बल प्रयोगबाट अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिस्टहरूलाई लोकतन्त्रकाे मार्गमा डोर्याउने प्रयत्न जारी छ : कांग्रेस

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकार र नेकपाविरुद्ध आक्राेश व्यक्त गरेकाे छ । ट्रेड युनियनसम्बन्धि विधेयक, गोंगबु बसपार्क, नेकपाको राजनीतिक दस्ताबेज र नेकपाको कार्यालय सरकारी जग्गामा रहेको विषयमा कांग्रेसले आपत्ति प्रकट गरेको हो । पत्रकार सम्मेलनमा बाेल्दै प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई हेर्ने सरकारको दृष्टिदोषमाथि पनि व्यंग्य गरेका छन् । 

प्रेस विज्ञप्तिकाे पूर्णपाठ

आदरणीय पत्रकार साथीहरु !

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

केन्द्रीय कार्यसमितिको जारी बैठकले पार्टीको घरेलु जिवनका सम्बन्धमा र राष्ट्रिय राजनीतिका ज्वलन्त मुद्दाबारे आवश्यक महत्वपूर्ण निर्णयहरु गर्न लाग्दैछ । यसबारे हामी यथा समयमा विवरण सार्वजनिक गर्ने नै छौँ । आजको पत्रकार सम्मेलन तत्कालका केही विषयवस्तु माथि केन्द्रित रहेको छ । 

१. ट्रेड यूनियन अधिकार सम्बन्धमा



संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामती सेवाको गठन, संचालन र संवादका सर्त’सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत छ ।

ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ, तर तिनलाई घुमाउरो ढंगले प्रतिबन्धित नै गर्ने नियतसंगत सम्झौता गर्न सकिन्नँ । नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था, जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा छ र रहनेछ । 



२. तथ्यको जगमा सत्यको खोजी गरी कारबाही गर्न माग

गोंगबु बसपार्कको प्रकरणप्रति हाम्रो ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो । अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ । जाइकासँगको सहमतिभन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनी जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वले आयोगलाई अनधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ । नेपाली कांग्रेस यससम्बन्धी तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ । 

३. कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिदोषबारे 

नेपाली कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरणबारे पार्टीको जारी बैठकबाट थप टिप्पणी आउने नै छ । अहिलेलाई केवल यति टिप्पणी त्यो दस्ताबेजमा कांग्रेसबारे इमानदार दृष्टि होइन, बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टिउपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु । 

नेपाली कांग्रेसले स्थापनाकाल देखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको छ । बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि यही मान्यता र मार्गमा प्रेरित गर्दै र डोर्याउने प्रयत्न गरी आएको छ । यो मान्यताले प्रतिस्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको छ । हामी विश्वस्त छौँ यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामथ्र्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुनेछ । 

४. नैतिकतालाई थप लज्जित नबनाइयोस्

सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत तुल्याएको छ । सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ । 

जय नेपाल !


    विश्वप्रकाश शर्मा
श्रावण २३, २०७६    प्रवक्ता

  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार १६:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया