कास्की २ मा वामदेव गौतमलाई उम्मेदवार बनाउने नेकपा ‘तयारी’

काठमाडौं– निर्वाचन आयोगले १४ मंसिरमा रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका स्थानमा १४ मंसिरमा उपनिर्वाचन गराउन सिफारिस गरेपछि यही मितिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । 

योसँगै अब विभिन्न स्थानमा चुनावी बहस पनि सुरु हुन थालेको छ । अहिले प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पद रिक्त छन् ।

र, अब हुने उपनिर्वाचनका लागि सबैभन्दा बढी चासोको विषय बनेको छ, कास्कीको क्षेत्र नम्बर दुई । कास्कीबाट निर्वाचित तत्कालीन सांसद् रबीन्द्र अधिकारीको ताप्लेजुङमा पाँच महिनाअघि हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त रहेको हो । 

अब त्यो निर्वाचन क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टीमा औपचारिक छलफल त सुरु भएको छैन तर स्थानीय स्तरमा तथा केन्द्रमा पनि नेताहरुले यस विषयमा चर्चा सुरु गरेका छन् । 

‘औपचारिक होइन, अनौपचारिक रुपमा तयारी सुरु त भएको छ,’ कास्कीकै एक नेकपा नेताले भने, ‘ठ्याक्कै पात्र को हुने भन्ने अहिलेसम्म तय भएको छैन तर अब विस्तारै नामहरु आउन थालेका छन् ।’  

उनले यसरी नाम आउने सन्दर्भमा एक नम्बरमा नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमको सम्भावना सबैभन्दा बलियो भएको पनि बताए । ‘यो औपचारिक कुरा त होइन,’ उनले भने, ‘तर, वामदेव कमरेडको नाममा माहोल विस्तारै बनाउन खोजिएको जस्तो लाग्छ ।’



कास्कीको नेकपा कमिटीका अधिकांश सदस्यहरु पनि उपनिर्वाचनमा त्यो स्थानबाट वामदेव गौतमलाई उम्मेदवार बनाउन लबिइङ गर्न थालेका छन् । ‘केही नेताहरुले वामदेव गौतमको नाम लिएर उहाँलाई यहाँबाट निर्वाचित गराउनु पर्छ भन्ने भन्न थालेका छन्,’ कास्कीको दुई नम्बर निर्वाचन क्षेत्रका अशोक पौडेलले भने, ‘अब गाइँगुइँ हल्ला चल्न थालेको छ । तर, यहाँ वामदेव गौतम उम्मेदवार भए भने नतिजा उनको पोल्टामा नपर्न सक्छ ।’

त्यसो त यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री समेत रहेका रबीन्द्र अधिकारीको निधनको केही दिनपछि गौतमले एक विज्ञप्ति जारी गर्दै आफू त्यहाँको उम्मेदवार हुन नचाहेको बताएका थिए । अधिकारीको निधनलगत्तै उनले त्यहाँको निर्वाचन क्षेत्रमा दाबी गरेको समाचारहरु बाहिर आएपछि उनले खण्डन गरेका थिए । त्यो खण्डनमा गौतमले सबैभन्दा पहिलो प्राथमिकतामा रबीन्द्र अधिकारीकै परिवारका सदस्य रहने पनि उक्त विज्ञप्तिमा उल्लेख गरेका थिए । 



पछिल्लो समय गौतमले आफू अनुकूल वातावरण बनाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिरहेका छन् । उनले यसबीचमा ओलीको पक्षमा आफ्ना अभिव्यक्ति दिँदै आएका छन् । सचिवालय बैठकमा पनि गौतमले ओलीलाई समर्थन गरेका थिए । 

यही कारणहरुले गर्दा पनि कास्की निर्वाचन क्षेत्रमा उनलाई उम्मेदवार बनाउने सम्भावना बढेको अर्का नेकपाका केन्द्रीय सदस्य तथा सांसद् बताउँछन् । ‘पछिल्लो समय गौतम कमरेडको चर्चा पनि चल्न थालेको छ,’ उनले भने, ‘पार्टी भित्रै नेताहरु पनि विस्तारै गौतमका लागि सहज वातावरण बनाउन प्रयास गर्न थालेको बुझिन्छ ।’

  • प्रकाशित मिति : साउन २२, २०७६ बुधबार २२:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया