हङकङका प्रदर्शनकारीलाई चीनको कडा चेतावनी– आगोसँग नखेल्नू

बेइजिङ– चीनले हङकङका प्रदर्शनकारीलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । यसअघि, हङकङमा नौ सातादेखि चलिरहेको प्रदर्शनको चीनले निन्दा गरेपछि प्रदर्शन झन् चर्किएको थियो । 

हङकङस्थित एक चिनियाँ कार्यालयका प्रवक्ताले मंगलबार ‘केन्द्रीय सरकारको सदाशयलाई कमजोरी नठान्न’ प्रदर्शनकारीलाई चेतावनी दिए ।  

‘हिंसक प्रदर्शनहरुले हङकङलाई एकदमै खतरनाक परिस्थितिको मुखमा धकेलिदिएका छन्,’ एक न्युज कन्फरेन्समा हङकङ र मकाउ हेर्ने चिनियाँ कार्यालयका प्रवक्ता याङ गुआङले भने, ‘मिस लेम (हङकङकी प्रशासकीय प्रमुख केरी लेम) लाई राजीनामा गर्न बाध्य पार्ने प्रयासले हङकङलाई कहीँ पुर्याउँदैन ।’ जारी प्रदर्शनले हङकङको अर्थतन्त्रमा गम्भीर असर पारेको उनले बताए । 

नौ साता लामो प्रदर्शनका क्रममा बेइजिङले दिएको यो सबैभन्दा कडा चेतावनीमध्ये एक हो । हङकङस्थित चिनियाँ कार्यालयले कमै मात्र न्युज कन्फरेन्स गर्छ । तर, यो भने दुई साताभित्रै उसको दास्रो कन्फरेन्स हो । 

हङकङमा दुई महिनाअघि विवादास्पद सुपुर्दगी विधेयकलाई लिएर सुरु भएको प्रदर्शन विभिन्न मुद्दामा केन्द्रित हुँदै आजसम्म चलिरहेको छ ।

पछिल्लो समय प्रदर्शनकारी र प्रहरीबीच तनाव बढिरहेको छ । प्रदर्शनकारीहरु प्रहरीकै विरुद्ध नाराबाजी गरिरहेका छन् । केही प्रदर्शनकारी अहिले हङकङकी नेत्री (प्रशासकीय प्रमुख) केरी लेमको राजीनामा माग्न थालेका छन् । उनीहरु अझै ‘विस्तृत प्रजातन्त्र’को माग गरिरहेका छन् । 



सोमबार प्रदर्शनकारीले गरेको आम हड्तालका कारण हङकङका धेरैजसो सेवा प्रभावित भएका थिए । २०० भन्दा बढी उडानसमेत रद्द भएका थिए । 

हङकङ चीनको अधिनमा रहेको स्वशासित क्षेत्र हो । २२ वर्षअघि बेलायतले चीनलाई सुम्पिएयता याे सानाे, सुन्दर सहर सबैभन्दा ठूलो राजनीतिक संकटको स्थितिबाट गुज्रिरहेको छ ।




  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १८:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया