राष्ट्र संघकाे रिपाेर्ट भन्छ– जलवायु परिवर्तनसँग लड्न साकाहारी बनौँ

जेनेभा– संयुक्त राष्ट्र संघले मासुजन्य खाद्यपदार्थको उपयोग घटाएर वनस्पतिजन्य खाद्यपदार्थमा फर्कन सके जलवायु परिवर्तनसँग लड्न सहयोग पुग्ने बताएको छ ।

‘जमिनको प्रयोग र जलवायु परिवर्तन’ सम्बन्धमा राष्ट्र संघले सार्वजनिक गरेको एक रिपोर्टमा पश्चिमा विश्वले गरेको मासु र दूधजन्य पदार्थको अत्यधिक प्रयोगले ग्लोबल वार्मिङ बढाइरहेको उल्लेख छ । रिपोर्टमार्फत विज्ञहरुले सबैलाई भेजिटेरियन (माछामासु नखाने) वा भेगन (अण्डा, दूध, महलगायत कुनै पनि प्राणीजन्य पदार्थ उपभोग नगर्ने) बन्न आग्रह गरेका छन् । 

रिपोर्टअनुसार, मासुको उपभोग घटाउँदा थोरै जमिनको उत्पादनले धेरैको पेट भर्न सकिन्छ । यसले विश्वभर ठूलो चुनौतीको रुपमा रहेको भोकमरीको समस्या समाधानमा त सहयोग गर्छ नै, ग्लोबल वार्मिङको दर घटाउन पनि यो सहयोगी हुने रिपोर्टले देखाएको छ । 

उचित र प्रभावकारी ढंगले जमिन प्रयोग गर्दा जमिनले धेरै कार्बन सोस्न सक्छ । ग्लोबल वार्मिङको प्रमुख कारण हामीले उत्सर्जन गर्ने कार्बन नै हो । जमिनले ज्यादा कार्बन सोसिदिए वायुमण्डलमा कार्बनको मात्रा घट्छ, र ग्लोबल वार्मिङ घटाउन सहयोग पुग्छ ।

यो रिपोर्ट संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी अन्तरदेशीय प्यानल आइपिसिसीका लागि १०७ जना वैज्ञानिकले तयार पारेका हुन् । हालै, स्विजरल्यान्डको जेनेभामा भएको बृहत् छलफलपछि यसलाई अन्तिम रुप दिइएको हो । 

यसअघिका विभिन्न अध्ययनले पनि मासुले दिने खाद्य–योगदानभन्दा त्यसको उत्पादनमा खपत हुने वनस्पतिजन्य खाद्यपदार्थको मात्रा निकै धेरै हुने भएकाले मासुको खपत कम गर्दा खाद्यसंकट समाधानमा सहयोग पुग्ने देखाएका थिए ।





  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार १८:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया