बढिरहेछ सुनको मूल्य, किन्दा ठिक कि भएको पनि बेच्ने ?

काठमाडौं– अन्तर्राष्ट्रि बजारमा अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ । यसले गर्दा नेपालमा मात्र होइन, विश्व बजारमा पनि सुनको मूल्य विस्तारै बढिरहेको छ । 

यसपटक सुनको मूल्य जुन रफ्तारमा बढेको छ, यसअघि यति ठूलो मात्रामा सुनको मूल्य बढेको थिएन । केही दिन यता छापावाला सुनको मूल्य नेपालमा ७० हजार प्रति तोलामा कारोबार भइहेको छ ।

केही सातायता बढिरहेको सुनको मूल्य अब थप बढ्ला वा यो विस्तारै घट्दै जाला भन्ने अनुमान गरिएका छन् । तर, यो क्षेत्रका विशेषज्ञहरुका अनुसार यो कुरा जारी रहेमा मंसिरसम्ममा सुनको मूल्य थप बढ्ने देखिन्छ । 

 

आखिर किन बढिरहेको छ सुनको मूल्य ?

पहिलो कुरा त अब विस्तारै सुनको मूल्य बढ्दै जान्छ किनकि यसको माग पनि बढ्दै जाने देखिन्छ । नेपालमा जब चाडवाड सुरु हुन्छन्, तब मानिसहरु सुन किन्न अग्रसर हुन्छन् । फेरि विवाहको मौसम सुरु हुँदा यसको माग बढ्नुलाई स्वभाविक मान्न सकिन्छ ।



अर्कोतिर नेपाल सरकारले यो आर्थिक वर्षका लागि ल्याएको बजेटमा पनि सुनलाई बैंकमा निक्षेपका रुपमा राख्न मिल्ने प्रावधान ल्याएको छ । यसबारे अहिलेसम्म बैंकहरुले खासै केही भनेका त छैनन् तर यसले पनि नेपाली बजारमा सुनको मूल्य थोरै मात्रामा भए पनि बढाउने निश्चित छ ।

नेपालमा मात्र होइन, छिमेकी देश भारतमा पनि पछिल्लो समय सुनको मूल्य बढ्दै गएको छ । जसरी अमेरिकी डलर बलियो हुँदै गएको छ, सुनको आयातका लागि खर्च हुने पैसा पनि बढी हुँदै गएकाले नेपालमा मात्र होइन, भारतमा पनि सुनको मूल्य बढ्दै गएको हो । 



यतिमात्र होइन, अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धका कारण पनि विश्वभरको सेयर बजारमा प्रभाव देखिएको छ । यही कारण विश्वका विभिन्न देशका केन्द्रीय बैंकहरुले संचयनका लागि सुन किन्न थालेका छन् । यसले गर्दा पनि सुनको माग बढिरहेको छ र विश्वमा नै सुनको भाउ बढिरहेको छ ।


किन्ने कि बेच्ने त ? 

अहिले सुनको मूल्य अचानक बढिरहँदा केहीलाई लागेको हुनसक्छ, थप सुन किन्ने वा आफूसँग भएको पनि बेच्ने ? 

सुन बजारबारे विशेष ध्यान दिनेहरु भन्छन्– सुनको मूल्य बढिरहँदा अत्यन्त आवश्यक हुनेहरुले तत्काल किनिहाल्नु राम्रो सावित हुनसक्छ । यस्तो किन भने सुनको मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ ।

तर, सुन खरिद गरेर त्यसमा नै लगानी गर्न चाहनेहरुले चाहिँ पहिले अन्तर्राष्ट्रिय बजारको अध्ययन राम्रोसँग गर्नु पर्ने हुन्छ । जसलाई किन्नै पर्ने भएको छ, उनीहरुले चाहिँ आफूलाई आवश्यक मात्राको मात्र सुन किन्दा फलदायी हुनसक्छ । 

तर, अहिले नै सुन बेच्ने निर्णय गर्नु चाहिँ सही नठहरिन सक्ने विश्लेषकहरुको सुझाव छ ।
 

  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १५:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया