एजेन्सी– भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सोमबार अधिसूचना जारी गर्दै जम्मुकश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतय संविधानको अनुच्छेद ३७० खारेज गरिदिएका छन् ।
यो घटनासँगै विश्वभर जम्मु कश्मिरको विषयमा बहस सुरु भएको छ । पाकिस्तानमा पनि यसबारे निकै धेरै बहस हुन थालेका छन् ।
तत्काल यस विषयमा हस्तक्षेप गर्नेबारे संयुक्त राष्ट्रसंघले कुनै अभिव्यक्ति दिएको छैन । तर, सोमबार नै एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघका महासचिवले सबै पक्षलाई संयम रहन अपिल गरेका छन् । यहीबीच कश्मिरमा पूर्वमुख्यमन्त्रीहरु उमर अब्दुल्ला, महबूबा मुफ्तीलाई गिरफ्तार गरिएको छ ।
उता, राष्ट्रसंघले कश्मिरको विवाद सुल्झाउन भारत र पाकिस्तान दुवैले सहयोग मागे आफूहरुले यस विषयमा मध्यस्थता गर्ने जनाएको छ ।
अर्कोतिर अमेरिकाले भने भारतले गरेको कदमबारे आफू जानकार भएको र यसबारे आफूहरुले हेरिरहेको बताएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ओर्तागुसले भारत र पाकिस्तानले शान्तिका लागि लाग्नु पर्ने बताएका छन् ।
पाकिस्तानले चाहिँ राष्ट्रसंघमा भारतविरुद्ध उजुरी दिएको छ ।
यस विषयमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विभिन्न देशका नेताहरुसँग सल्लाह गरेका छन् । उनले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग फोनमा यसबारे कुराकानी गरेको पाकिस्तानी सन्चारमाध्यमले लेखेका छन् ।
र, अनुच्छेद ३७० लाई निष्प्रभावी बनाउनका लागि पाकिस्तानभित्र अर्को बहस पनि सुरु भएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले यसबारे टर्कीका राष्ट्रपति रिसेप तैय्यप अर्दोआनसँग कुराकानी गरेका छन् । पाकिस्तानी मिडियाले टर्कीले पाकिस्तानलाई साथ दिन तयार रहेको सन्देश दिएको जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।