नगरपालिकाले ताेक्याे पण्डितकाे दक्षिणा, पार्टी प्यालेसमा विवाह गरे जरिवाना

चितवन– माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने रकम निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप १०१ रुपैयाँ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय मंगलबार सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताए । 

निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुँदा खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद निम्तिएको भन्दै नगरपालिकाले विभेद अन्त्यका लागि यो निर्णय गरेको ढकालले बताए । 

यस्तै माडीवासीले वैवाहिक कार्य गर्दा घरमा नै गर्नुपर्ने भएको छ । कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने विश्वास रहेको प्रमुख ढकालले बताए । 

ढकालका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उनले जानकारी दिए । अहिले नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि आवास सञ्चालन गरिरहेको छ । वडा नम्बर ६ लक्ष्मीवासमा रहेको सो आवासमो ३७ जना बालबालिका आश्रित रहेका छन् । माडीमा तीनवटा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् भने अन्य खुल्ने क्रममा छन् । नगरपालिकाको कार्यपालिका सदस्यबाट तत्काल सुरुआत हुनेगरी दक्षिणा निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए । 

प्रवक्ता सुवेदीले एकै परिवारमा दुईवटा छोरी जन्मेको भए दुवैजनालाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताए । छुवाछुत प्रथा हटाउन छुवाछुतविरुद्धको दिवसमा सहभोज आयोजना गर्ने कार्यपालिकाले निर्णय गरेको छ । 

कार्यपालिका बैठकले नगरपालिका–९ मा रहेको प्याउलीमा बाल शिक्षा केन्द्र स्थापना गर्ने र नगरपालिकाको भूगोल, जनसंख्या, भूउपयोगको अवस्था एवं आर्थिक सामाजिक पक्ष समेटी नगरको वृत्तचित्र तयार गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।





  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १६:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया