो । तर त्यो तबला धेरै टिकेन, एक दिन बिरालोले चिथोरेर फुटाइदियो । 

तबला सिक्दासिक्दै ‘डोरेमी’मै भोकल पनि सिक्न थालेँ । गुरुदेव कामदले भोकल सिकाउनुहुन्थ्यो । उहाँले साह्रै राम्रो सिकाउनुहुन्थ्यो । तर, मैले त्यहाँ धेरै सिक्न सकिनँ । उहाँ कमजोर अथवा उहाँको सिकाउने तरिका राम्रो नभएर होइन । कोही नयाँ विद्यार्थी आएपछि उहाँले फेरि क्लास सुरुबाट सञ्चालन गर्नुहुन्थ्यो, त्यसो हुँदा मेरो कोर्स नै अगाडि बढिरहेको थिएन । 

पछि तीन वर्षसम्म भानुभक्त ढकाल र ईश्वर अमात्यसँग भोकल क्लास लिएँ । उहाँहरुसँग सिक्दासिक्दै ‘नेपाली तारा’को प्रतियोगिता हुने भयो । त्यो खबरले हामीलाई निकै हौस्यायो । नेपाली तारा प्रतियोगिता हुने भएपछि जताततै त्यसैको मात्र चर्चा हुन थाल्यो । पुरस्कार पनि ठूलो धनराशिको थियो । संगीतमै भविष्य बनाउँछु भनेर लागिपरेकाहरूका लागि त्यो सुवर्ण अवसर पनि थियो । त्यसअघि त्योभन्दा ठूलो सो नेपालमा भएको थिएन । सडकका पर्खाल, पुलदेखि सञ्चारमाध्यममा नेपाली ताराको निकै प्रचार भएको थियो । 

हामीलाई पनि त लोभ्याउने नै भयो । हामी सँगै संगीत सिकिरहेका १० जना साथीहरू अडिसन दिन गयौँ । कुपन्डोलमा भएको अडिसनका लागि म ‘नर्भस’ त थिएँ, तर संगीतप्रतिको त्यो प्यासन र लगावले मलाई डर हरायो । बस् ! दिमागमा जसरी हुन्छ छनोट हुने गरी गाउनुपर्छ भन्ने थियो । भित्र गएँ । गाएँ । छनोट पनि भएँ । हामी १० जनामा पाँचजना छनोट भयौँ । 

हामी यति खुसी थियौँ कि कसैले पनि खुसीलाई शब्दमा व्यक्त गर्न सकेनौँ । पोखियौँ मात्र, कोही आँसुमा त कोही हाँसोमा । त्यो क्षण म औधी खुसी भएको थिएँ । म मात्र होइन । मेरो सफलतामा मेरो परिवार, साथीहरु, गुरु सबै खुसी हुनुभएको थियो । बाआमाका चार सन्तानमध्ये म सबैभन्दा कान्छो सन्तान । मभन्दा अगाडि दुईजना दाइ र एउटी दिदी हुनुहुन्छ । उहाँहरू सबै खुसी हुनुभएको थियो । बाबा भने हामीसँग हुनुहुन्थ्यो । मैले संगीलाई आफ्नो करिअर बनाउँछु भनेर निर्णय लिनुअघि नै उहाँको देहान्त भइसकेको थियो । परिवारमा पनि मलाई संगीतमा लाग्न सधैँ उत्प्रेरणा दिने ठूलो दाइ निकै खुसी हुनुभएको थियो । 

अगाडिको यात्रा झनै कठिन हुनेवाला थियो । मलाई यसको राम्रैसँग हेक्का थियो । अझ मिहिनेत गर्न थालेँ । स्वर–साधनालाई प्राथमिकतामा राखेर अभ्यास गर्न थालेँ । नेपाली ताराका जति–जति चरण आउँथे, हामी कम हुँदै जान्थ्यौँ । बाहिरिएका अरु साथीझैँ म पनि आफ्नो बाहिरिने पालो आउन लाग्यो भन्दै कुर्दै बस्थेँ । प्रस्तुति दिएर घर पुग्दा भने त्यो डर, त्रास, नर्भसनेस कहाँ जान्थ्यो, कहाँ । 

मलाई टिभीमा देख्दा मेरो परिवार मात्र नभएर पूरै गाउँ गर्व गर्थ्यो । साथीभाइ, नातेदार सबै मलाई बाटोमा भेट्दा ‘तिमीलाई मैले टिभीमा देखेको थिएँ नि’ भन्दै तारिफ गर्थे । उनीहरुको प्रशंसा सुन्दा मेरो मन गर्वले ढक्क फुल्थ्यो । म उज्यालो मुख बनाउँदै घर पुग्थेँ । घरमा पनि त्यस्तै । मलाई हेर्ने, मसँग व्यवहार गर्ने तरिका नै फेरिएको थियो, सबैको । 

मेरो सो आउने समयमा परिवार सँगै बसेर टिभी हेर्थ्याैं। नेपाली तारा हेर्न घरनजिकका केही आफन्त पनि हाम्रै घरमा आउनुहुन्थ्यो । टिभीमासबैको अगाडि आफैँलाई देख्दा लाज लाग्थ्यो । म पछाडि बसेर मुसुमुसु हाँसिरहेको हुन्थेँ । 

टप–२० सम्म पुग्दा पनि संगीतको दुनियाँ पूरै नौलो लागेको थियो । हामीलाई होटल र्याडिसनमा राखिएको थियो । म अहिले यसो सोच्दा चाल पाउँछु, म त्यो माहोलमा कतै भुलिरहेको रहेछु, हराइरहेको रहेछु । 

हाम्रो समूहबाट टप– २० मा पुग्ने म र इन्दिरा जोशी मात्रै थियौँ । तर, अब भने डर लाग्न थालेको थियो । कन्फिडेन्स पनि कम–कम हुँदै गइरहेको थियो । 

जे म सोचिरहेको थिएँ, त्यही भयो । म टप–२० बाट बाहिरिएँ । टप–२० बाट बाहिरिँदा धेरै दुःखी भएको थिएँ । सायद त्यति दुःखी म त्यसअघि न कहिल्यै भएको थिएँ, न त त्यसपछि कहिल्यै भएँ । सम्पूर्ण रुपमा विक्षिप्त भएको थिएँ । सामान्यतया म भाग्यमा विश्वास गर्दिनँ । तर, त्यो वेला मेरा लागि ‘ब्याडलक’ भयो । टप–२० को सुटिङ हुँदा बिरामी थिएँ । रुघाखोकीले एकदमै ग्रसित थिएँ । गाउँदा मेरो स्वर ‘हाई नोट’मा पुगेन र फाट्यो । स्वरसँगै मेरा जीवन पनि फाटेको थियो । म रोइरहेको थिएँ, तर आँसु झर्न सकिरहेको थिएन । त्यही भएर पनि होला, धेरै दुःखको अनुभूति भएको । आँसु झार्न सकेको भए सायद त्यति दुःख लाग्दैनथ्यो कि ?

मलाई धेरैले चिन्न थालिसकेका थिए । घर होस् या गाउँ सबैतिर मेरो चर्चा हुन थालिसकेको थियो । म उनीहरुको तारिफ, मायामा रमाइरहेको थिएँ । अब आउट भएँ, उनीहरुले के सोच्लान् । कति खिल्ली उडाउलान् भनेर सोच्न थालेँ । मेरो त सबै कुरा सकियो । अब सबैको अगाडि कसरी मुख देखाउने होला भन्ने मात्रै दिमागमा खेलिरहेको थियो । मेरो जीवन नै सकियोजस्तो भान भइरहेको थिएँ । आउट भएको एक सातासम्म घर पनि गइनँ । बल्खुमा दिदीको घरमा गएर बसेँ । दिदीले धेरै सम्झाउनुभयो । तर, मेरो मन मानिरहेको थिएन । 

म एक सातापछि घर जाँदा मेरो घर र गाउँको माहोल मैले अनुमान गरेभन्दा ठीक विपरीत थियो । मलाई सबैले थुक्लान्, गाली गर्लान् भन्ने लागिरहेको थियो, तर बरु उल्टै जतिले मलाई भेट्नुभयो, सबैले मलाई हौसला दिनुभयो । 

ठुल्दाइले भन्नुभयो– मिहिनेत गर्ने मान्छेलाई सधैँ मौकाले पर्खिरहेको हुन्छ, चिन्ता नगर अर्काेपालि फेरि आउँछ ।  टप–२० सम्म पुग्नु पनि धेरै ठूलो कुरा हो भनेर सम्झाउनुभयो । उहाँका ती वाक्य मेरा लागि अमृतसमान भए । मेरा दिन बिस्तारै सहज हुन थाले । म बिस्तारै आफ्नो जीवनमा फर्किन थालेँ । 

त्यतिवेला मैले एउटा अर्को महत्वपूर्ण कुरा थाहा पाएँ । त्यसअघि मलाई लाग्थ्यो, माहिला दाइले मलाई ठूलो दाइले जसरी सपोर्ट गर्नुहुन्न । तर, म गलत रहेछु । उहाँले मलाई निकै सपोर्ट गर्नुहुँदो रहेछ, पर्दा पछाडिबाट । उहाँले नदेखाउनुभएको मात्र रहेछ । 

आवश्यक परेका वेला देखाउनुभयो । उहाँले मलाई धेरै प्रोत्साहन दिनुभयो, हौसला दिनु भयो । माया गर्ने, देखाउने सबैको आ–आफ्नो प्रवृत्ति हुँदो रहेछ । कोही देखाउँछन्, कोही देखाउन जान्दैनन् । जेठा दाइ माया देखाउनुहुन्थ्यो, तर माहिला दाइ देखाउनुहुन्थ्यो, फरक यति मात्र हो । माया भने दुवैले गर्नुहुन्थ्यो । 

म आफैँले पीडाबाट बाहिर आउन धेरै मिहिनेत गरेँ । आफैँलाई राम्रो लाग्ने मेरो बानी के हो भने म कहिल्यै पनि निरुत्साहित भइहाल्दिनँ । कुनै कुराले मलाई दुःखी बनाए पनि आफूलाई केही समयभित्रै त्यो अवस्थाबाट बाहिर निकाल्न सक्छु । म आफूलाई सम्हाल्न सक्छु, जस्तोसुकै विषम परिस्थितिमा पनि । 

त्यसपछि मैले संगीतमा झन् धेरै समय दिन थालेँ । काम पनि गर्थें, जिविसको कार्यालयमा । धादिङ जिल्ला भएर आवतजावत गर्ने गाडीबाट कर उठाउने, बिल काट्ने ।  धेरै ठाउँमा व्यस्त हुन थालेँ, संगीत, पढाइ, काम, शारीरिक अभ्यास आदि । 

संगीतलाई धेरै समय दिन थालँे । दाइले भोकल क्लास भर्ना गरेको केही महिनापछि एउटा ‘सेकेन्ड ह्यान्ड’ हार्मोनियम किनिदिनुभएको थियो । त्यही हार्माेनियममा घन्टौँघन्टा स्वरसाधना गर्थें । जुन हार्माेनियम अहिले पनि मसँगै छ । म अहिले पनि त्यही हार्मोनियममा स्वरसाधना गर्छु । एकदमै मीठो बज्छ । संगीतमा रुचि भएको कसैले त्यसको आवाज सुन्यो भने लोभिन्छ । 

बिस्तारै सबै कुरा ठाउँमा आउन थाल्यो । 

अहिले त्यो समय सम्झिँदा लाग्छ, म साह्रै बच्चा रहेछु । त्यो वेला पाएको पीडा त्यो समयका लागि जायज नै भए पनि अहिले सम्झिँदा भने हाँसो उठ्छ । हुन त उमेर पनि त्यस्तै भएर होला । म त्योवेला १९ वर्षको थिएँ, मान्छेका लागि त्यो समय निकै गाह्रो समय पनि हो । त्यो उमेर नै त्यस्तो थियो, सानो कुरामै खुसी भइने र सानै कुरामा दुःखी पनि । मेरो प्रवृत्ति पनि त्यस्तै थियो, भावुक । समय त्यसरी नै बितिरहेको थियो । 

फेरि नेपाली ताराको दोस्रो संस्करण हुन लाग्दै छ भनेर जानकारी पाएँ । तर, मलाई त्यो खबरले तानेन । मलाई मतलब नै लागेन । खासमा दोस्रो संस्करणमा भाग नलिने मानसिकता बनाएको थिएँ । नजाने निर्णय गर्नुको पछाडि एउटा कारण थियो । कारण थियो– यसपालि टप–२० मा पनि नपिरएला कि भन्ने डर । केही अन्य कारण पनि थिए, तर मुख्य कारण भने त्यही थियो । फेरि सुरुबाटै अडिसन दिएर प्रतिस्पर्धा गर्ने मनै थिएन । 

जुन कारणले नेपाली ताराको दोस्रो सिजनमा भाग लिन मन गरिनँ, अहिले सम्झँदा त्यो अति नै मूर्खता, ‘इमचुअर्ड डिसिजन’ थियो भन्ने लाग्छ । त्यो वेला मेरो उमेर नै त्यस्तो थियो । 

पछि परिवार, साथीभाइ, गुरुहरूले कर गर्नुभयो र जान हौसला पनि दिनुभयो । उहाँहरूकै प्रेसर र प्रेरणाले गएँ । आमालाई पनि मलाई टिभीमा पत्रिकामा देख्न मन लाग्थ्यो, उहाँ खुसी हुनुहुन्थ्यो । आमाको त्यो इच्छाले पनि मलाई धेरै ‘ट्रगर’ गरेको गर्यो । 

पहिलो र दोस्रो संस्करणबीचमा मैले आफूलाई धेरै निखारेजस्तो पनि लाग्छ । म दिनको ४–५ घन्टा नै अभ्यास गर्थें । मेरो नसा–नसामा संगीत बग्न थालिसकेको थियो । पहिलो संस्करणबाट बाहिरिनुको अर्काे कारण, मेरो स्वर पनि थियो । मेरो स्वर त्यति ‘मचुअर्ड’ थिएन । सबैको सुझाबलाई मनन गर्दै दोस्रो संस्करणमा भाग लिने निधो गरेँ ।

२००७ मा भएको नेपाली ताराको दोस्रो संस्करण पनि कुपन्डोलमा भएको थियो । बिस्तारै अघिल्ला राउन्ड पार गर्दै गएँ । यसपालि पनि त्यस्तै भयो, हामी एउटा समूह बनाएर गएका थियौँ । अन्तिमसम्म पुग्दा धेरै साथी बाहिरिइसकेका थिए । 

म ‘टप–२’सम्म पुगेँ । अगाडिका राउन्डमा त नर्भस भएको थिइनँ । तर, टप–२ मा मेरो प्रत्यासी तारा लिम्बू पर्नुभएको थियो । त्यो कारणले मलाई अलि डर लागेको थियो । 

मैले उहाँलाई टप–२० सम्म पनि देखेको थिइनँ । पछि एक्कासि टप–२० हुँदा उहाँलाई देखेँ । अचम्म लाग्यो । टप–२० मा परेका सबैलाई ‘ग्रुमिङ’ क्लास दिनका लागि नगरकोट लगिएको थियो । उहाँसँग त्यहाँ राम्रो सँग भेट्ने र बोल्ने मौका पाएँ । उहाँ पनि राम्रो तयारीका साथ आउनुभएको रहेछ । 

पहिलो संस्करणमा हामी दुवैजना टप–२० सम्म पुगेर आउट भएका थियौँ । पहिलो संस्करणमा हामीले होटेलमा बस्दा रुम पनि सेयर गरेको थियौँ । उहाँ एकदमै ट्यालेन्ट र मिहिनेती हुनुहुन्थ्यो ।

मलाई सबैभन्दा डर के कुराले भएको थियो भने पहिलो संस्करण ‘लिम्बू’ समुदायकै मान्छेले जित्नुभएको थियो । दोस्रो सिजनमा पनि लिम्बू समुदायबाटै हुनुहुन्थ्यो । उहाँ पनि धरानबाटै हुनुहुन्थ्यो । उहाँलाई जिताउन बाहिर भोटिङ ‘क्याम्पेन’ पनि धेरै भइरहेका थिए । 

भोटिङ क्याम्पेन त मेरा लागि पनि भइरहेका थिए । त्यो वेला ठूलो दाइ रोजगारीको सिलसिलामा दुबईमा हुनुहुन्थ्यो । मलाई जिताउन उहाँले पनि धेरै दौडधुप गरिरहनुभएको थियो । तर, उहाँलाई जिताउन मभन्दा धेरै पहल भइरहेको थियो ।
 
मलाई कता–कता जित्दिनँ कि भन्ने भइरहेको थियो । तर मेरा साथीभाइ र अन्य सहभागीले मलाई तँ जित्छस् भनेर हौसला दिइरहेका थिए ।

हुन पनि मैले त्याे सिजन जितेँ । यसले मलाई खुसी त बनायाे नै जिम्मेवारी थपिएकाे पनि मैले ट्रफी उचालेकै क्षणमा सम्झिएकाे थिएँ । 

त्याे जिम्मेवारी हाे, संगीत साधनामा लाग्नु । अहिले पनि म त्यही कर्ममा छु । यसलाई नै मेराे जीवन ठानिरहेकाे छु ।

 

(फरक धारका कमल विष्टसँग गरेकाे कुराकानीमा आधारित ।)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्