म्हैपी मन्दिर क्षेत्रमा ३३ वटा सिसी क्यामरा जडान

काठमाडौं– काठमाडौं महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ । प्रदेश–३ सरकारको ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो ।

सिसी क्यामरा तथा नवनिर्मित शौचालयको शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित महानगर निर्माणका लागि सिसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

‘सुरक्षित महानगरपालिका बनाउन काठमाडौं महानगरपालिकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई पाँच करोड ८१ लाख आर्थिक सहयोग गरेको छ,’ उनले भने । प्रमुख शाक्यले महानगरको सबैभन्दा ठूलो १६ नम्बर वडा भएकाले बजेट विनियोजनमा विशेष प्राथमिकता दिएको उल्लेख गरे । म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले यसभन्दा पहिला पनि एक करोड आर्थिक सहयोग गरेको उनको भनाइ थियो । 

प्रदेशसभा सदस्य वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढदै गएकाले प्रदेशसरकारले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । ‘प्रदेश सरकारले मूर्त सम्पदाको साथसाथै अमूर्त संस्कृतिको जर्गेनाको लागि पनि विशेष प्राथमिकता दिएर काम गरिरहेको छ’, उनले भने । म्हैपी, नयाँबजार, विष्णुमति पुल, मनाङ गेटलगायतको क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उनको भनाइ थियो । 

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले उपत्यकामा बढ्दै गएको अपराध नियन्त्रणका लागि सिसीटिभी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘अपराध पत्ता लगाउन सिसीटिभी भरपर्दो माध्याम बन्दै गएको छ, सिसीटिभी क्यामरा जडानसँगै अपराधमा कमी आउनेछ’, उनले भने । सिसीटिभी क्यामराको निरीक्षण भने महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ । 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १५:५७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया