राजसंस्थालाई बोकेर हिँड्न पाउनु संवैधानिक अधिकार : कमल थापा

धुलिखेल– राप्रपाका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको दाबी गरेका छन् । राप्रपाको प्रशिक्षण विभागले गरेकाे प्रशिक्षण कार्यक्रमको काभ्रेमा उद्घाटन गर्दै अध्यक्ष थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताए ।

उनले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ति प्रकट गर्दै राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका हुन् । थापाले कांग्रेस र कम्युनिष्ट पटक–पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरेरै छाड्ने दाबी पनि गरे ।

अध्यक्ष थापाले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरिएको जानकारी गराए । 

उनले ७ सय ५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताए । राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको भन्दै थापाले संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाइएको दावी गरे । 

राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भए पनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिँड्न पाउने स्वतन्त्रता राप्रपाकै कारण भएको अध्यक्ष थापाको दावी छ ।  कार्यक्रममा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठकलगायतले एजेन्डा सही भए पनि कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्तबारे बुझाउन प्रशिक्षण कार्यक्रम फलदायी हुने बताए ।

दुईदिने कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भुवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाललगायतले प्रशिक्षण दिने सहायक प्रवक्ता तथा प्रशिक्षण विभागका सदस्य सचिव रामानन्द न्यौपानेले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार १६:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया